कांग्रेसका प्रमुख सचेतक खाणको प्रश्‍न : प्रधानमन्त्रीज्यू, लिपुलेकको जमिन खै ?

वैशाख ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले ‘लिपुलेकको जमिन खै ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

केही समय अगाडि भारतले लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि राखेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि आफूहरुले पनि नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा नभई जमिनै फर्काउछु भनेको स्मरण गराउँदै प्रमुख सचेतक खाणले ‘त्यो जमिन खै ?’  भनी प्रश्न गरेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै खाणले प्रधानमन्त्रीले फिर्ता गर्छु भनेको जमिनमा भारतले उल्टै बाटो बनाएको बताए ।

भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि सरकारलाई सबै राजनीतिक दलले नक्सा सच्याउन आग्रह गरे पनि अहिलेसम्म नसच्चिएको खाणले बताए ।  ‘नेपालका सबै राजनीतिक दलहरुबी त्यो नक्सा सच्याउन, नेपाली भूमिलाई फिर्ता ल्याउन र नेपालले आफ्नो नक्सा जारी गर्नका लागि सहमति जस्तो बनेको थियो । संसदीय समितिले पनि निर्देशन दिएको थियो सरकारलाई,’ खाणले भने, ‘त्यतिखेर प्रधानमन्त्रीले म त नक्सा जारी गर्ने होइन, कागजमा होइन जमिन नै फर्काउँछु भन्नुभएको थियो । आज त्यो नक्सा कता गयो ? त्यो जमिन कता गयो ? त्यो जमिनमा त उल्टै बाटो बनाइदिएको छ । उद्घाटन गरेको छ ।’

सीमा संरक्षणमा सरकार गम्भीर नभएको आरोप पनि खाणले लगाए । उनले भने, ‘सरकारले यसमा थाहा नपाएको जस्तो गरेको छ । मन्त्रीले ‘होइन मलाई थाहै थिएन’ भन्दिनु भो पहिला । फेरि यहाँ आएर थाहा थियो हामीलाई पहिला नै भन्दिनुभयो । एकजना मन्त्रीले फेरि हेलिकोप्टर चढेर लिम्पियाधुरा हेर्न जानुभो ।’

लिपुलेक

कान्तिपुर

Link copied successfully