थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति गलत, संक्रमितको संख्या २४५

जेष्ठ १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण रहेकाे भन्दै सच्याइएकाे छ ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका थिए ।

अहिले केही समय अघि मात्रै विज्ञप्ति प्रकाशित गरी उक्त विवरण गलत भएको जनाइएको छ । नयाँ विज्ञप्तिअनुसार हालसम्म कुल संक्रमितको संख्या २४५ नै रहेको छ ।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा र भक्तपुर, धनुषा, सर्लाही र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

नोट : स्वास्थ्य मन्त्रालयलले विज्ञप्ति निकालेर पहिले दिएका जानकारी गलत भएको भनेर सच्याएसँगै यो समाचार पनि सच्याइएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully