कपिलवस्तुमा ३ सुरक्षाकर्मी संक्रमित, प्रदेशमा कूल संक्रमित ९४ जना
बुटवल — प्रदेश ५ का विभिन्न जिल्लामा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन् । भारतसित सीमा जोडिएका प्रदेशका पाँच जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । रुपन्देही र कपिलवस्तुका सीमावर्ती पालिकाका धेरैमा संक्रमण देखिएको हो । बुधबार रुपन्देहीमा १२, कपिलवस्तुमा ९, बाँके र पश्चिम नवलपरासीमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच बिहीबार कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । रुपन्देहीको कोटहीमाईका युवा भने निको भएर घर गएका छन् ।
रूपन्देहीमा बुधबार साँझ १२ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १० जना भारतको मुम्बईबाट आएका हुन् । यसअघि जिल्लामा मुम्बईबाट आएका ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित फरकफरक समयमा जिल्लामा आएका हुन् । बुधबार संक्रमण देखिएका १० जना गैडहवा गाउँपालिका–२ जोगडा बजारका हुन् । अधिकांश एकै परिवारका छन् । ४ र १० वर्षका दुई बालिकामा पनि संक्रमण देखिएको छ ।
उनीहरु वैशाख २५ गते मुम्बईबाट एउटै ट्रकमा कोचिएर आएका थिए । प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले भाडा तिरेर भारतको अलिवढवासम्म आएका थिए । त्यहाँबाट कपिलवस्तुको चाकलचौडा हुँदै पैदल रूपन्देहीको गैडहवा गाउँपालिका–२ जोगडामा छिरेका थिए । स्थानीयले ठूलो समुहमा मुम्बईबाट आउँदै गरेको जानकारी गराएपछि उनीहरुलाई गैडहवाको नवदुर्गा माविमा राखिएको थियो । त्यहाँ स्थान अभाव भएपछि जोगडा माविको क्वारेन्टाइनमा सारिएको थियो ।
‘पहिलादेखि शंका लागेकाले नवदुर्गा माविको क्वारेन्टाइनबाट सुरक्षितसाथ सारेका थियौं,’ गैडहवाका स्वास्थ्य संयोजक विष्णु उपाध्यायले भने, ‘स्वाब परीक्षणपछि पोजिटिभ देखियो ।’ उनका अनुसार संक्रमित देखिएका ४ देखि ४१ वर्ष उमेरका छन् । जोगडाको क्वारेन्टाइनबाट १८ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परीक्षणबाट १० जनामा संक्रमण देखिएको गैडहवा–२ का वडा अध्यक्ष बच्चुलाल केवटले बताए । त्यस्तै भीम अस्पताल भैरहवाको आइसोलेसनमा उपचार गराइरहेका २ जनामा पनि कोरोना परीक्षण पोजिटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । एक जना कपिलवस्तु र अर्को भारतको गोन्डाबाट आएका हुन् । आफन्तकोमा आएका भारतीय नागरिकमा कोरोनाको लक्षण देखिएपछि भीम अस्पतालको आइसोलेनमा भर्ना गरेर उपचार गरिएको थियो । उनको थप कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिएको जनस्वास्थ्य कार्यालय रूपन्देहीका एक अधिकृतले बताए ।
कपिलवस्तुमा बुधबार ३ जना सुरक्षाकर्मीमा कोभिड–१९ संक्रमण देखिएको छ । जिल्लामा पहिलोपटक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । मंगलबार जिल्ला अस्पतालमा कार्यरत एक नर्समा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका स्रोतका अनुसार संक्रमण पुष्टि हुने सशस्त्र र नेपाल प्रहरीका नायव निरीक्षक र राष्ट्रिय अनुसन्धानका असई रहेका छन् । उनीहरुले सीमावर्ती कृष्णनगर नगरपालिकामा खटिएर ड्युटी गरेको खुलेको छ । त्यस्तै कृष्णननगर नगरपालिकाले सञ्चालन गरेको महेन्द्र मावि क्वारेन्टाइनमा रहेका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । उक्त नगरपालिकामा पहिलोपटक संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट संक्रमित थपिएका हुन् । बुधवार दिउँसो कपिलवस्तु नगरपालिका–४ का एक जनामा संक्रमण देखिएको थियो । जिल्लामा बुधबारसम्म संक्रमितको संख्या ३९ पुगेको छ । कृष्णनगरबाट ५० जनाको स्वाव संकलन गरिएकामा बुधबार १६ जनाको परीक्षण भएको थियो । यसअघि कपिलवस्तुका सीमावर्ती मायादेवी, यशोधरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण पाइएको थियो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बेदौलीमा भारतबाट आएका एक व्यक्तिमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लाबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । तीन दिनअघि लुकीछिपी भारतबाट मुलुक प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले देखेर संक्रमित व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । संक्रमित ३६ वर्षीय पुरुष रहेका छन् । उनलाई थप उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।
प्रतापपुरका अध्यक्ष राजकुमार शर्माले संक्रमण देखिएपछि गाउँपालिका सिल गरेर परीक्षणको दायरा बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको बताए । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले पृथ्वीचन्द्र अस्पतालमा संक्रमितको उपचार हुने बताए । संक्रमण पुष्टि भएसँगै सुरक्षा समितिको बैठक बसेर जिल्लामा थप कडाइ गर्ने निर्णय भएको दाहालले बताए । समुदायमा संक्रमण फैलिएको नेपालगन्ज–८ जोलनपूर्वामा बुधबार एक संक्रमित थपिएका हुन् । यससँगै नेपालगन्जमा संक्रमितको संख्या २५ पुगेको छ । उक्त टोलमा मात्रै २४ संक्रमित पुगेका छन् । नेपालगन्ज–७ का एक व्यक्ति संक्रमित छन् । कपिलवस्तुमा ३९ जनामा संक्रमण पाइएको छ । रुपन्देहीमा २८ संक्रमित पुगेका छन् । बर्दियामा एक किशोरीमा संक्रमण देखिएको थियो ।
ट्रेसिङ नहुँदा जोखिम
कपिलवस्तुमा एक साताअघि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार साँझसम्म संक्रमितको संख्या ३८ पुगेको छ । तर, जिल्लाका सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा जोखिम बढेको छ । धेरै जनामा संक्रमण देखिए पनि सम्पर्क पहिल्याउँन ढिलाइ गरिँदा सर्वसाधारण त्रसित छन् । पहिलो २ जना संक्रमितकै यात्रा विवरण र कन्ट्याक ट्रेसिङमा ढिलाइ गरिएको हो । ‘एक सातामा ३८ जना संक्रमित पुगिसके,’ नागरिक अगुवा गोपीकृष्ण शर्माले भने, ‘बल्ल बुधबार ट्राभल हिस्ट्री र कन्ट्याक ट्रेसिङको तालिम आयोजना गरियो ।’ यसले सरकारी निकायको लापरबाही प्रस्ट्याएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले कन्ट्याक्ट ट्रेसिङका लागि बुधबार स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरेको छ । जिल्लामा ट्रेसिङको काम गरेका अनुभवी कर्मचारी नहुँदा ढिलाइ भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहीबारबाट संक्रमितको यात्रा विवरण र सम्पर्क गरेका व्यक्तिको विवरण संकलन गरिनेछ । जिल्लामा बुधबार चारवटा स्थानीय तहका प्रमुख/अध्यक्षको संयोजकत्वमा कन्ट्याक्ट ट्रेसिङ समिति गठन गरिएको छ । उक्त समितिमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई राखिएको छ ।
अभिमुखीकरणमा संक्रमित पहिचान, ट्रयाकिङ, ट्रेसिङ, स्वाब संकलन र परीक्षणबारे सिकाइएको थियो । जिल्ला, प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्राविधिक र चिकित्सले उनीहरुलाई तालिम दिएका थिए । ‘अब स्थानीय स्तरमा जनशक्ति तयार भयो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘अब ट्रेसिङ तीव्र गतिमा बढ्छ ।’ संक्रमित रहेका ५ स्थानीय तहमा पूरै जनशक्ति परिचालन गरेको प्रमुख भगतले बताए । एक/दुई दिनमा संक्रमण नभेटिएका पालिकामा पनि गएर ट्राभल हिस्ट्री र कन्ट्याक ट्रेसिङका लागि जनशक्ति तयार गरिने उनको भनाइ छ ।
गत बिहीबार र शनिबार संक्रमण पुष्टि भएका ५ संक्रमितको कन्ट्याक ट्रेसिङ बल्ल सकिएको छ । मायादेवी गाउँपालिकाकाका विभिन्न वडाका ५ युवाको कन्ट्याक ट्रेसिङ गरेर उनीहरुको सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरिएको हो । स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ । बाँकी संक्रमितको कन्ट्याक ट्रेसिङको काम बुधबार साँझबाट थालिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ‘कन्ट्याक ट्रेसिङबाट को उच्च र सामान्य जोखिममा छन् भनेर छुटयाउँछौं,’ उनले भने, ‘उच्च जोखिममा रहेकाको स्वाब संकलन गरेर पठाउँछौं ।’
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाबाट फेला परेका संक्रमितको सम्पर्कमा रहेका १६ जनाको थ्रोट स्वाब बुधवार संकलन गरिएको छ । भारतबाट लुकेर प्रवेश गरेपछि सम्मरीमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ जनाले एक रात घरमा बिताएको कन्टयाक्ट ट्रेसिङबाट खुलेको छ । उनको परिवारका १० र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ जना संक्रमितलाई मोटरसाइकलमा क्वारेन्टाइनसम्म पुर्याउने युवाको परिवारका ६ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । उनीहरु सबैको स्वाब परीक्षण भैरहवामा गरिने प्रदेश प्रयोगशालाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । भारतीय सीमाबाट लुकीछिपी नेपाल प्रवेश गरेर रूपन्देहीका विभिन्न क्वारेन्टाइनमा बसेका ८ सय ३९ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा बुधबारसम्ममा ६ सय ३५ जनाको रिपोर्ट आएको छ । २ सय ४ जनाको परीक्षणकै प्रक्रियामा छ ।
‘सीमा क्षेत्रमा अझै संक्रमित बढ्न सक्छन्,’ गिरीले भने, ‘पहिलो लटका ६२ मध्ये ३१ जनाको रिपोर्ट आउन बाँकी छ ।’ ती सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण भइरहेको छ । सीमा क्षेत्रबाट आउने क्रम बुधबार पनि रोकिएको छैन । सीमा क्षेत्रमा रहेका पाँचवटा पालिकाले तयार गरेको क्वारेन्टाइनमा मंगलबारसम्म ५ सय ९४ जना छन् । त्यसमा बुधबार पनि ३ सय जनाभन्दा बढी थपिएको रूपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले बताए ।
त्यस क्षेत्रका सबै स्थानीय तहले मंगलबारदेखि नै सबै वडामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा तयार गरेका छन् । त्यसमा सीमापारि र दशगजा क्षेत्रमा अलपत्र परेका १ हजार ५ सय बढीलाई ल्याउने तयारी भइरहेको थापाले बताए । ‘विवरण तयार गर्दै छौं,’ उनले भने, ‘एक/दुई दिनभित्र ल्याउने योजनाअनुसार क्वारेन्टाइनको स्थापना र व्यवस्थापन भइरहेको छ ।’ रूपन्देहीका सिद्धार्थनगर, तिलोत्तमा, रोहिणी र ओमसतियामा थप क्वारेन्टाइन स्थापना भइरहेका छन् । रूपन्देहीमा अहिलेसम्म फेला परेका संक्रमित भारतबाटै लुकीछिपी आएको देखिएकाले सीमा क्षेत्रमै थप सुरक्षा र स्वास्थ्य सर्तकता अपनाउनु जरुरी रहेको प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए । ‘त्यसैले सीमा क्षेत्रमै बढी केन्द्रित भएका छौं,’ उनले भने, ‘अब सीमा क्षेत्रमा पर्याप्त क्वारेन्टाइन बेड, आइसोलेसन, उपकरण र स्वास्थ्यकर्मी परिचालन गर्दै छौं ।’
थप संक्रमितको ट्रेसिङ सुरु
नेपालगन्ज उपमहानगरपालिका–८, का थप १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगन्जमा संक्रमितको संख्या २५ पुगेको छ । संक्रमितमध्येका नेपालगन्ज–८ जोलनपुर्वाका मात्र २४ जना पुगेका छन् । अर्का १ जना नेपालगन्ज–७ का हुन् । एउटै टोलमा धेरै व्यक्तिहरुमा संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको सम्पर्कमा आएका जोलहनपुर्वा, टाँगा स्टेसन र वडा न. ११ का स्थानीयको ट्ेरसिङ गरी स्वाब संकलन गरिएको थियो । ट्ेरसिङ गरिएका १ सय ६२ जनाको स्वाब परीक्षणका लागि नेपाली सेनाको एयर ट्रकमा काठमाडौं लगिएको थियो ।
धुलिखेलस्थित अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित १ जना थपिएपछि जिल्ला स्वास्थ्य कार्यालयले उक्त क्षेत्रमा फेरि पनि ट्ेरसिङको दायरा बढाउने भएको छ । ‘नयाँ भेटिएका कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्ति, परिवार र उनीहरु आउजाउ गरेको क्षेत्रको ट्ेरसिङ गर्छौं,’ स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘सुरक्षा समितिको बैठक बसेर ट्ेरसिङ क्षेत्रको निर्णय गर्छौं । त्यही आधारमा स्वाब संकलन गर्छौैं ।’
भारतको नानपाराबाट आएका ६० वर्षीय पुरुष कोरोनटाइनमा नबसी घर फर्किपछि जाँचका क्रममा कोरोना भएको पुष्टि भएको थियो । कोरोना संक्रमितहरुलाई खजुरास्थित प्रखर सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । आइसोलेसनमा राखिएपछि उनीहरुको १४ दिन कोरना परीक्षण गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पछि ट्रेसिङ गरी परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको जाँच गर्दा ७ जनामा कोरोना संक्रमण पाइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंगद शाहीले यसअघि भेटिएका कोरोना संक्रमित व्यक्तिहरुको ट्रेसिङको काम सकिए पनि स्वाब संकलनलाई भने तीव्र पारिएको बताए । बुधबार स्वास्थ्य कार्यालयको टोली स्वाब संकलनका लागि नरैनापुर गाउँपालिका पुगेको छ । भारतबाट फर्किएका तथा क्वारेन्टाइन्मा बसेका ३० जना पीसीआर परीक्षण गरिनेछ । बाँकेमा आलसम्म ६ सय २२ जनाको आरडीटी र १ हजार ५ जनाको पीसीआर जाँच गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
-घनश्याम गौतम (रुपन्देही), मनोज पौडेल (कपिलवस्तु), नवीन पौडेल (परासी), ठाकुरसिंह थारू/रुपा गहतराज (नेपालगन्ज)
