लुम्बिनीमा बुद्ध जयन्ती : सीमित व्यक्ति सहभागी हुने

वैशाख १८, २०७७

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणका कारण सीमित व्यक्तिहरुका बीचमा यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ । २५६४ औं बुद्ध जयन्ती वैशाख २५ गते परेको छ ।

लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन बिहान पूजाआजा गरि मनाइने लुम्बिनी विकास कोष सदस्य सचिव ज्ञानीन राईले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना गरिने छ । ‘शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा राम्रो सन्देश जाँदैन्,’ कोष सदस्य राजेश ज्ञवालीले भने, ‘अदृश्य कोरोना भाइरसको आक्रान्त त्राहिमाम विश्व भाइरसबाट छिट्टो मुक्ती पाओस् भन्ने कामना गर्छौं ।’

साँझ मन्दिर परिसरमा रहेको पुष्करणी पोखरीमा बुद्धको जतिऔं जन्मदिन हुन्छ त्यति नै दीप बाल्ने चलन छ । यसो हुँदा जयन्तीमा २ हजार ५ सय ६४ दीप प्रज्वलन गरेर दीपावली गरिनेछ । त्यस्तै बौद्ध समुदाय लगायत सबैलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दे आआफ्नो स्थानमा सुरक्षित तरिकाले प्रार्थना एवं पाठपूजा गरी मनाउन अनुरोध गरिएको छ ।

लकडाउनकोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully