रौतहट — पछिल्लो पटक रौतहटमा कोरोना संक्रमण पुष्टि भएका दुई जनाको सम्पर्कमा आएका सबै जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।
मंगलबार वृन्दावन र देवाहीगोनाही नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा अन्य व्यक्ति पहिचान गरी सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिएको थियो । परिवार र सम्पर्कमा आएका ४६ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरेले बताए । ‘संक्रमित दुवै जनाको सम्पर्कमा आएका सबैको नेगेटिभ नतिजा आयो । यो निकै खुशीको कुरा हो,’उनले भने, ‘एकजना क्वारेन्टाइनमा बसेर घर गएकाको हकमा हामी डराएका थियौ । तर उनको परिवार र सम्पर्कमा रहेकाहरुको टेस्ट पनि नेगेटिभ आयो ।’
क्वारेन्टाइनमा राखेर स्वाब जम्मा गरी परीक्षणका लागि मंगलबार नै केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएको थियो । क्वारेन्टाइनमा राखिएकाहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै राख्ने वा घर जान दिइने भन्नेबारे चिकित्सकसँग सल्लाह गरेर निर्णय लिने प्रजिअ घिमिरेले सुनाए ।
वृन्दावन ९ का २४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएपछि उनका श्रीमती, दुई छोरी, भाइ , घर बनाउने मजद्र, गहु झार्न प्रयोग गरेको थ्रेसर चलाउने मजदुर गरी १७ जनालाई चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेनटाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेर घर गएको दस दिनपछि उनमा कारोनाको संक्रमण देखिएको थियो ।
त्यस्तै देवाहीस्थित करुनियाका ३५ वर्षीय संक्रमित क्वारेन्टाइनमै थिए । उनका आफन्त र सम्पर्कमा रहेका ९ जनाको स्वाब निकालेर टेस्टका लागि पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको प्रजिअ घिमिरेले जनाए । दुवै जना भारतबाट लकडाउनकै बेला चोरबाटो हुँदै नेपाल छिरेका थिए । रौतहटमा हालसम्म वृन्दावन नगरपालिका–९ भुसाहाका २१ जना, चन्द्रपुरका २ जना, देवाहीगोनाहीका १३, ईशनाथका १९, कटहरियाका ३१, फतुवा विजयपुरका ३ , गौर र गरुडाका १/१ गरी ९१ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा हालसम्म तीन जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । ईशनाथका १९ वर्षीय युवक उपचारपछि निको भएर भएर घर फर्किसकेका छन् ।
