कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

४८ घण्टामा बल्ल नतिजा, १४ दिन क्वारेन्टाइनमा राखिने 
नगेन्द्र अधिकारी

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । 

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।

नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रबिसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजिटिभ आएको थियो । त्यसपछि बिहीबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्यलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजूले शिशुसहित परिवारका सदस्यको रिपोर्ट आउन केही ढिलाइ भएको स्विकारे । ‘टेकुबाट ५ सयभन्दा बढी नमुना आएको थियो, ल्याबका साथीहरुले पहिला त्यसलाई प्रोसेस गर्नुभएछ, दोस्रो लटमा परेका कारण केही ढिलाइ भएको हो,’ गल्ती भएको स्विकार्दै उनले भने, ‘बच्चाको केसलाई प्राथमिकता दिनुपर्ने हो, दोस्रो लटमा हालेका कारण केही ढिलाई पक्कै भयो ।’ एक पटकमा ९० नमुना परीक्षण गर्न सक्ने मेसिनले ४ घण्टामा नतिजा दिन सक्छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?