कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मोहन सहनीको लकडाउन : माछा बेचेर चामल [फोटो फिचर]

शब्द/तस्बिर : पर्वत पोर्तेल

काँकडभिट्टा — झापा धुलाबारीका मोहन सहनी लकडाउनपछि बिहान हत्तपत्त घरबाट निस्किँदैनन् । दिउँसोचाहिँ जाल बोक्छन् अनि सुटुक्क छड्किन्छन् खोलातिर । दिनभरि खोलामै बित्छ दैनिकी । कहिले निन्दा, कहिले हडिया खोला जाल हानिरहेका भेटिन्छन् ।

साँझ घर फर्किन्छन् । कम्मरमा झुन्ड्याएको टोकरी कहिले रित्तो हुन्छ, कहिले टनाटन । यही माछा बेचेर परिवार पाल्छन् सहनी । ‘दिनभरि मारेका माछा बेचेर चामल किनेर छोरा छोरीलाई ख्वाउँछु’, सहनीले दु:ख पोखे, ‘अरु काम जानेको छैन । लकडाउनले यही पेशा पनि खोसिने अवस्था भइसक्यो ।’

लकडाउनले धुलाबारी बजार चकमन्न हुन्छ । कसोकसो प्रहरीको आँखा छलेर उनी खोलातिर लाग्छन् । ‘खोला पनि भन्नु मात्रै छ, माछा नै पाइन छाडिसक्यो’, धुलाबारी नजिकैको निन्दा खोलामा जाल हानिरहेका सहनीले सुनाए, ‘करेन्ट लगाउने, विष हाल्ने गर्नाले माछा मासिसक्यो ।’

यद्यपि दिनभरिको कडा मिहेनतपछि सहनी आधा, एककिलो माछाचाहिँजालमा पार्छन् । खोलाको ताजा भुरा माछा बाटैमा हारालुछ हुन्छ । प्रतिकिलो ६ सयमा माछा बिक्छ । ‘एक किलो माछा मार्न सक्दा तीन दिनलाई दाल, चामल र तरकारी किन्न पुग्छ,’ उनी भन्छन्,‘यसैले चलेको छ परिवार ।’


प्रकाशित : वैशाख १८, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्