कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘कुटनीतिक नोटको जवाफमा सार्वजनिक भइसकेको प्रेस विज्ञप्ति हस्तान्तरण गर्नु उपयुक्त होइन’

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको कुटनीतिक नोटको जवाफमा भारतीय राजदुतले तत्कालै सार्वजनिक भइसकेको प्रेस विज्ञप्ति हस्तान्तरण गर्नु उपयुक्त नभएको कुटनीतिज्ञले बताएका छन् ।

‘कुटनीतिक नोटको जवाफमा सार्वजनिक भइसकेको प्रेस विज्ञप्ति हस्तान्तरण गर्नु उपयुक्त होइन’

‘त्यो राम्रो देखिएन । उपयुक्त पनि देखिएन । कुटनीतिक नोटको जवाफ प्रेस विज्ञप्ति हो जस्तो मलाई लाग्दैन,’ कुटनीतिज्ञ अर्जुनकान्त मैनालीले कान्तिपुरसँग भने, ‘कुटनीतिक नोट दिएपछि आफ्नो विदेश मन्त्रालयसँग छलफल गरेर जवाफ दिनु पर्ने हो । उतिन्खेरै सार्वजनिक भइसकेको प्रवक्ताको विज्ञप्ति हस्तान्तरण गर्नु ठीक होइन ।’

सोमबार परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय राजदुत विनयमोहन क्वात्रालाई सिंहदरबारस्थित कार्यकक्षमा बोलाएर नेपाली भूमिमा सडक अतिक्रमणदेखि जमिन अतिक्रमणसम्मका विषयमा ‘कुटनीतिक नोट’ दिएका थिए । अन्तर्राष्ट्रिय प्रचलनमा कुटनीतिक नोट एउटा मुलुकले अर्को मुलुकको व्यवहारलाई लिएर दिइने उच्च तहको विरोध पत्र हो । त्यसको जवाफमा भारतीय राजदुत क्वात्राले भने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले शनिबार बेलुकी जारी गरेको विज्ञप्ति ज्ञवालीलाई त्यसैबेला हस्तान्तरण गरेका थिए ।

नेपालले कुटनीतिक नोट बुझाए पनि राजदुतले विज्ञप्ति बुझाउनुले भारत उस्तै अडानमा रहेको देखिने कुटनीतिज्ञहरु मान्छन् ।

‘नेपालले भूमि अतिक्रमणलाई गम्भीर रुपमा लिएर भारतीय राजदुतलाई बोलाएर परराष्ट्र मन्त्रीले कुटनीतिक नोटजस्तो संवेदनशील पत्र दिँदै गर्दा जवाफमा राजदुतले विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्ति हस्तान्तरण गर्नुलाई भारतले आफ्नो अडानलाई दोहोर्‍याएकै देखिन्छ,’ कुटनीतिज्ञ दीनेश भट्टराईले भने ।

अर्का कुटनीतिज्ञ शम्भुराम सिंखडाले नेपालले कुटनीतिक नोट दिन्छ भनेर भारतले पहिले नै तयारी गरेर विज्ञप्ति लिएर आएको बताए । ‘उनीहरुलाई के हुन्छ भन्ने पहिले नै थाहा थियो । त्यसैले पूर्व तयारी गरेर आएको देखिन्छ,’ उनले थपे ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्तिमा ‘भारतले निर्माण गरेको सडक पूर्ण रुपमा भारतीय भूमिमा रहेको’ दाबी गरिएको छ ।

कुटनीतिज्ञ मैनाली राजदुतलाई चिठी बुझाउने जस्तो काम परराष्ट्र मन्त्रीको नभई सचिवले गर्नु उपयुक्त हुने पनि मान्छन् । ‘त्यो बुझाउने काम सचिवको हो । मन्त्रीको काम राजदुतलाई पत्र बुझाउने होइन । मन्त्रीको ठाउँमा सचिवले नोट बुझाएको भए राम्रो हुन्थ्यो,’ उनले भने ।

परराष्ट्र मन्त्रालयले उक्त भेटघाटमा परराष्ट्र मन्त्री ज्ञवालीले राजदुत क्वात्रालाई कुटनीतिक नोट हस्तान्तरण गरेको सुचना मात्र बाहिर ल्याएको थियो ।

काठमाडौंस्थित भारतीय राजदुतावासको आधिकारिक ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ मा जनाइएअनुसार राजदुत क्वात्राले मन्त्री ज्ञवालीलाई सिंहदरबारमै सीमाका विषयमा भारतको धारणाको बारे बताएका थिए । ट्वीटमा थप भनिएको छ, ‘उहाँ (क्वात्रा) ले विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रेस विज्ञप्ति पनि मन्त्री (ज्ञवाली) लाई दिनु भएको छ ।’

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सकडको भारतले गत शुक्रबार उद्घाटन गरेको थियो । पिथौरागढ…–गुन्जी–लिपुलेक सडक खण्डको १९ किलोमिटर भाग नेपाली भूभागमा पर्ने मन्त्री ज्ञवालीले संसदमा बताएका छन् ।

सोमबारै दिल्लीस्थित नेपाली राजदुतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा उक्त कुटनीतिक नोट हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?