स्वास्थ्यमन्त्री भन्छन्- 'सरकारले समयमै सचेतता अपनाएकाले कोरोना संक्रमण फैलिएन' 

वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने संकेत

वैशाख १९, २०७७

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन सरकारले समयमा नै सचेतता अपनाएकाले महामारीको रुप नलिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् । 

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा उनले यही सचेतताकै कारण विश्व स्वास्थ्य संगठनले सुरुमा नेपाललाई उच्च जोखिमको सूचीमा राखे पनि पछि हटाएको बताए । 'जसरी विश्वमा महामारीको अवस्था ल्याएको छ, त्यसमा हाम्रो तर्फबाट गरिएका सावधानीले हामी उच्च जोखिममा छैनौं । सुरुमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको थियो । पछि सबैले चालेका कदमले त्यो सूचीबाट हटाएको अवस्था छ,' उनले भने, 'त्यसको अर्थ हामीले हिजोको भन्दा प्रगति गरेका छौं ।'

नेपालमा कोरोनाको संक्रमण उच्च नहुनुका पछाडिको कारणबारे मन्त्री ढकालको भनाइ थियो, 'लकडाउन हामीले उपयुक्त समयमा नै गर्‍यौं । सामाजिक दूरी कायम गर्ने सबै नेपालीहरूको सचेतताले गर्दा र लकडाउनको अवस्था कष्टपूर्ण भए पनि महामारीमाथि विजय प्राप्त गर्ने भरपर्दो अस्त्र हो भन्ने बुझेर सबैले साथ दिनुभएको कारणले पनि हाम्रो मुलुकमा यो जोखिमलाई न्यूनीकरण गर्नका लागि एक हदसम्म सफलता हात पारेका छौं ।'

त्‍यस्तै मन्त्री ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।

दक्षिणपूर्वी एसियाका कोरोनाबाट मृत्यु नहुने १० मुलुकमध्ये नेपाल पनि एक रहेको र दक्षिण एसियाका कोरोना संक्रमण फैलिएका मुलुकमा भुटान र माल्दिभ्स पछि नेपाल तेस्रो स्थानमा रहेको ढकालको भनाइ थियो । 

चीनबाट आएका नेपालका पहिलो कोरोना संक्रमितको स्वाब परीक्षणका लागि हङकङ पठाउनुपरेको स्मरण गर्दै मन्त्री ढकालले अहिले मुलुकका १६ स्थानमा कोरोना परीक्षणको व्यवस्था गरिएको बताए । उनले भने, 'आज नेपालभित्रै १६ ठाउँमा कोरोना परीक्षण गरेर संक्रमित हो कि होइन भन्ने टुंगो लगाउने अवस्थाको सफलता प्राप्त गरेका छौं । अहिले हामी १६ ठाउँमा चेक गर्छौं र त्यसपछि पनि क्रस भेरिफिकेसनका लागि धरान, टेकु र नेपालगन्जमा थप परीक्षणको व्यवस्था गरेका छौं ।'

शुक्रबारसम्म ६० हजार जनाको स्वास्थ्य परीक्षण गरिसकिएको मन्त्री ढकालले जानकारी दिए । जसमध्ये ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १६ जना पूर्ण स्वास्थ्य उपचार गराएर घर फर्किएका छन् । 

सरकारले कोरोना संक्रमितको बारेमा आधिकारीक जानकारी हरेक साँझ ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिने गर्दछ । 

मन्त्री ढकालले भने संसदीय समितिमा नै उक्त जानकारी दिएका हुन् । 'हिजो साँझसम्म ५७ जना छन्, आज दुई जना थपिन सक्ने सम्भावना त्यत्तिकै बलियो छ,' मन्त्री ढकालले भने ।

राहत वितरण र क्वारेन्टाइनको व्यवस्थापनलाई अझै राम्रो बनाउँदै जाने उनले प्रतिबद्धता जनाएका छन् ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री आयातमा तथा आपूर्तिको व्यवस्थालाई सकारात्मक ढंगले अगाडि बढाएको दाबी गरेका थिए । सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको सार्वजनिक भएको थियो । स्वास्थ्य  सामग्रीको गुणस्तरमा प्रश्न उठेपनि समितिमा भने कसैले पनि त्यसबारे कुरा उठाएनन् । सांसदहरूले कानुनी विषयमा मात्रै प्रश्न उठाएका थिए । 

सम्बन्धित समाचारः

स्वास्थ्य सामग्री खरिद प्रकरणलकडाउनकोरोना भाइरस

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully