सरकार र सत्तारूढ दलका शीर्ष नेताबीच संवाद र छलफलको केन्द्रमा राजनीतिक समीकरण आइपुग्यो । लकडाउन र त्यसले समाजमा पारेको बहुआयामिक प्रभाव, जनताको अत्यास र डेरा छाडेर घर जानेको लर्कोको विषय बहसको केन्द्रबाट हुत्तियो ।
काठमाडौँ — सरकारी वकिलको कार्यालय बबरमहलबाहिर मंगलबार अनौठो दृश्य देखियो । लकडाउनका कारण सडक सुनसान थियो । कार्यालयबाहिर मूल सडकमा एक हुल तन्नेरीलाई प्रहरीले घेरिरहेका थिए । ती तन्नेरीले चर्को स्वरमा ‘विखण्डनकारी मूर्दावाद’, ‘राष्ट्र टुक्रयाउन पाइँदैन’ जस्ता नारा लगाए । प्रहरीले तिनलाई तितरबितर गर्ने प्रयास गरेनन्, बरु भीड कार्यालयभित्र नछिरून् भनेर सर्तकता अपनाए ।
मन्त्रिपरिषद्ले गत ८ गते सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेश केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि विकसित राजनीतिक घटनाक्रमको एउटा दृश्य बबरमहलमा देखिएको थियो ।
समाजवादी पार्टी फुटाउन भन्दै नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरबाट समाजवादीका केन्द्रीय सदस्य एवं सांसद सुरेन्द्र यादवलाई गाडीमा राखेर रातारात काठमाडौं ल्याएका थिए । यादवलाई ‘अपहरण’ गरिएको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता १४ गते सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न प्रहरी परिसर काठमाडौं पुगे । परिसरले जाहेरी नलिएपछि पर्सिपल्ट मंगलबार भट्टराईलगायतका नेता त्यही मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालय गएका थिए ।
लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले बल प्रयोग गरिरहेका दृश्य तारन्तार सामाजिक सञ्जालमा आइरहेका बेला नारा लगाउनेहरू बबरमहल कसरी पुगे ? प्रहरीले तिनलाई किन कुनै कारबाही गरेन ? जब कि त्यस दिन लकडाउन उल्लंघन गरेकै कारण देशभर २ हजार ४ सय १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंबाट मात्रै १ हजार ९ सय ४८ जना पक्राउ परेका थिए । ५ सय ३७ सवारीसाधन नियन्त्रणमा लिइएको थियो ।
महोत्तरी सदरमुकाम जलेश्वरमा पनि मंगलबार साँझ त्यस्तै फरक दृश्य देखियो । आफ्ना नेता सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्ने विरुद्ध मुद्दा दायर गर्न नमानिएको उनका कार्यकर्ताहरु राके जुलुससहित सडकमा निस्किए ।
सार्वजनिक स्थानमा प्रदर्शित यी दुई दृश्यको पर्दाभित्र सरकारको नेतृत्व गरिरहेको दलभित्र हुर्किरहेको विवाद र राजनीतिक दाउपेचयुक्त खेल देखिन्छ । जब कि कोभिड–१९ सन्त्रासका कारण समाजमा अत्यास, भोक र भोलि के होला भन्ने द्विविधाग्रस्त मनोविज्ञान व्याप्त छ ।
विश्वव्यापी महामारी कोभिड–१९ संकटसँग जुध्न निरन्तर छलफल र संवादमा व्यस्त हुनुपर्ने सत्तासीन दलका मुख्य नेताहरु पार्टीभित्र हुर्कंदो अविश्वास र झिनाझप्टीको खेलमा सक्रिय देखिन्छन् । दृश्यमा प्रकट र अदृश्यमा जारी यस्तै खेल देखेर होला, अधिवक्ता वरुण घिमिरेले बुधबार व्यंग्यात्मक भावमा ट्वीट लेखे, ‘आज विश्व नृत्य दिवस रहेछ । नेताहरुको निर्लज्ज नृत्य हेर्ने दिन पनि परेछ ।’
जारी संकट टार्नुभन्दा पनि सत्ताभित्रको जारी संकटमा खेलेर आफ्नो भूमिका स्थापित गर्न सत्तासीन दलका मुख्य नेताहरु कुदिरहेका छन् । लकडाउनका बेला समाजमा विकसित घटना क्रमहरुको कसीमा राजनीतिक गतिविधिहरुलाई राखेर हेर्दा कस्तो देखिएला ?
विराटनगरमा ३१औं कोभिड–१९ संक्रमित फेला परेको एक दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्नेसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट पास गरेका थिए । जसलाई त्यही साँझ राष्ट्रपति भण्डारीले जारी गरिदिइन् । त्यसपछि सत्तारूढ दलभित्र सुरु भएको विवाद सतहमै देखियो भने पार्टीभित्रका विभिन्न गुटहरुको शक्तिसंघर्षको दौडधुप तीव्र भयो । खासगरी प्रधानमन्त्री निवास बालुवाटार, माधव नेपाल निवास कोटेश्वर, पुष्पकमल दाहाल निवास खुमलटार र वामदेव गौतम निवास भैंसेपाटीबीच नेताहरुको ओहोरदोहोरको शृंखला सुरु भयो ।
कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सक्रिय रहनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य र सत्तारूढ दलका शीर्ष नेता नै अध्यादेश जारीपछि सिर्जित विवादमा आफ्नो शक्ति–खेल देखाउन व्यस्त रहे । सरकार र सत्तारूढ दलका शीर्ष नेताबीच जारी संवाद र छलफलको केन्द्रमा राजनीतिक समीकरणको विषय आइपुग्यो । जारी लकडाउन, त्यसले समाजमा पारेको बहुआयामिक प्रभाव, जनताको अत्यास र डेरा छाडेर घर जानेको लर्कोको विषय बहसको केन्द्रबाट हुत्तियो ।
जस्तो कि, दल विभाजन अध्यादेश जारी गरिएकै दिन खाडीका साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतले त्यहाँ कार्यरत ७० हजार नेपालीलाई फिर्ता पठाउन कूटनीतिक दबाब दिएको खबर सार्वजनिक भएको थियो । यी तीन देशमा ६ लाख ८० हजारभन्दा धेरै नेपाली कार्यरत छन् । तीनै देशमा कोभिड–१९ को संक्रमण फैलिँदै जाँदा त्यहाँका नेपाली कार्यरत कम्पनीहरु धमाधम बन्द हँुदै छन् । जसको सोझो असर नेपाली कामदारमा पर्न थालिसकेको छ । तर यति गम्भीर विषय राजनीतिको केन्द्रमा अटाएन । दल विभाजनसम्बन्धी अध्यादेशले मन्त्रिपरिषद्मा प्राथमिकता पायो । त्यही दिन बाँकेको जमुनाह नाकामा एक सय ८१ नेपाली क्वारेन्टाइनमा १६ दिन बस्दासमेत घर जान नदिइएको भनेर गुनासो गरिरहेका थिए । यो विषय पनि सरकारको प्राथमिकतामा परेन ।
भोलिपल्ट ९ गते प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकमा अध्यादेश अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको दाबी गरे । उनले १० गते अध्यादेशमा केन्द्रित भई दिनभर नेकपा अध्यक्ष दाहालसहित प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका सांसदसँग भेट गरे र अध्यादेश ल्याउनुको कारण समयक्रममा प्रस्ट हँुदै जाने दाबी सुनाए । आफ्नै निर्णयमा तीन दिन टिक्न नसकेपछि अध्यादेश खारेज भयो । तर यसले सत्तारूढ दलभित्रको शक्तिसंघर्ष सतहमा मात्रै ल्याइदिएन, शीर्ष नेताको प्राथमिकता नै शक्तिसंघर्षमा केन्द्रित बनाइदियो ।
अध्यादेश जारी र खारेजका तीन दिनमा प्रधानमन्त्रीले आफूनिकट सांसद र मन्त्री र आफू पक्षीय नेतासँग शृंखलाबद्ध भेटघाट गरे । उनले कोभिड–१९ संक्रमण नियन्त्रणमा सरकारी संयन्त्रबाट भएका काम, नागरिकका गुनासो, अलपत्र यात्रुजस्ता गम्भीर विषयमा मुस्किलले सोच्ने फुर्सद पाए । यहीबीचमा समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र यादवलाई जनकपुर नै पुगेर नेकपा सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले ‘अपहरण’ गरेको भन्ने विषय केन्द्रमा आयो ।
अध्यादेश फिर्तापछि पनि सचिवालय बैठक बोलाउनुपर्ने दाहाल र नेपाल पक्षधरको माग र बैठक नडाक्ने प्रधानमन्त्री ओलीको अडानबीच कैयौं राजनीतिक छलफल कोटेश्वर, खुमलटार, भैंसेपाटी र बालुवाटारमा जारी छन् । ११ गते बिहान नेकपा अध्यक्षद्वय ओली र दाहालबीच अध्यादेशकै विषयमा केन्द्रित कुराकानी भएको थियो । दाहालसँगको भेटलगत्तै प्रम ओलीले वरिष्ठ नेता नेपालसँग यही विषयमा केन्द्रित भेट गरेका थिए । पार्टीभित्र आफूविरोधी मत कमजोर पार्न ओलीले गौतमसँग फोन संवाद गरेका थिए । त्यही साँझ भैंसेपाटीस्थित गौतम निवासमा दाहाल पक्षीय सचिवालय सदस्यको भेला भएको थियो । जसले प्रम ओलीले काम गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।
जब कि, त्यही दिन उदयपुर, सर्लाही र भोजपुरमा तीनमा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४८ पुगेको थियो । विश्व बैंकले कोभिड–१९ संकटका कारण रेमिट्यान्स १४ प्रतिशतले घट्ने आकलन सार्वजनिक गरेको थियो । विश्व बैंकको यस्तो आकलन ४५ लाखभन्दा धेरै नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर अर्थतन्त्रको टेको धानिरहेको र कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५ प्रतिशतभन्दा धेरै भएको देशका निम्ति बहसको केन्द्रीय विषय हुनुपर्ने थियो ।
राष्ट्रपतिबाट १२ गते साँझ अध्यादेश खारेज त भयो तर बिग्रिएको सत्ता समीकरणले आफ्नो ट्रयाक पक्रेन । त्यही दिन झापाका ६२ वर्षीय पुरुष संक्रमित भएको पुष्टि भयो । संक्रमितको बढोत्तरीले सरकारलाई छोएको देखिएन ।
१३ गते लकडाउनका कारण सीमावर्ती २२ जिल्लापारि भारतीय क्षेत्रमा २ हजार ३ सय १८ नेपाली अड्किएको खबर सार्वजनिक भएको थियो । साथै, काठमाडौंमा घरबेटीले निकालेपछि रामेछापका ६२ वर्षीय मिर्गौलापीडित काराबहादुर तामाङ र उनकी श्रीमतीको अस्पतालमै बास भएको प्रतिनिधि समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले भने त्यस दिन बिहान र दिउँसो अलग–अलग समयमा दाहाल, नेपाल र गौतमसँग अध्यादेश प्रकरणपछिको शक्तिसंघर्षबारे गफ गरेका थिए । नेकपाका शीर्ष नेताबीच काठमाडौंका विभिन्न ठाउँमा क्रस बैठकहरु पनि समानान्तर रूपमा चले ।
वीरगन्जमा दुई र झापाका एक जनामा संक्रमण पुिष्ट भएसँगै संक्रमितको संख्या ५२ पुगेका दिन १४ गते पनि शीर्ष नेतृत्वको छलफलमा शक्तिसंघर्षकै छलफल जारी थियो । त्यस दिन दिउँसो प्रम ओलीले आफू पक्षीय नेता बालुवाटार बोलाएर छलफल गरेका थिए । कोभिड–१९ संक्रमणसँग जुध्न कत्ति समय खेर नफाल्नुपर्ने समयमा भने बालुवाटारभित्र शक्तिसंघर्षमा कसरी जुध्ने भन्ने छलफल लम्बिएको थियो । जसका कारण २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे सरेको थियो ।
अध्यक्ष दाहाल पक्षीय नेताको खुमलटारमा र वरिष्ठ नेता नेपाल पक्षीय नेताको कोटेश्वरमा छुट्टाछुट्टै भेला दिनभर चलिरह्यो । दुवै भेलाले दुई दिनभित्र स्थायी कमिटी बैठक डाक्न नेतृत्वलाई अल्टिमेटम दिने निर्णय गरे । त्यही साँझ स्थायी कमिटी सदस्य शंकर पोखरेलले फेसबुकमा स्टाटस् लेखे, ‘आपसी कटाक्ष र टिप्पणी बन्द गरौं । मिले जितिन्छ, झैझगडाले नासिन्छ । गम्भीर बनौं ।’ जब कि गम्भीर बन्नुपर्ने विषय अरू नै थियो ।
१६ गते ३० हजार नेपाली श्रमिक कार्यरत बहराइनमा एकैपटक ७७ नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भयो । योसँगै बहराइनमा संक्रमित नेपाली श्रमिकको संख्या १ सय २६ पुग्यो । त्यही दिन रौतहटमा २ जना संक्रमित थपिएसँगै नेपालभित्रै संक्रमित हुनेको संख्या ५४ पुग्यो । तर यही दिन बिहान अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा आफ्नो राजनीतिक अडान नछाड्ने विषयमा छलफल भयो । प्रम ओलीले बालुवाटारमा आफूनिकट र केही पूर्वमाओवादी सांसदहरुसँग जारी संघर्षमा कसरी जित्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरे । त्यही दिन दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा अनियमितता भएको आशंकामा छापा मारेको थियो भने संक्रमणको हटस्पट रहेको उदयपुरमा ३ सय भीटीएम आवश्यक पर्नेमा १ सय ६० मात्रै पुगेको खबर सार्वजनिक भएको थियो । तर दिउँसो ओली र दाहालबीच बालुवाटारमा अध्यादेशपछि देखा परेको राजनीतिक संघर्षको विषयमा छलफल भइरहेको थियो । उक्त छलफललगत्तै प्रम ओलीले आफूनिकट नेकपाका सांसदसँग पार्टीभित्र जारी कलहबारे कुराकानी गरेका थिए ।
प्रम ओलीले समाजवादी पार्टी विभाजनको लक्ष्य राखेर ल्याएको अध्यादेशको ‘उल्टो असर’ समाजवादी र राष्ट्रिय जनता पार्टीको एकीकरण भयो । तर पार्टी विभाजन गर्ने प्रयासमा पटाक्षेप भएको सांसद ओसारपसारको बिद्रुप खेलपछिका सहायक दृश्यहरु भने सतहमा प्रकट भइराखे । प्रहरी परिसर काठमाडौंले अपहरणको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि पर्सिपल्ट पूर्वप्रधानमन्त्री भट्टराईसहितको टोली मुद्दा दर्ता गर्न बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुगेको थियो । त्यही बेला नेकपा समर्थित कार्यकर्ताको हुलले लकडाउन उल्लंघन गर्दै भट्टराईविरुद्ध नाराबाजी गरेको थियो । जसको प्रतिक्रियाजस्तो देखिने गरी सोही साँझ महोत्तरीमा सांसद सुरेन्द्र यादव निकटहरुले राँकेजुलुस निकाले । उता जुलुस निस्कँदै गर्दा भैंसेपाटीमा भने आगामी रणनीति बनाउन दाहाल र गौतमबीच छलफल चलिरहेको थियो ।
सीमावर्ती जिल्ला र सुदूरपश्चिममा कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको तथ्य सार्वजनिक भइरहेका बेला ती जिल्लामा संकटसँग जुध्न स्थानीय तह र प्रदेश सरकारसँग नियमित छलफल र संवादमा जुट्नुपर्ने बेला सांसदहरु जिल्लाबाट काठमाडौं आउने क्रम बुधबार पनि जारी देखियो । कति सांसद शीर्ष नेताले बोलाएर काठमाडौं हान्निएका छन् भने कतिपय राजनीतिक दाउपेचको आफ्नो भूमिका स्थापित गर्न आएका छन् ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख एवं राजनीतिकशास्त्री प्राध्यापक खड्ग केसी राजनीतिका पछिल्ला दृश्यहरुले सुन्न र देख्न नपरोस् भनेजस्तो अनुभूति हुने टिप्पणी गरे । उनले राजनीतिका नाममा गरिने कोठेबैठकमा के विषयमा छलफल भइरहेछ भन्ने यथार्थले हाम्रो राजनीतिको हैसियत जनाउने बताए । उनले भने, ‘हिजोआज भएका गुट–उपगुटका कोठेबैठकमा राष्ट्रिय हित, जनताको सुरक्षा, समृद्धि र खुसीका विषयमा छलफल केन्द्रित छ त ? कि प्रधानमन्त्रीले भनेजस्तो सुखी नेपाली समृद्ध नेपालको अभियानमा बहस भइरहेछ ?’ उनले यतिबेला कोभिड–१९ ले सिर्जित संकटका बाछिटा अर्थतन्त्रको भविष्य, रेमिट्यान्सको प्रवाह र हाम्रो स्वास्थ्य र शिक्षा नीतिजस्ता विषयमा कस्तो पर्छ भनेर दलहरुले थिंकट्यांकसँग निरन्तर छलफल र परामर्श गर्नुपर्ने बताए । उनले भने, ‘विश्वभर संकटसँग जुध्न के गर्न सकिन्छ भनेर सरकारले थिंकट्यांकहरु सक्रिय बनाएका छन् । तर हाम्रोमा गुटका कोठेबैठक चलिरहेका छन् । यो असाध्यै दुर्भाग्यपूर्ण छ ।’
प्राध्यापक केसीले राजनीतिको बहस र सामाजिक यर्थाथबीच गहिरो खाडल देखिएको उल्लेख गर्दै भने, ‘कोभिड–१९ संक्रमणका बहुआयामिक प्रभावसँग जुध्नुपर्ने बेला हाम्रो राजनीति निहीत स्वार्थको खेलमा अल्झियो ।’ केसीले टिप्पणी गरेजस्तै जारी संकटका कारण राजस्व संकलनमा ह्रास आएको, राहत, रोजगारी र आर्थिक गतिविधि सुरक्षित गर्न स्रोतसाधन जुटाउन खटनुपर्नेमा सरकारको ध्यान अन्तै मोडिएकामा धेरैको चिन्ता छ । यस्तै चिन्ताका कारण होला, पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले बुधबार ट्वीटरमा आक्रोशित हुँदै लेखे, ‘जनताको ढाड चढेर गरिने राजनीति बन्द गर ।’
