ट्रेसिङ तथा ट्रयाकिङका लागि टोली गठन

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न भन्दै विभिन्न स्थानीय निकायमा सहजीकरणका लागि टोली गठन गरिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ट्रेसिङ तथा ट्रयाकिङ बालियो बनाउन स्थानीय तहलाई परिचालन गर्न टोली गठन भएको बताए । जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, प्यारामेडिक्स वा नर्स गरी ३ सदस्यीय टोली बनाइएको छ । हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले उक्त टिम ट्रेसिङ तथा ट्रयाकिङका लागि परिचालन हुने मन्त्रालयले जनाएको छ ।

शुक्रबार नयाँ संक्रमित थपिएका छैनन् । हालसम्म कोरोना संक्रमितको संख्या ४८ छ जसमा १० जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

शुक्रबारसम्म नेपालमा आरडिटी विधिबाट ३८ हजार ८९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ४ सय ७ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ४७ हजार ४ सय ९६ वटा परीक्षणहरु भएका छन् । 

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८९ जना रहेका छन् । काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन् । क्‍वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully