स्वास्थ्य जाँचबिनै उपत्यका भित्रनेको लर्को

कोरोना संक्रमित जिल्लाबाट निजी गाडीमा आएका सर्वसाधारण नागढुंगा नाकामा भरपर्दो स्वास्थ्य जाँच नगरीकनै उपत्यका छिरिरहेका छन, चेकपोस्टमा चन्द्रागिरि नगरपालिकाले हेल्थ डेस्क राखे पनि स्वास्थ्यकर्मी छैनन् । सुरक्षाकर्मीले विवरणसमेत राख्दैन ।

वैशाख २४, २०७७

मकर श्रेष्ठ

काठमाडौँ — नागढुंगा चेकपोस्ट हुँदै गएको मंगलबार निजी गाडीमा काठमाडौं प्रवेश गरेका एक यात्रुमा १०२ डिग्री फरेनहाइट ज्वरो देखियो । ती यात्रुलाई छाड्ने कि नछाड्ने भन्नेमा प्रहरी अलमलमा परे । फेरि नाप्दा पनि तापक्रम उति नै देखियो । जाँचमा खटिएका प्रहरी जवानले माथिल्लो तहमा जानकारी गराए ।

थानकोट प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले उनलाई नाकामै राख्न निर्देशन दिए । निर्देशन कार्यान्वयन गर्दै नाकामा खटिएका प्रहरीले उनलाई निजी कारबाट ओराले । अब कहाँ राख्ने ? नागढुंगामा कुनै पनि होटल खुलेका थिएनन् । प्रहरीले आफ्नो कार्यालयमा लैजान पनि जोखिम देखे । त्यहीं बन्द रहेको पसलको पेटीमा उनलाई आराम गराए । एक घण्टापछि फेरि ज्वरो नाप्दा १०० डिग्री फरेनहाइटभन्दा कम पाइएपछि मात्रै उनलाई काठमाडौं प्रवेश दिइएको प्रहरीले जनाएको छ ।

गएको बुधबार १०१ डिग्री फरेनहाइट तापक्रम भएका अर्का व्यक्ति पनि काठमाडौं प्रवेश गर्ने नाकामा आइपुगे । प्रहरीलाई फेरि अर्को हैरानी आइलाग्यो । उनलाई पनि आराम गराएर ज्वरो नाप्दा १०० डिग्रीभन्दा कम देखिएपछि गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । नाका हुँदै आउने सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क छ तर सरकारले स्वास्थ्यकर्मी राखेको छैन । बिरामीलाई आरामका लागि चाहिने कुनै कोठासमेत छैन ।

सरकारले यात्रुवाहक सवारी आवतजावतमा रोक लगाएको छ । तर, निजी सवारी पहुँचका भरमा पास बनाएर ओहोरदोहोर गरिरहेका छन् । यस्ता सवारीमा आउनेको प्रहरीसँग नामनामेसी पनि टिपेको छैन । नाका हुँदै बाहिरिने र भित्रिने सवारीको विवरण टिप्न प्रहरी, टाफिक प्रहरी र सेना खटिएका छन् । तर, कुन सवारीमा को कहाँ गए भन्ने विवरणचाहिँ छैन । यसरी पहुँचका भरमा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर काठमाडौं प्रवेश गर्नेको संख्या एक सातायता बढेको नाकाका एक प्रहरीले बताए । भाडाको सवारी चलेपछि निजी गाडीमा कोरोना संक्रमित जिल्लाबाट पनि आइरहेका छन् । तर, हामीले गाडी नम्बर, कहाँबाट आएको ? कहाँ जाने ? कति यात्रु छन् ? त्यसको विवरण मात्रै टिप्ने गरेका छौं,’ नागढुंगाका एक प्रहरीले भने । नाकामा हेल्थ डेस्कमा चौबिसै घण्टा स्वास्थ्यकर्मी नहुँदा बाहिरी जिल्लाबाट निजी गाडीमा राति आउने सर्वसाधारणको ज्वरोसमेत परीक्षण नहुने ती प्रहरीले बताए । नाकाको स्वास्थ्य जाँच प्रभावकारी नहुँदा कोरोना लागेका यात्रु पनि सहजै काठमाडौं उपत्यका प्रवेश पाउने सम्भावना छ ।

नागढुंगा नाकामा भरपर्दो स्वास्थ्य जाँच गर्ने डेस्क वा केन्द्र छैन । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चन्द्रागिरि नगरपालिकाले काठमाडौं प्रवेश गर्ने यात्रु र चालकको शरीरको तापक्रम नाप्न हेल्थ डेस्क खडा गरेको थियो । ‘केही दिन २४ सै घण्टा स्वास्थ्यकर्मी बसे । त्यसपछि खोप कार्यक्रम र जनचेतना जगाउन भन्दै स्वास्थ्यकर्मी दिउँसो मात्रै बस्न थाले,’ महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले भने, ‘लकडाउनपछि त दिउँसो पनि परीक्षण हुन छाड्यो ।’

पछिल्लो समय युथ डाक्टर्स एसोसिएसनका स्वास्थ्यकर्मीले दिउँसो १२ बजेपछि स्वयंसेवा गरिरहेका छन् । बिहीबारदेखि भने बिहान रेडक्रसको टोली पनि खटिने गरेका छन् । काठमाडौंमा सबैभन्दा बढी यात्रु भित्रिने नागढुंगा नाका अहिले स्वयंसेवकको भरमा छ । सरकारले नै स्थायी रूपमा खटिने गरी २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने प्रहरीको माग छ ।

चेकपोस्टमा स्वास्थ्यकर्मी नहुँदा अघिल्लो सोमबार झापा, विराटनगरलगायत पूर्वका जिल्लाबाट काठमाडौं आएकाको स्वास्थ्य जाँच नगरी छाड्नुपरेको थियो । ‘सरकारले अरूको भरमा स्वास्थ्य परीक्षण गर्न खटाएर हुँदैन,’ चेकपोस्टमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘स्वयंसेवकका रूपमा खटिएका साथीहरूले पनि काम त गरिरहनुभएको छ । धेरैजसो चाहिँ ज्वरो नापेको फोटो खिच्न मात्रै आउनु हुन्छ ।’

चन्द्रागिरि नगरपालिकाले बनाएको हेल्थ डेस्क प्राय: खाली हुन्छ । पानी पर्दा यही डेस्कमा सुरक्षाकर्मी बस्छन् । बिहीबार पनि बिहान ८ बजेपछि मात्रै रेडक्रसका स्वयंसेवक नाकामा पुगेका थिए । राति नाकामा आउजाउ गर्ने कसैको पनि स्वास्थ्य परीक्षण हुँदैन । प्रहरी र नगरपालिकाबीच भएको बैठकले नाकामा २४सै घण्टा स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स राख्ने निर्णय भएको थियो । निर्णय भएको भोलिपल्ट एम्बुलेन्स पनि पुगेको थियो । ‘तर २३ मिनेट पनि बसेन,’ डीएसपी श्रेष्ठले भने, ‘खाना खान जान्छु भनेर चालक गएका थिए, फर्केर आएनन् ।’ नाकामा जसरी बिग्रिएको गाडी तान्ने क्रेन र चालक सधैं तयारी अवस्थामा राखिएको छ, त्यसैगरी स्वास्थ्यकर्मी र एम्बुलेन्स राख्नुपर्ने प्रहरीको माग छ ।

जिल्ला सुरक्षा समितिले पनि नाकामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्ने भने पनि व्यवस्थापन गर्न सकेको छैन । स्वास्थ्यकर्मी नहुँदा नाकामा आइपर्ने समस्या अग्रपंक्तिमा खटिएका प्रहरीले झेल्ने गरेका छन् । नाकामा खटिएका प्रहरीसँग सुरक्षित मास्क र पन्जासमेत छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नाकामा हेल्थ डेस्क राख्न पहल भइरहेको बताए ।

काठमाडौं उपत्यका प्रवेश गर्ने काठमाडौंको बालाजु, फर्पिङ, साँखु, ललितपुरको चापागाउँ, भक्तपुरको नाला नाकामा पनि हेल्थ डेस्क नहुँदा संक्रमित बिरामी पनि सहजै प्रवेश हुने अवस्था छ । नागढुंगा नाका हुँदै केही दिनअघिसम्म उपत्यका भित्रिने सर्वसाधारणको संख्या उल्लेख्य भए पनि अहिले निजी सवारी, तरकारी, खाद्यान्न, कुखुरा बोक्ने ट्रक मात्रै चल्ने गरेका छन् । सरकारले यात्रुवाहक सवारी चलाउन रोक लगाए पनि अति आवश्यक, निजी चारपाङ्ग्रे र मोटरसाइकलमा आवतजात भने यथावत् छ । यी सवारीबाट आवतजावत गर्नेको विवरण प्रहरीसँग पनि छैन । थानकोट प्रहरीले भने नागढुंगा नाका हुँदै बाहिरबाट आउने सर्वसाधारणलाई रोक लगाएको दाबी गरेको छ ।

लकडाउनकोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully