कोरोना प्रभाव : ओस्कर, कान्सलगायत ठूला फिल्म फेस्टिभल पछाडि धकेलिने- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रभाव : ओस्कर, कान्सलगायत ठूला फिल्म फेस्टिभल पछाडि धकेलिने

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभलको मिति अनिश्चितकालका लागि पछाडि धकेलिएको छ । कान्स मात्रै होइन, कोभिड–१९ को महामारीले विश्वभरका फिल्म फेस्टिभललाई असर पर्ने भएको छ ।

फिल्मकर्मीबीच प्रख्यात एकेडेमी अवार्ड (ओस्कार २०२१)को मिति पनि पछाडि धकेलिने चर्चा चल्न थालेको छ । हुन त एकेडेमीको ९३ औं संस्करण आगामी फेब्रुुअरी २८ मा तय भएको छ । कोरोना महामारीले गर्दा २०२० मा फिल्मको रिलिज ठप्प भएसँगै एकेडेमीको मिति निर्धारित समयभन्दा चार महिना पछाडि धकेलिने चर्चा चुुलिएको हो ।

हालै एकेडेमीले अनलाइन स्ट्रिमिङ भएको फिल्मले पनि ओस्कारमा भाग लिन पाउने नियम बनाएको छ । फिल्म अवार्डहरुको हालत पनि उस्तै छ । फिल्म फेस्टिभलको हकमा भने कतिले फेस्टिभलको मिति पछाडि सारेका छन् त कतिले अनलाइन माध्यमबाट फेस्टिभल आयोजना गरेका छन् ।

भारतमा ह्याबिट्याट इन्टरनेसल फिल्म फेस्टिभल (हिफ) मार्च २१ मा गर्ने तय भएको थियो । तर यो फेस्टिभललाई मे २१ तारिखमा सारिएको छ ।

‘म यो वर्ष पनि हिफमा सहभागी हुने योजनामा थिएँ । तर लकडाउनले मेरो यो योजना पूरा हुन दिएन । यसले फिल्म फेस्टिभलहरुला अनलाइन स्क्रिनिङको मौका दिएको छ जस्तो मलाई लाग्छ,’ थियटर कलाकार मलयजले द हिन्दुस्तानलाई भनेका छन् ।

इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल आम्स्टर्डम, इन्टनेस्नल फिल्म फेस्टिभल रोटर्डम र भारतको धर्मशाला फिल्म फेस्टभिल (डिफ)का आयोजकहरुले अनलाइनमै फेस्टिभल गर्ने अभ्यास गरेका छन् । अनलाइनमार्फत फेस्टिभलका फिल्महरु उनीहरुले दर्शकलाई देखाएका छन् ।

डिफले त फिल्म हेर्ने ‘भिविङ रुम’ नै लन्च गरेर उक्त वेबसाइटमार्फत आफ्ना विद्यार्थीहरुले बनाएको फिल्म देखाइरहेको छ । ‘लकडाउनले गर्दा धेरै फिल्मको प्रदर्शनमा असर पुग्यो । हामीले दर्शकलाई अनलाइन कन्टेन्टको आवश्यकता महसुस गरेर भिविङ रुम सुरु गरेका हौं । डिफमा भाग लिएका फिल्महरु पनि हामी देखाइरहेका छौं,’ फेस्टिभलको निर्देशक ऋतु सरिनले बताइन् ।

दिल्लीको कृति फिल्म क्लबमा हरेक महिना एउटा डकुमेन्ट्री फिल्म देखाइन्थ्यो । यसले पनि लकडाउनलाई मध्यनजर गरेर युट्युबमै फिल्म प्रदर्शन सुरु गरेको छ । अहिले फिल्म क्लब र फेस्टिभललाई ओटीटी (ओभर दि टप)सँग प्रतिस्पर्धा गर्न गाह्रो भएको क्लबकी संस्थापक आँचल कपुर बताउँछिन् ।

त्यस्तै, दिल्लीकै क्यारट फिल्मसले अनलाइन सर्ट फिल्म कन्टेस्ट, लकडाउन फेस्टिभलसमेत आयोजना गरेको छ । फेस्टिभलमा धेरैले सहभागिता जनाएका छन् । फेस्टिभलले नयाँ फिल्ममेकरलाई पनि सहभागी हुने अवसर दियो । फिल्ममेकरहरुले घरमै बनाएका सिर्जनाले फेस्टिभलमा प्रस्तुत गर्न पाए ।

अहिलेको अवस्थामा अनलाइन स्क्रिनिङ उपयुक्त देख्छन्, फिल्मकर्मीहरु । अनलाइनमार्फत पनि फिल्म फेस्टिभल गर्न सकिने क्यारट फिल्म फेस्टिभलकी विद्याले भनिन् ‘यो माध्यम सुलभ र पहुँचमा छ ।’

प्रकाशित : जेष्ठ ६, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

मृत (?) भाषालाई श्रद्धाञ्‍जली

आहुतिले लेखमा प्रयोग गरेको आहुति, राजनीति, पञ्चायती, बलात्, भाषा जस्ता शब्द संस्कृत होइनन् ? यदि हुन् भने ती शब्दको अर्थ, बनौट प्रक्रिया र त्यसबाट बन्न सक्ने अरू शब्दबारे के आजको नेपाली समाजलाई आवश्यक ज्ञान दिनु वा हुनु जरूरी छैन ?
अनाम आचार्य

आहुतिको ‘संस्कृत भाषाको राजनीति’ लेखले संस्कृत वाङ्मयमा आस्था राख्ने समुदायमा तंरग उत्पन्न गर्‍यो । त्यसैको प्रतिक्रियास्वरुप यो स्पष्टीकरण लेखियो ।

संस्कृतलाई विद्यालय तहदेखि लागू गर्नु अनौचित्यपूर्ण छ ?

नेपालको प्राचीन इतिहास, धर्म–संस्कृति, दर्शन र साहित्य मात्र होइन ज्यौतिष, आयुर्वेद, स्थापत्य कला, अन्तरिक्ष विज्ञान, गणित, वेद–वेदाङ्ग, पुराण, तर्कशास्त्र जस्ता पूर्वीय वाङमयको ज्ञानका लागि संस्कृतको अध्ययन अनिवार्य छ । संस्कृत केबल भाषा होइन यो त जीवनोपयोगी, व्यवहारोपयोगी अनन्त ज्ञान र शिक्षा समेटिएको विशाल समुन्द्र हो । अत: यो समुन्द्रमा राम्री पौडिन र तैरिन जोकोहीलाई आधारभूत तहको संस्कृतको ज्ञान हुनु अपरिहार्य छ । हाम्रा पितापुर्खाले हजारौँ वर्ष पहिले राखिदिएको अनेकौं ताम्रपत्र, भोजपत्रको अध्ययन गरी इतिहासलाई सही रूपमा बुझ्न र केलाउन संस्कृत अनिवार्य छ । जस्तो लिच्छवी राजा मानदेवले चाँगुनारायण मन्दिरमा स्थापना गरेको नेपालमा हालसम्म पाइएको सबैभन्दा पुरानो प्रामाणिक शिलालेख होस् वा परवर्ती कालमा मल्ल वा शाहवंशी राजाहरूले विभिन्न कालखण्डमा स्थापना गरेका ऐतिहासिक अभिलेखहरू हुन्, तिनको सम्यक ज्ञानको लागि संस्कृतको अध्ययन अपरिहार्य छ ।

आहुतिको लेख पढ्नुहोस् : संस्कृत भाषाको राजनीति

आज संस्कृतमा विभिन्न लिपिमा लेखिएका हाम्रा शयौं ऐतिहासिक अभिलेख राम्ररी पढ्न र उधिन्न नसक्दा हाम्रै इतिहास बुझ्न पनि विदेशी लेखकहरू जस्तै डेनियल राइट, कर्कपेट्रिक, भगवानलाल इन्द्रजी आदिले अंग्रेजी, फ्रेन्च र हिन्दीमा लेखिदिएका पुस्तकहरूको अध्ययन गरी विदेशीले जे भने त्यही पत्याउनुपर्ने स्थिति छ । यस्तोमा संस्कृतको आधारभूत तहदेखिकै अध्ययनले हाम्रो इतिहासलाई हाम्रै आँखा र बुद्धिले वस्तुनिष्ठ तवरले हेर्न, विश्लेषण गर्न ठोस सहयोग पुग्छ ।

के संस्कृत मृत भाषा हो ?

आहुतिले संस्कृतलाई कुनै बेलाका प्रभावशाली र हाल लुप्त प्राय: रहेका ल्याटिन र ग्रीक भाषासँग तुलना गरे । यहाँनिर बुझ्नु पर्ने कुरा के छ भने संस्कृत भाषा मात्र नभएर विशाल ज्ञानराशि हो । त्यहाँ कामशास्त्रदेखि तर्कशास्त्र र आयुर्वेददेखि अन्तरिक्ष विज्ञानसम्मका विशाल कुरा छन् । अर्को कुरा संस्कृतको पाणिनीय व्याकरण यति बलियो र वैज्ञानिक छ कि यसको तुलना संसारका अरू कुनै भाषासँग हुनै सक्दैन । उदाहरणका रूपमा आजभन्दा पाँच हजार वर्षअघि रचना गरिएको महाभारत र त्यो भन्दा पनि अघि रचना भएको वाल्मिकी रामायणमा प्रयुक्त व्याकरण र अहिले प्रचनलमा रहेको संस्कृत व्याकरण समान व्याकरणमा आधारित छन् ।

त्यसै भएर आज संस्कृत पढ्नेहरूले पनि हजारौँ वर्ष पहिले रचना गरिएका महाभारत, रामायण, इतिहासपुराण, दर्शन, आयुर्वेद, ज्योतिषलगायत संस्कृत भाषामा निबद्ध ग्रन्थ र शास्त्रहरू तथा संस्कृतमा लेखिएका शिलालेखहरूको अध्ययन सहज रूपमा गर्न सकी त्यसबाट लाभ लिन सक्छन् । संस्कृत बाहेक संसारको अरू कुन भाषामा यस्तो तागत छ ? अरूमा ‘बुढा मरे भाषा सरे’ भन्छन् तर संस्कृतमा भाषिक विचलन छैन । यसरी जुन भाषा हजारौँ वर्ष पहिलेदेखि समान व्याकरण र समान भाषाशैलीबाट निर्दिष्ट र प्रयुक्त हुँदै आएको छ, जसले आज पनि हाम्रो समाज, संस्कृति, दर्शन र चिन्तन धारालाई समान रूपमा प्रभावित गरेको छ त्यो मृत मानिन्छ भने सजीव के त ?

संस्कृत विगतमा समृद्ध तर अहिले गरिब भाषा हो ?

संस्कृत हिजो जस्तै आज पनि सबल र समृद्ध छ । हिजो जस्तै आज पनि व्यवहारमा दिनहूँ प्रयोगमा आइरहेको छ । आहुतिले लेखमा प्रयोग गरेको आहुति, राजनीति, पञ्चायती, बलात्, भाषा जस्ता शब्द संस्कृत होइनन् ? यदि हुन् भने ती शब्दको अर्थ, बनौट प्रक्रिया र त्यसबाट बन्न सक्ने अरू शब्दबारे के आजको नेपाली समाजलाई आवश्यक ज्ञान दिनु वा हुनु जरूरी छैन । संस्कृतको अध्ययनले नेपाली र नेपालमा बोलिने अन्य भाषाको शब्दभण्डारलाई मात्र बलियो बनाउँदैन अपितु त्यसमा मिठास भर्न र तिनमा साहित्यिक जीवन दिन समेत योगदान गर्छन् । जहाँसम्म अमरकोषमा पछि कुनै संस्कृत शब्द थपिएको छैन भन्ने कुरा छ श्रीकोष जस्ता थुप्रै कोषहरूबाट तत्कालीन अवस्थामा संस्कृतमा नरहेका शब्दहरूलाई समेट्ने प्रयास भएको छ ।

विशाल संस्कृत वाङ्मयमा रहेका लाखौं शब्द करिब तीन हजार श्लोक संख्याको अमरकोषमा नअटाएको र अटाउन नसक्ने कुरा बुझ्न जरूरी छ । पाणिनीय व्याकरणले देशकालअनुसार व्यवहारमा प्रयोगमा आउने नयाँनयाँ शब्दलाई समेत समेट्न सक्ने गरी आवश्यक सूत्रहरूको व्यवस्था गरिदिएको यहाँ स्मरणीय छ । अत: संस्कृत जड या मृत होइन सजीव भाषा हो ।

संस्कृत पढ्नु बोझ हो ?

आहुतिले आफ्नो लेखमा आफ्नै मातृभाषामा पनि पूरा बोली नफुटेका कक्षा एकका शिशुहरूको दैनन्दिन जीवनसँग सम्बन्धै नभएको संस्कृतको पढाइ बलात् बोझयुक्त अत्याचारबाहेक केही हुन सक्दैन भनेका छन् । आज नेपाली लगायत नेपालमा प्रचलित मैथिली, भोजपुरी, अवधि, नेवारी लगायत अधिकांश भाषा संस्कृतकै जगमा उभिएका हुन् । यी भाषामा प्रयोग हुने अधिकांश शब्द पनि या त संस्कृतकै तत्सम शब्द छन् त्यो नभए संस्कृतकै तद्भवरूपहरू जस्तै वृद्धबाट बुढो, कर्णबाट कान, हस्तबाट हात छन् । आज नेपालमा सबैभन्दा बढी बोलिने, सम्पर्क र सरकारी कामकाजको भाषाको रूपमा रहेको नेपाली भाषाको वर्णमाला हुबहु संस्कृत भाषाबाटै आएको हो । संस्कृतले जन्माएका क, ख, ग, घ जस्ता छत्तीस व्यञ्जन र अ, आ, इ, ई जस्ता बाह्र स्वरवर्ण संस्कृतकै हुन् । यिनै व्यञ्जन र स्वर वर्णमा आधारित भएर हाम्रा दैनन्दिन बोलीचालीका शब्द नि:सृत हुन्छन्, तिनै वर्णमा टेकिएर साहित्य सिर्जना हुन्छन् र तिनमै आधारित भएर विचार विमर्श हुन्छन्, हाम्रा भावना र चाहना अभिव्यञ्जित हुन्छन् भने संस्कृतको अध्ययन प्राथमिक तहबाट हुनु बोझ हो ?

संस्कृतको अध्ययनले हाम्रो भाषिक उच्चारण शुद्ध हुन्छ, लेखाइ परिष्कृत हुन्छ, बोलाइ परिमार्जित हुन्छ । संस्कृतको अध्ययनले पूर्वीय वाङ्मयमा रहेका संस्कृत भाषामा निबद्ध विशाल ज्ञानभण्डारमा प्रवेश र पहुँच पाउन सहज हुन्छ । आज पनि नेपालीमा कुनै शब्दको खाँचो पर्‍यो भने सबैभन्दा पहिले हामी संस्कृत भाषाबाटै त्यो शब्द सापटी लिएर काम चलाउँछौ । संस्कृतको विशाल शब्द भण्डारले केवल नेपाली भाषा साहित्यलाई मात्र समृद्ध बनाउने काम गरेको छैन यसले दक्षिण एसियाका अन्य ठूला भाषा समूह जस्तै हिन्दी, बंगाली, तेल्गु, तमिल आदि समेतलाई बलियो आधार प्रदान गरेको छ । यसरी संस्कृतको संरक्षण, संवद्र्धन गर्नु भनेको प्रकारान्तरले नेपाली र नेपालमा प्रयोगमा रहेका अन्य भाषा भाषिकालाई समेत संरक्षण गर्नु हो । संस्कृतलाई उपेक्षा गरेर अघि बढ्नु भनेको जरामा पानी नहालीकन पातमा पानी हालेर बिरुवा हुर्काउनुजस्तै हो । संस्कृतविना ज्ञान–विज्ञानको क्षेत्रमा अघि बढ्न सकिन्छ भन्न मिल्दैन । संस्कृतको ज्ञानले श्राद्ध र सत्यनारायणको पूजा शुद्धसँग लगाउन सक्ने जनशक्ति मात्र होइन चाणक्य र विदुर जस्ता नीतिज्ञ, जनक र बुद्धजस्ता चिन्तकदेखि भाष्कराचार्य र आर्यभट जस्ता गणितज्ञदेखि चरक र सुश्रूतजस्ता आयुर्वेदका मूर्धन्य विद्वान्सम्म तयार हुनसक्छन् भन्ने हेक्का राख्न जरुरी छ ।

समकालिक नेपालमै हेर्ने हो भने पनि कूटनीतिक क्षेत्रमा अब्बल मानिएका सरदार यदुनाथ खनालदेखि इतिहास शिरोमणि बाबुराम आचार्यसम्म र संस्कृतिविद् जगमान गुरुङदेखि स्वामी प्रपन्नाचार्यसम्म संस्कृतकै पृष्ठभूमिमा हुर्के बढेका व्यक्तित्व हुन् । कविशिरोमणि लेखनाथ पौड्यालदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्म, नाट्यसम्राट बालकृष्ण समदेखि राष्ट्रकवि माधव घिमिरेसम्मका कृतिहरू नेपाली समाजमा सर्वाधिक रुचाइनुका पछाडि तिनले संस्कृत साहित्यकै पदचाप पछ्यकाले हो । संस्कृतबाट असंपृक्त भई आज हाम्रा कुनै शब्द र वाणी निस्कादैनन् । स्वयं आहुति महोदयको नामको सही अर्थ बुझ्न र उनले लेखेको लेख राम्ररी पढ्न समेत सामान्य संस्कृतको आवश्यकता पर्छ ।

के संस्कृत हिन्दू उच्च जातिको मात्र हो ?

संस्कृत सबैको हो । जुनभाषामा ‘वसुधैव कुटुम्बकम्’, ‘मित्रस्य चक्षुषा समीक्षामहे’ जस्ता दिव्यवाणी छन् त्यो कुनै अमुक जाति वा वर्गको हुन्छ । यो त जसले पढ्यो त्यसकै हुन्छ । विदेशमा म्याक्समूलरदेखि गेटेसम्म स्वदेशमा प्रपन्नाचार्य (काले राई) देखि धनवज्र बज्राचार्य र जगमान गुरुङसम्मले संस्कृत पढी त्यसको अगाध ज्ञानसिन्धुमा जीवनलाई आलोकित बनाए, बनाउँदैछन् । यसर्थ अमुक जातिको भाषा, संस्कृतिको पक्ष पोषणका लागि संस्कृतलाई विद्यालयमा लाद्न लागियो भन्नु खेदजनक छ ।

छुट्टै संस्कृत विश्वविद्यालयको आवश्यकता

जहाँसम्म संस्कृत र बौद्ध दर्शन पढाउनका लागि छुट्टै विश्वविद्यालयको आवश्यकता छैन यसलाई कुनै विश्वविद्यालयको कुनै विभागबाट अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने तर्क छ, यस विषयमा विगतका नालन्दा र तक्षशीला विश्वविद्यालय र वर्तमानमा भारत लगायतका देशमा संस्कृत वाङ्मयको विशिष्टीकृत अध्ययनकै लागि खुलेका सम्पूर्णानन्द विश्वविद्यालय लगायतको औचित्य खोज्नुपर्ने हुन्छ । विभाग वा विश्वविद्यालय कुन स्तरबाट अध्ययन अध्यापन गराउने भन्ने कुरा त्यसले समेट्ने विषयवस्तुले निर्धारण हुन्छ । नेपालको संस्कृत विश्वविद्यालयमा पढाइ हुने विषय– चारवटै वेद, व्याकरण, षट् दर्शन (वैशेषिक, न्याय, सांख्य, पूर्व मीमांसा, उत्तर मीमांसा, योग) इतिहास–पुराण, साहित्य, धर्मशास्त्र, सिद्धान्त तथा फलित ज्यौतिष, राजनीति शास्त्र, अर्थशास्त्र, गणितशास्त्र आदि हुन् । के यी सबै विषय कुनै यौटा विभागबाट सञ्चालन गर्न सकिन्छ ?

अत: संस्कृत विश्वविद्यालयलाई संस्कृत भाषा मात्र पढाइने ल्याङ्वेज इन्स्टिच्युटको रूपमा बुझ्न भएन । त्यहाँ त संस्कृत भाषामा लेखिएका विभिन्न चतुर्दश विद्याको सांगोपांगो अध्ययन–अध्यापन गराइन्छ । तीमध्ये कतिपय विषय जस्तै व्याकरण, ज्यौतिष, तर्कशास्त्रको पढाइ त आठ कक्षाबाट सुरु गरेर आचार्य तहसम्म हुन्छ । संस्कृत भाषामात्र पढाउन त विश्व भाषा क्याम्पस नै छँदैछ । के त्यहाँको १–२ घण्टे पढाइले विशाल संस्कृत वाङ्मयभित्रको सबै पक्षलाई समेट्छ ? समेट्दैन । अत: संस्कृत वाङ्मयभित्रका विशाल ज्ञानराशिलाई उधिन्न, यस विषयमा शोध अनुसन्धान गरी आमस्तरमा ज्ञान प्रवाह गर्न छुट्टै विशिष्टीकृत विश्वविद्यालयको खाँचो छ ।

विगतमा खासगरी भाषा पाठशालामा र २०२८ सालमा नयाँ शिक्षा पद्धति लागू हुनुपूर्व नेपालमा विद्यालयहरूमा कुनै न कुनै रूपमा संस्कृतको अध्ययन–अध्यापन हुन्थ्यो । त्यसले विद्यार्थीहरूलाई कुनै न कुनै रूपमा संस्कृतको आधारभूत ज्ञान भई तदनुरूप दैनिक व्यवहारमा समेत संस्कृत वाङ्मयभित्रका व्यवहारोपयोगी थुप्रै विषयहरूलाई प्रयोगमा ल्याउन सहज हुन्थ्यो । आजको विद्यालयतहबाट संस्कृतको उच्छेद हुँदा संस्कृत वाङ्मयभित्रका धर्म, दर्शन, नीति, सदाचार, परोपकारितादेखि ज्ञान–विज्ञानसम्मका कुरा बुझ्न नयाँ पिँढीका मानिसलाई या त हिन्दी या अंग्रेजी भाषामा निर्भर रहनुपरेको छ । नेपाली समुदायलाई संस्कृतको प्रत्यक्षज्ञानबाट वञ्चित गराएर अरूभाषा मार्फत संस्कृतभित्रको ज्ञानराशिमा पहुँच दिलाउनु राष्ट्रवादी सोचको हिसाबले पनि किमार्थ स्वीकार्य हुन सक्दैन ।

ढिलै भए पनि सरकारले संस्कृतको महत्त्व र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुमुखी उपादेयता बुझेर विद्यालय तहमा ऐच्छिक तवरमा संस्कृत पढाउने व्यवस्था मिलाउन लागेको छ । जो पढ्न चाहन्छन् तिनलाई पढ्ने अवसर प्रदान गरौँ जो चाहँदैनन् तिनलाई आफूलाई उपयुक्त लागेको विषय पढ्ने छुट छँदैछ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×