१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सीमाका अलपत्र २९०० भित्रिए

रूपन्देहीमा बुधबार ५ सय जना ल्याइए, कपिलवस्तुमा १० स्थानीय तहले दुई हजार भित्र्याए
बाँकेको नरैनापुरमा चार सय क्वारेन्टाइनमा

रुपन्देही, कपिलवस्तु, बाँके — भारतका विभिन्न सहरबाट प्रदेश ५ का सीमावर्ती जिल्लाका दशगजामा आएर अलपत्र नेपालीलाई यहाँका स्थानीय तहले क्वारेन्टाइन स्थल निर्माण गरेर भित्र्याउन थालेका छन् । रूपन्देहीले भारतमा १४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकालाई बुधबारबाट ल्याउन थालेको छ । यहाँ ल्याएर विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखेर उनीहरूमा कोरोना भए/नभएको पीसीआर परीक्षण गरिने प्रशासनले जनाएको छ ।

सीमाका अलपत्र २९०० भित्रिए

भारतको नौतनवास्थित क्वारेन्टाइनमा २१ दिन बसेका ५ सय १० जनालाई बुधबार साँझ स्वदेश ल्याइएको हो । बुधबारै जिल्ला प्रशासन रूपन्देहीमा बसेको बैठकले सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा व्यवस्थापन गर्ने गरी पहिलो चरणमा पाँच सयभन्दा बढीलाई भित्र्याउने निर्णय गरेको थियो । उक्त समूहमा विभिन्न जिल्लाका बासिन्दा छन् । भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आउने बढ्दै गएकाले एकैपटक सबैलाई ल्याउन समस्या भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘सीमा आएका सबै क्वारेन्टाइनमा नबसेकाले जोखिम छ,’ उनले भने, ‘कसरी ल्याउने ? छलफल गरेर ल्याउनेछौं ।’ कहिले कति जनाको उद्धार गर्ने भन्ने निश्चित नभइसकेको उनले बताए । कोरोना संक्रमितको संख्या जिल्लामा पनि वृद्धि भइरहेको छ । त्यसैले राम्रो व्यवस्थापन गरेरमात्रै उद्धार गरिने पन्थले बताए ।

बुधबार ल्याइएका सबैलाई तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ । तिलोत्तमाले २ सय ३३ जनालाई ल्याएको छ । उनीहरूलाई तिलोत्तमा–१५ को मधवलीया मावि र शंकरनगरको दुर्गादत्त मावि क्वारेन्टाइनमा राखिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, ‘मधवलीयाको क्वारेन्टाइनमा झन्डै १ सय ८० जनालाई राख्न मिल्छ ।’ सबैको पीसीआर परीक्षण नगरुन्जेल यहाँ राखिने र रिपोर्टका आधारमा सम्बन्धित जिल्ला पठाइने उनले जनाए । भारतीय सरकारले रेल सेवा सुरु गरेपछि सीमासम्म आएर धेरै जना अलपत्र परेका छन् । ‘धेरै छलफलपछि ल्याउन सफल भयौं,’ उनले भने । सीमाबाट लुकीछिपी आएका व्यक्तिमा कोरोना देखापरेकाले क्वारेन्टाइनमा बसेर १४ दिन कटाएकालाई पहिलो लटमा ल्याएको उनले बताए ।

सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारीले भैरहवाको प्रतिमान निमा स्मृति अध्ययन प्रतिष्ठान र शैक्षिक तालिम केन्द्रमा क्वारेन्टाइनमा २ सय ७७ जना जना राखिएको बताएका छन् । प्रवासी नेपाली राख्नका लागि लीलाराम उमावि र भैरहवा उमाविलाई क्वारेन्टाइनस्थल बनाइएको छ । ‘हामीले २ सय ७७ जना राख्न नगरभित्रका दुई विद्यालयमा क्वारेन्टाइनस्थल तयार गरेका छौं,’ उनले भने, ‘भारतमा नेपाली अलपत्र पर्दा सहयोग गर्नु हाम्रो दायित्व हो ।’ सीमावर्ती भारतको नौतनवाको क्वारेन्टाइनमा अवधि पूरा गरेर पनि स्वदेश आउन नपाएपछि उनीहरूले केही दिनदेखि उद्धारका लागि दबाब दिँदै आएका थिए । भारतीय प्रशासनले उनीहरूलाई लैजान बारम्बार आग्रह गरिरहेको थियो । त्यसपछि प्रशासनले स्वदेश ल्याएर कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो । पीसीआर परीक्षणका लागि प्रशासनले केन्द्रबाट आवश्यकताअनुरूपको किट माग गरेको छ । नौतनवामा क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीको संख्या ९ सय हाराहारीमा छ । यसबाहेक १ हजारभन्दा धेरै जम्मा भइसकेका छन् । १ हजार जनालाई ल्याएर व्यवस्थापन गर्न प्रशासनले जिल्लाका १६ स्थानीय तहलाई थप २ सय जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गर्न लगाएको थियो ।

कपिलवस्तुको दशगजा क्षेत्रमा आएर अलपत्र धेरैले लामो समय खुला आकाशमुनि रात बिताएका थिए । एक सातायता हुरी र पानीले चुट्न थालेपछि सीमावर्ती स्थानीय तहले आफ्नो क्षेत्रमा ल्याउँदै विद्यालय र सामुदायिक भवनमा राखेका छन् । एकैपटक धेरै जना आउन थालेपछि स्थानीय तहलाई व्यवस्थापनमा समस्या भइरहेको छ । एउटै क्वारेन्टाइनमा पाँच सय जनाभन्दा बढी छन् । गाउँपालिकाले खाना व्यवस्थापन गर्न नसकेपछि केही स्थानमा घरबाटै पुर्‍याउन थालिएको छ । कपिलवस्तुमा बुधबारसम्म ३० संक्रमित पुगेका छन् । तीनमा अधिकांश यसरी सीमाबाट लुकीछिपी आएर क्वारेन्टाइनमा बसेका हुन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरू दशगजामा आएर रोकिएका थिए । गत वैशाख २१ गतेदेखि उनीहरूले मुलुक प्रवेश गर्न पाएका थिएनन् । लकडाउनका कारण भारतबाट दु:खकष्ट सहँदै आएकाहरू अलपत्र परेका थिए । सरकारले सीमामा आवागमन पूर्ण रूपमा रोक लगाएपछि रोकिएका थिए । दशगजास्थित मसानघाट, खोला छेउछाउमा कष्टकर दिनरात बिताएका थिए । झाडी र बुट्यानमा रुमाल, तन्ना बिछ्याएर भोकभोकै बसेका थिए ।

जिल्ला प्रशासनका अनुसार वैशाख २९ गतेसम्म जिल्लाका विभिन्न ७ नाकामा २ हजार २ सय ७७ जना आएका थिए । कृष्णनगरमा ३ सय ७१, मर्यादपुरमा ४ सय ९३ र चाकलचौडामा ३ सय १९ जना दशगजामा बसेका छन् । त्यस्तै भिल्मीमा ४ सय ९८, हर्दौनामा ३ सय ७ र हथिहवामा २ सय ६ र विजयनगरमा ९२ जना दशगजामा छन् । एक जना पनि नरहेको शुद्धोदन गाउँपालिकामा ५ सय ५३ पुगेका छन् । त्यहाँ २० क्वारेन्टाइनस्थल बनाइएको छ । ६५ जना रहेको मायादेवी गाउँपालिकामा ५ सय ५५ बढी पुगेका छन् । त्यहाँ ३० वटा क्वारेन्टाइनस्थल बनाइएको छ । महाराजगन्जमा १ हजार २२ र बुद्धभूमि नगरपालिकामा ३ सय ६८ पुगेका छन् । कृष्णनगर नगरपालिकामा ७ सय ७०, शिवराज नगरपालिकामा १ सय ८२ र यशोधरामा ६ सय ३८ जना छन् ।

कपिलवस्तु नगरपालिकामा ३ सय ६८ र वाणगंगा नगरपालिकामा ५२ जना क्वारेन्टाइनमा छन् । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ४ हजार ७ सय ७८ जना पुगेका छन् । दशगजामा अलपत्र भित्र्याउनेबारे संघीय सरकारको निर्णय आएको छैन । यहाँ ५० जना अन्य जिल्लाका छन् । कैलालीका १३, प्यूठानका ११, अर्घाखाँचीका ८ र दाङका ७ जना छन् । बर्दियाका १, बाँके २, सिन्धुपाल्चोक १ र रोल्पाका ६ जना छन् । दशगजामा अलपत्र सबैलाई भित्र्याएर क्वारेन्टाइनमा राखेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले बताए ।

भारतको हरियाणामा मजदुरी गरिरहेका बाँकेको नरैनापुर गाउँपालिका–५ का २१ वर्षे आशाराम यादवले १४ दिन सीमापारि क्वारेन्टाइनमा बिताए । त्यसपछि भारतले ‘तिमीहरू आफ्नै घर जाऊ’ भन्दै लखनउसम्म गाडीमा राखेर पठाइदिए । त्यहाँबाट उनीलगायत मजदुरको समूह हिँडेरै दशगजासम्म आएका हुन् । नेपालगन्जको मूल सीमानाका जमुनाहा बन्द भएपछि ग्रामीण क्षेत्रबाट लुकेर भित्रनेको संख्या दिनानु दिन बढ्दै छ । जिल्लाको दक्षिणमा रहेको नरैनापुर गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । अहिलेसम्म भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, गुजरातबाट आएका ३ सय ६९ भन्दा बढीलाई गाउँपालिकाले क्वारेन्टाइनस्थल बनाएर व्यवस्थापन गरेको छ । विभिन्न विद्यालयका भवन प्रयोग गरेर ७ वटा क्वारेन्टाइन बनाएर व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिहाक अहमद साहले बताए ।

लुकेर आएका सबै नरैनापुरका बासिन्दा हुन् । अध्यक्ष साहका अनुसार २० वर्षदेखि ४० वर्ष उमेरका छन् । त्यस्तै, डुडुवा गाउँपालिकामा मंगलबार मात्रै ३५ जना भारतदेखि आएका नेपालीलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखिसकेको छ । जमुनाहा मूल नाकामा कडाइ गरेसँगै स्थानीय सहायक नाका हुँदै घर फर्किनेहरूको सीमामा आउने गरेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । सबैभन्दा धेरै नरैनापुर गाउँपालिकाका छन् । जुन भारतको सीमा हँुदै आउने क्रम रोकिएको छैन । अध्यक्ष साहले ५ सयभन्दा बढी नै पुग्न सक्ने बताएका छन् । उनीहरू होटलदेखि इँटाभट्टा र कारखानामा काम गर्ने मजदुर छन् । हिँडेर, भोकभोकै आएकाहरूको खुट्टा सुन्निएर थला परेको अवस्थामा क्वारेन्टाइनमा रहेको अध्यक्ष साहले सुनाए ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?