विद्युत् नियमित नहुँदा हेटौंडामा कोरोना परीक्षण प्रभावित

जेष्ठ ५, २०७७

सुवास विडारी

हेटौंडा — नियमित विद्युत्को उपलब्धता नहुँदा हेटौंडामा कोरोना परीक्षण प्रभावित भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा नियमित विद्युत् उपलब्ध नहुँदा आइतबार कोरोना परीक्षण नै हुन सकेन ।

‘दिनभर विद्युत् आउनेजाने भइरह्यो । जसले गर्दा हामीले परीक्षण गर्न सकेनौं,’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार ल्याबमा रहेको जेनेरेटरले पनि काम नगर्दा समस्या भएको हो । ‘विद्युत् नभएको समयमा जेनेरेटरबाट काम गरिरहेका थियौं । आइतबार त्यसमा पनि समस्या सिर्जना भयो । जसले गर्दा कोरोनाको रिपोर्ट हामीले समयमा उपलब्ध गराउन सकेनौं,’ डा. सेढाईंले भने । उनका अनुसार आइतबार ४६ वटा स्वाब कोरोना परीक्षणका लागि पीसीआर मेसिनमा राखिएको थियो ।

आइतबारको स्वाबको परीक्षण सोमबार बिहानैबाट गर्ने तयारी भइरहेको छ । ‘सोमबार जसरी पनि आइतबारको रिपोर्ट निकालेर थप स्वाबको परीक्षण गर्नुपर्नेछ,’ उनले थपे । पीसीआर मेसिनमा एकपटकमा ६५ वटा स्वाबको परीक्षण गर्न सकिन्छ । हेटौंडामा संघीय सरकारको सहयोगमा पीसीआर ल्याबको स्थापना गरिएको थियो ।

हेटौंडा–४ स्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले भने पीसीआर रिपोर्ट समयमै नआउँदा आफूहरुलाई समस्या भएको गुनासो गरिरहेका छन् ।  ‘अहिले हाम्रो आइसोलेसनमा ४७ जना रहेका छन् । आइतबार हामीले परीक्षण गर्न पठाएको ४१ जनाको स्वाबको रिपोर्ट आएको भए नेगेटिभ आउनेलाई घर पठाउन पाइन्थ्यो । जसले गर्दा स्थानको समस्या हुँदैन थियो,’ चौलागाईंले भने,  ‘आइसोलेसनमा बस्ने ठाउँ नभएपछि केहीलाई हामीले घरमै बस्ने गरी स्वाब  संकलन गरेर पठाएका छौं ।’ उनले पछिल्लो समयमा स्वाब परीक्षण गराउन आउनेको संख्यामा वृद्धि भइरहेको बताए । 

भारतबाट फर्किएका तथा सतुंगलमा कोरोना संक्रमित देखिएका सात वर्षीय बालक घर र मामाघरका परिवारको स्वाब परीक्षणका लागि आइतबार नै पठाइएको छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully