३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम, सुधार नगरे सधैँका लागि सहयोग रोक्‍ने चेतावनी

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई  ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् । 

डब्लूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम, सुधार नगरे सधैँका लागि सहयोग रोक्‍ने चेतावनी

सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई संगठनको सुधारका लागि ३० दिनको समयसीमा तोकेका हुन् । यदि तीस दिनभित्र संगठनको कार्यशैलीमा बदलाव नल्याए स्थायी रुपमा सहयोग रोक्ने चेतावनी उनले दिएका छन् । ट्रम्पले महानिर्देशक ट्रेडोसलाई लेखेको पत्र ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

चीनको प्रशंसा गरेकोप्रति डब्लूएचको आलोचना गरेको भन्दै ट्रम्पले लेखेका छन्, ‘यो स्पष्ट छ कि तपाईँ र तपाईँको संगठनले बारम्बार चालेका कदमको मूल्य विश्वले चुकाउनु परेको छ । विश्व स्वास्थ्य संगठनका लागि उटा मात्र बाटो भनेको वास्तवमै चीनको दबाबमा नआई काम गर्नुु हो ।’

ट्रम्पले भनेका छन्, ‘मेरो सरकारले संगठनको सुधार गर्ने भन्नेबारेमा तपाईंसँग छलफल सुरु गरिसकेको छ तर छिटोभन्दा छिटो कदम चाल्नुपर्ने आवश्यकता छ । हामीले समय खेर फाल्नु हुँदैन ।’ अमेरिकाले डब्लूएचओलाई वार्षिक रुपमा ४ सय देखि ५ सय मिलियन अमेरिकी डलरसम्म सहयोग गर्दै आएको उल्लेख गर्दै ट्रम्पले चीनले ‘मात्रै ४० मिलियन’ सहयोग गर्ने गरेको बताए ।

यसैबीच चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । उक्त रकम दुई वर्षभित्र प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकायलाई चीनले उक्त रकम सहयोग गरेको सीको भनाइ छ । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सीले कोरोना भाइरससम्बन्धी सम्पूर्ण विवरण चीनले डब्लूएचओ र अन्य देशहरूलाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।

‘हामी कोरोना भाइरस नियन्त्रण र उपचारसम्बन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हामीले हाम्रो स्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं, सीले भने । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेका बेला चीनले भने सहयोगको हात फैलाएको हो ।

अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गरेपछि विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।

आगामी दिनमा डब्लूएचओ चीन र अमेरिकाको विवादको चेपुवामा पर्ने देखिएको छ । विश्लेषकहरुले स्वास्थ्य क्षेत्रको वैश्विक संगठनलाई कसैले पनि हस्तक्षेप नगरी स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?