दिनरात संक्रमितको हेरचाह

अघिपछि आफ्नै पाराको दिनचर्यामा रहेका स्वास्थ्यकर्मी कोभिड–१९ अस्पतालको जिम्मेवारीमा परेपछि कडा अनुशासनमा बाँधिएका छन्, न घर जान पाउँछन् न त अन्यत्र कतै आउजाउ गर्न

वैशाख १२, २०७७

माधव घिमिरे

विराटनगर — सातायता विराटनगरमा २९ जना स्वास्थ्यकर्मीको दिनचर्या फेरिएको छ । सामान्य दिनमा जस्तो बिहान–बेलुका परिवारका साथ समय बिताउने र अरू बेला बिरामीको जाँच गर्ने गरिरहेका उनीहरू एकै ठाउँ केन्द्रित छन् ।

न बाहिर जान पाइन्छ, न त परिवार र अरूसँग भेटघाट गर्न । निकै कडा अनुशासन, अलिअलि त्रास अनि बिरामी निको बनाऊन् भन्ने चाहना र कामना गर्नेहरुको आस पनि उनीहरु नै बनिरहेका छन् ।

विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा खटिएका चिकित्सक–स्वास्थ्यकर्मीको दैनिकी यस्तै छ । ५ जना चिकित्सक, ८ जना नर्स, ८ स्वास्थ्यकर्मी र ४ जना कार्यालय सहयोगी शुक्रबारयता त्यही केन्द्रभित्रै सीमित छन् । उदयपुरबाट ल्याइएका संक्रमितहरुको उपचारमा रातदिन खटिएका छन् । चार समूह बनाएर ६/६ घण्टाका दरले स्वास्थ्यकर्मीले संक्रमितहरुको रेखदेख गर्दै आएका छन् ।

डाक्टरहरू त्रिनेत्र कर्ण, प्रमोद साह, भूपेशमान राजभण्डारी, हरि खनाललगायत ८ जना चिकित्सक २/२ को नेतृत्वमा अरू स्वास्थ्यकर्मीसमेत गरी चारवटा समूह बनाएर रेखदेखमा खटिएका हुन् । एउटा समूहमा दुई जना नर्स, दुई स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी छन् । यी सबै जनाको नेतृत्व गर्दै नियमित परीक्षण, उपचार र रेखदेखको समन्वय गर्दै छन् डा. दीपक सिग्देल । कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार समूह बनाई समय तालिका मिलाएर संक्रमितहरुको हेरचाह भइरहेको छ ।

बिहान ८ बजे आएको चिकित्सक टोली दिउँसो २ बजेसम्म बस्छ । २ बजेदेखि राति ८ बजेसम्म, ८ बजेदेखि राति २ बजेसम्म र २ बजेदेखि बिहान ८ बजेसम्म गरी चार समूह सक्रिय भइरहन्छन् । सात जनाको समूहमध्ये दुई जना पीपीई लगाएर अस्पतालभित्र प्रवेश गर्छन् । उनीहरु ६ घण्टासम्म अन्न, पानी केही नखाई हेरचाहमा लाग्छन् । केही सहयोग आवश्यक भए सम्पर्कका लागि अस्पतालकै बेग्लै मोबाइल फोन दिइएको छ ।

त्यही मोबाइलबाट फोन गरेर आवश्यक सामग्री र सहयोग माग्ने गरेको डा. मिश्रले बताइन् । बाँकी पाँच जना अस्पताल परिसरमा बनाइएको टेन्टमा बसेर उपचार र हेरचाहको व्यवस्थित प्रबन्धका लागि छलफल गर्छन् ।

‘६ घण्टापछि टोली इस्टर्न स्टार होटलमा क्वारेन्टाइनमा बस्न जाने गरेको छ,’ नर्सिङ स्टाफ इन्चार्ज अञ्जुला कार्की भनिन्, ‘सात दिन ड्युटी गरेपछि थप १४ दिनसम्म त्यही होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ, त्यसपछि अर्को टोली आउनेछ ।’

संक्रमितको संख्या बढेसँगै ड्युटीमा खटिनेहरुमा केही तनाव देखिए पनि प्रतिबद्ध भएर काम गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ 

टोलीको नेतृत्व गरेका डा. सिग्देलले अस्पतालमा परिचालित टोलीलाई आवश्यक सल्लाह र सहयोग गरिरहेको बताए । अस्पतालभित्र खटिने दुई जनाले सीसीटीभीबाट निगरानीसमेत गर्ने गरेका छन् । आपसमा समेत दूरी कायम गरेर हेरचाह गर्दै आएको सिग्देलले बताए । संक्रमितको उपचारमा खटिँदा तनाव हुनु स्वाभाविक भए पनि सबैले इमानदारीपूर्वक सेवाभावले काम गरिरहेको उनको भनाइ छ ।

सर्लाही घर भई कोसी अस्पतालमा कार्यरत डा. त्रिनेत्र कर्णले मेडिकल अध्ययन गरेकाले महामारीको बेला पेसागत मर्यादा बढाउने उद्देश्यले जिम्मेवारी निर्बाह गरिरहेको बताए । ‘संसारभरि महामारीका रूपमा फैलिएका बेला कोरोना भाइरसविरुद्धको अग्रमोर्चामा खटिएपछि तनाव हुनु स्वाभाविक हो,’ उनले भने, ‘पेसा अँगालेपछि धर्म निर्बाह गर्नैपर्ने दायित्व इमानदारीसाथ निर्बाह गरिरहेको छु ।’ लकडाउन अघिदेखि नै परिवारका सदस्यसँग उनले भेट्न पाएका छैनन् । उनका परिवार सबै सर्लाहीमै बस्छन् । फोनबाट परिवारका सदस्यसँग नियमित सम्पर्क भइरहेको उनले बताए ।

स्टाफ नर्स अस्मिता कोइराला पनि जागिर मात्रै भन्दा सेवाभावले काम गरिरहेको बताउँछिन् । ‘प्राप्त जिम्मेवारी पेसागत मर्यादा उच्च बनाउने गरी इमानदारीसाथ निर्बाह गरिरहेका छौं,’ उनले भनिन्, ‘भित्र संक्रमितहरुसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न जाने दुई जनाको टोलीमा एक जना नर्स अनिवार्य रहेकाले पनि इमानदारीपूर्वक जिम्मेवारी निर्बाह गर्नुपर्ने दायित्व छ ।’ उनले अग्रमोर्चामा खटिँदा परिवारका सदस्यहरुलाई पनि तनाव नहुने कुरै भएन तर फोन सम्पर्क गरेर हौसला बढाइरहेकाले समस्या नभएको बताइन् ।

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलगायत सहयोगी कर्मचारीमा संक्रमण देखिए नि:शुल्क उपचार, १ करोड बराबरको बिमा, शतप्रतिशत भत्ताका साथै मृत्यु भएको अवस्थामा प्रदेश र संघीय सरकारले क्षतिपूर्ति दिने घोषणा गरेकाले पनि उनीहरुलाई हौसला मिलेको कार्कीले बताइन् । प्रदेश सरकारले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सहयोगी कर्मचारीको मृत्यु भएको खण्डमा ५० लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कोरोना भाइरसबाट विश्व आक्रान्त भएको बेला सबभन्दा अगाडिको मोर्चामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी छन् । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको संक्रमणले नेपालमा कोरोना भाइरस तेस्रो चरणमा प्रवेश गरी समुदायमा विस्तार भएको छ ।

भुल्केस्थित नूरी मस्जिदमा बसेका १२ जना भारतीय र चार जना विराटनगर–१७ का बासिन्दामा देखिएको कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको हो । मुलुकभरमा ४६ जना संक्रमित देखिएकामध्ये भुल्केका मात्रै २८ जना छन् । उनीहरुलाई विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको छ ।

प्रदेश सरकारले नेसनल ट्रेडिङको भवनलाई १० शय्या भेन्टिलेटरसहित ७० शय्याको कोभिड–१९ उपचार केन्द्र बनाएर कोसी अस्पताललाई सञ्चालनको जिम्मेवारी दिएको हो । त्यहाँ ५ वटामात्र भेन्टिलेटर भएकाले थपका लागि पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भेन्टिलेटरको संख्या १० पुर्‍याउने तयारी भइरहेको बताएका छन् ।

माधव

Link copied successfully