काँकडभिट्टा — झापा धुलाबारीका मोहन सहनी लकडाउनपछि बिहान हत्तपत्त घरबाट निस्किँदैनन् । दिउँसोचाहिँ जाल बोक्छन् अनि सुटुक्क छड्किन्छन् खोलातिर । दिनभरि खोलामै बित्छ दैनिकी । कहिले निन्दा, कहिले हडिया खोला जाल हानिरहेका भेटिन्छन् ।
साँझ घर फर्किन्छन् । कम्मरमा झुन्ड्याएको टोकरी कहिले रित्तो हुन्छ, कहिले टनाटन । यही माछा बेचेर परिवार पाल्छन् सहनी । ‘दिनभरि मारेका माछा बेचेर चामल किनेर छोरा छोरीलाई ख्वाउँछु’, सहनीले दु:ख पोखे, ‘अरु काम जानेको छैन । लकडाउनले यही पेशा पनि खोसिने अवस्था भइसक्यो ।’

