काठमाडौँ — नेपालका बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४६ पुगेको छ । पछिल्ला ४ दिनमा मात्रै नेपालमा कोरोना भाइरसबाट थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार २४, मंगलबार ८३ र बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान मात्रै ३ जनामा संंक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म २२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये १७ तराईका जिल्ला रहेका छन् । तराईका २१ जिल्लामध्ये १७ मा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा भने कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ३९, रुपन्देहीमा २८, बाँकेमा २५, कैलालीमा ४, बारा र रौतहटमा ३/३, धनुषा, महोत्तरी, झापा, सर्लाही र चितवनमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया र कञ्ञ्चनपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।
तराईका १६ जिल्लाबाहेक काठमाडौं, भक्तपुर, उदयपुर, भोजपुर र बागलुङमा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा ३२, काठमाडौंमा ७, भक्तपुरमा र बागलुङमा २–२ जना तथा भोजपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै निको हुनेहरुमा उदयपुरका १४, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।
नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् ।
