किरातीको उभौली पूजा र नाच स्थगित

काठमाडौँ — किरात जातिले यो पटक उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउन संस्थागत निर्णय गरेका हुन् । तिथिअनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ । 

किरातीको उभौली पूजा र नाच स्थगित

‘कोरोना भाइरसको महामारीले संसारै लकडाउनमा छ,’ किरात समन्वय समितिका संयोजक तथा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणबीर सुनुवारले भने, ‘त्यसैले गर्दा यो पटक किरात चाड उभौली सार्वजनिक स्थलमा नमनाउने र नाच पनि प्रदर्शन नगर्ने निष्कर्षमा पुगेका छौं । किरातजन्य संस्थाहरूको आ–आफ्नो समुदायलाई त्यसैअनुसार सर्कुलर जारी गर्ने टुंगाेमा पुगेका छौं ।’ समन्वय समितिले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् । उक्त विज्ञप्ति किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले जारी गरेका हुन् ।

यायोक्खाका महासचिव जनक राईले यसअघि छुट्टै विज्ञप्ति जारी गर्दै यो वर्षको साकेला सांस्कृतिक विधिमात्र पुर्‍याएर चाड मनाउन आह्वान गरेका छन् । ‘यो वर्षको किरात चाड उभौली साकेलालाई कुनै पनि देश वा स्थानमा बृहत कार्यक्रमको रूपमा खुल्ला स्थानमा आयोजना गर्न, गराउन व्यवहारिक नहुने भएकोले,’ विज्ञप्तिमा छ, ‘सांस्कृतिक विधिअनुसार पारिवारिक रूपले घरभित्र मात्र मनाउने र साकेला थानमा पनि परिस्थितिअनुसार सम्बन्धित ठाउँको आधिकारिक सरकारी निकायको समन्वयमा नछौं (पुजारी) लगायत सीमित व्यक्तिको सहभागितामा उभौली पूजा गर्न, गराउन अनुरोध छ ।’

त्यसैगरी चुम्लुङका अध्यक्ष योगराज लिम्बूले कोरोना महामारीका कारण सार्वजनिक स्थलमा पूजाआजा र च्याब्रुङ नाच प्रदर्शन नगर्ने निर्णय गरेको बताए । याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लिलबहादुर रोगुले विश्वव्यापी महामारीका कारण सामूहिक पूजाआजा नगरिने जानकारी दिएका छन् ।

किराती जातिले हरेक वर्ष अन्नबाली छर्ने बेलामा उभौली चाड मनाउँदछन् । अन्नबाली राम्रो होस् । सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहित रूपमा नाच प्रदर्शन गर्ने गर्दछन् । अन्नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिमा उधौली पूजा गर्दछन् । यो चाडलाई किरात राईले साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर भनेर पुकार्दछन् ।

प्रकाशित : वैशाख १८, २०७७ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?