सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी

वैशाख ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् । 

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्‍वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले  पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।  

'सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु,' सांसद गिरीले भने । 

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएसँगै नेपालमा सडकदेखि सदनसम्म त्यसको चर्को विरोध भइरहेको छ ।

लिपुलेक

कान्तिपुर

Link copied successfully