लिग अब पूरा गर्नै पर्ने

वैशाख १२, २०७७

एजेन्सी

पेरिस — विशेषत: लिभरपुल समर्थकका लागि खुसीको समाचार । कुनै ठूलो अकल्पनीय घटना बाहेक अर्को परिस्थितिमा लिभरपुलले यस सिजनको इंग्लिस प्रिमियर लिग जित्ने तय भएको छ । लिभरपुल ३० वर्षयता पहिलो पल्ट लिग जित्ने संघारमा छ, तर कोरोना भाइरस संक्रमण महामारीका कारण लिग नै पूरा नहुने र यसलाई बिना निर्णय टुंग्याउन सक्ने डर थियो ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाइरस संक्रमणको महामारीका कारण घरेलु लिगलाई चाँडै सकाउने विकल्पलाई खुला गरेपछि अब नयाँ स्थिति तयार भएको हो । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग खेल्ने टिमको छनोटका लागि भने उपयुक्त आधार हुनु पर्ने पनि उसले भनेको छ ।


यूईएफएका कार्यकारी सदस्य र केही प्रमुख देशका फुटबल पदाधिकारीबीच बिहीबार भएको भिडियो कन्फ्रेन्सपछि यो निर्णय बाहिर आएको हो । संक्रमण हुन नदिन चलिरहेको लकडाउनका कारण युरोपमा फुटबल सिजन पूरा गर्ने अवसर झन झन कमजोर भइरहेको स्थितिमा यो निर्णय आवश्यक भएको हो ।

यूईएफएले भनेको छ, पूर्व निर्धारित कार्यक्रम अनुसार नै लिग पूरा हुन सके, सबैभन्दा उत्तम विकल्प त्यही हो । तर यो अवस्था रहेन भने अन्य विकल्प पनि खोज्नु पर्ने हुन्छ र फरक ढाँचाले लिग पूरा गर्नु पर्ने हुन्छ । यसको अर्थ अब कुनै न कुनै मोडमा प्ले अफको नियम लागू हुन सक्छ ।

यूईएफएले प्रस्ट पारेको छ, ‘कुनै ठोस कारण देखाएर लिग पूर्व निर्धारित कार्यक्रम भन्दा फरक ढंगले पूरा गर्नु पर्‍यो भने अबको सिजनका लागि युरोपमा हुने प्रतियोगिता खेल्ने टिमको छनोट खेल भावना र प्रदर्शनकै आधारमा हुनु पर्छ ।’ यो निर्णयपछि अब युरोपमा लिग विना निर्णय सकिने सम्भावना समाप्त भएको छ ।

त्यसको स्थानमा युरोपका फुटबल संघले आफ्नो देशको लिग फेरि सुरु गर्नु पर्नेछ । अथवा यस्तो गर्न सकिएन भने अहिले तत्काल लिगको जुन स्थिति छ, त्यसैलाई अन्तिम मान्नु पर्नेछ । अघिल्लो साता मात्र डच फुटबल संघले त्यहाँको लिग सकेको घोषणा गर्ने निर्णय गरेको थियो । अब यही निर्णय अनुसार आयाक्स लिग च्याम्पियन हुनेछ ।

एजेन्सी

Link copied successfully