ठेगाना नमिल्दा संक्रमित पहिल्याउनै हैरानी

जेष्ठ ६, २०७७

रमेशकुमार पौडेल

चितवन — गत शनिबार बिहान १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६ जना कोरोना संक्रमित फेला परेको जानकारी गराउँदै प्रेस विज्ञप्ति जारी गर्‍यो । जसमा चितवनका एकजना २५ वर्षीया महिला पनि रहेको उल्लेख थियो । भरतपुरमा रहेको कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएका सबै ७२ वटा नमुनाको नतिजा आइसकेको थियो । जसमा कोही संक्रमित थिएनन् । शनिबारको नमुना प्रयोगशाला नै गएको थिएन ।

मन्त्रालयको विज्ञप्तिमा नै काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण भनिएका कारण ती महिलाको नमुना चितवनमा संकलन नभएको प्रस्ट भयो । तर विज्ञप्तिमा उल्लिखित ती महिलाकाे ठाेगानाले अन्याेल सिर्जना गरेकाे छ । मन्त्रालयले उनकाे ठेगाना चितवन, गढौली–१  उल्लेख गरेकाे छ । तर सात स्थानीय तह रहेको चितवनमा गढौली नामको कुनै स्थानीय तह छैन ।

तर चितवनमा गडौली नाम गरेको परिचित गाउँ भने छ । जिल्लाको पूर्वी भेग महेन्द्रराजमार्गको आडमा पर्ने यो गाउँ हाल राप्ती नगरपालिका–२ मा पर्दछ । ‘हामीले दुई नम्बर वडाभरि ती महिलाका विषयमा खोज्यौं । तर उनको नाम थर र उमेरसँग मिल्दो महिला वा आफन्त गाउँभरि नै कोही भेटिएनन् ।,’ राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले भनिन् । नगरपालिकाले गड्यौली आडका अन्य गाउँमा पनि ती महिलाको बारेमा खोज्यो ।

‘हामीले दुईमा मात्रै नभएर अन्य वडामा पनि खोज्यौं । वडा नम्बर १, २, ३, ४, ५ मा पनि संक्रमितको विवरण भिडाएर हेर्‍यौं । तर उनको विवरणसँग मिल्ने मान्छे यहाँ बस्ने गरेको भन्ने जानकारी फेला परेन,’ मेयर बरालले भनिन् । राप्तीमा मात्रै नभएर कालिका नगरपालिकामा पनि गड्यौली गाउँ भएको पत्ता लाग्यो । त्यसपछि खोजखबर त्यता पनि सुरु भयो । कालिका नगरपालिका–४ को पदमपुर क्षेत्रमा पर्ने रहेछ सो गाउँ ।

‘मैले वडाध्यक्षसहित सबैलाई लगाएर वडाभरि बुझ्न लगाए । सबै ठाउँ खोजीसक्दा पनि संक्रमित महिलासँग मिल्दो नाम थर भएको कोही यहाँ बस्ने गरेको भेटिएन,’ कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले भने । संक्रमितको ठेगाना उल्लेख भएको ठाउँमा सो व्यक्ति बसेको वा आएको भए अन्यसँग सम्पर्क भए नभएको हो भन्ने विवरण (कन्ट्याक्ट ट्रेसिङ) संकलन गर्नु पर्दछ । 

चितवन स्वास्थ्य कार्यालय यो काममा अग्रसर भएको छ । ‘हाल ती महिला यहाँ नभएर काठमाडौं नै बस्ने हुन् भन्नेमा शंका रहेन । उनको परीक्षण पनि उतै भएको हो ।  तर उनले चितवन भनेर टिपाएको ठेगानामा न उनका कोही आफन्त भेटिए । न उनलाई चिन्ने जान्ने कोही भेटिए,’ चितवन स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने । महिलाले विवरण नै सही नटिपाएको पो हो कि भन्ने आशंका बढेर गएको छ ।

नमुना परीक्षण काठमाडौंमा भए पनि उनको उपचार हाल कहाँ भइरहेको छ भन्ने विवरण संकलन गर्न समेत चितवनका अधिकारीहरुले सकेका छैनन् । ‘टेलिफोन सम्पर्क गरेर विवरण लिने प्रयाससमेत सफल हुन सकिरहेको छैन । हामीहरु कोसिस भने गर्दैछौं,’ स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully