भारत र दुबईबाट फर्किएकाबाट भुल्केमा संक्रमण फैलिएको प्रदेश सरकारको दाबी- समाचार - कान्तिपुर समाचार

भारत र दुबईबाट फर्किएकाबाट भुल्केमा संक्रमण फैलिएको प्रदेश सरकारको दाबी

भारत र तेस्रो मुलुकबाट आएकाबाट प्रदेशमा थप संक्रमणको जोखिम
देवनारायण साह

(मोरङ) — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट रोजगारीका लागि भारतको गुजरातस्थित सुरत र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएर फर्केका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारले सुरुमा भुल्केको नुरी मस्जिदमा बसेका १२ जना भारतीय जमातीबाटै संक्रमण फैलिएको आशंका गरेको थियो । तर कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा दुबई र भारतको सुरतबाट फर्केका युवकबाट संक्रमण फैलिएको प्रदेश सरकारले निष्कर्ष निकालेको छ ।

भारत र दुबईबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको निष्कर्ष निकालेको प्रदेश सरकारले यस अबधीमा भारत र तेस्रो मुलुकबाट आएकाको अवस्था बारे भने गम्भिर देखिएको छैन । फागुन २५ गते यता यस प्रदेशमा प्रवेश गर्नेहरुको सीमा नाकामा गरेको स्वास्थ्य परीक्षणको तथ्यांक अनुसार भारत र तेस्रो मुलुकमा बस्दै आएका २ लाख ५ हजार ७ सय ८५ जना यस प्रदेशमा फर्केर आएको प्रदेश १ प्रहरीले जनाएको छ ।

भुल्केमा संक्रमण फैलाएका दुई युवा मात्रै संक्रमित भएर आएका थिए की अन्य व्यक्तिमा पनि संक्रमण छ भन्ने बारे सरकार मौन छ । यसले प्रदेशभर नै संक्रमणको जोखिम बढाएको चिकित्सकहरुको भनाइ छ ।

कोशी अस्पतालका डा. दिपक सिग्देलले भारत र दुबईबाट आएकाबाट संक्रमण फैलिएकाले यो अबधीमा भारत र तेस्रो मुलुकबाट आउने सबैको ट्रेसिङ गरी स्वाब परीक्षण गर्नु आवश्यक रहेको बताए । ‘कोरोना भाइरस संक्रमित भएकामध्ये ८० प्रतिशतमा कुनैपनि लक्षण नदेखिने हुँदा हामी सबै जोखिममा छौं,’ उनले भने, ‘विदेशबाट आएका व्यक्तिहरुको परीक्षणमा जति ढिलाई हुन्छ त्यति बढी जोखिम बढ्दै जान्छ ।’

भुल्केमा कन्ट्याक्ट ट्रेसिङ गरी गरिएको घाँटीको स्वाबको नमूना परीक्षणमा सुरत र दुबईबाट आएका युवामा कोरोना भाइरसको घनत्व अत्यधिक भएकाले उनीहरु बाटै संक्रमण फैलिएको निष्कर्ष निकालेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनीहरु कहिले र कसरी आएको भन्ने बारे विवरण सार्वजनिक गरिएको छैन ।

ती दुईजनाबाट भुल्केमा बस्दै आएका १२ भारतीय, विराटनगर–१७ का चार जना र उदयपुरकै १२ जना स्थानीय गरी हालसम्ममा २८ जना संक्रमित भइसकेका छन् । संक्रमितको संख्यामा प्रत्येक दिन वृद्धि भइरहेको छ ।

संक्रमितहरुलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा. सिग्देलको भनाई छ ।

मन्त्री घिमिरेले लकडाउन हुनु दुई साता अघिसम्म र लकडाउन पश्चात भारत र तेस्रो मुलुकबाट आएका ५ हजार जनालाई क्वारेन्टाइनमा राखिएकाले खासै जोखिम नभएको दाबी गरे । ‘लकडाउन हुनु दुई साता अघि र लकडाउन पश्चात भारत र तेस्रो मुलुकबाट आउने त्यही क्वारेन्टाइनमा बस्नेहरु हुन्,’ उनले भने, ‘तिनीहरु हाम्रै निगरानीमा भएकाले आत्तिनु पर्ने अवस्था छैन ।’

प्रदेश १ प्रहरीका प्रवक्ता सुमनकुमार तिम्सिनाले प्रदेशस्थित विभिन्न क्वारेन्टाइनमा लकडाउन हुनु अघि २ सय ३६ र लकडाउन पश्चात १ हजार २८ जनालाई मात्रै राखिएको बताए । तथ्यांकमा समेत एकरुपता नभएकाले यस प्रदेशमा संक्रमणको जोखिम अत्यधिक बढेको डा. सिग्देलले बताए ।

मन्त्री घिमिरेले भुल्केबाट कोरोना भाइरसको संक्रमण अन्य पालिका र जिल्लामा फैलिन नदिन र भारत तथा तेस्रो मुलुकबाट आएका सबैको घाँटीको स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमता सरकारसँग नभएको बताए । उनले त्यसैले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भएकाहरुको मात्रै स्वाब परीक्षण भइरहेकाले स्वाब परीक्षणको दायरा बढाउनका लागि संघीय सरकारसँग माग गरेको बताए ।

प्रकाशित : वैशाख ११, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

मस्जिदमा नमाज पढ्नेको र्‍यापिड टेस्ट, रिपोर्ट नेगेटिभ

२० को स्वाब परीक्षण
विनोद भण्डारी

विराटनगर — उदयपुरको भुल्केस्थित नुर मस्जिदमा फेला परेका १२ जना कोरोना संक्रमित नेपाल प्रवेश गरेलगत्तै बसेको रानी मकरज मस्जिदमा नमाज पढ्ने ९६ जनाको बिहीबार र्‍यापिट टेस्ट गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको छ । तीमध्ये २० जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरु डिसेम्बर ११ मा नयाँ दिल्लीबाट जोगबनी नाका हुँदै विराटनगर आएर उक्त मस्जिदमा जनवरी १५ सम्म बसेको मकरज र मस्जिदका सचिव मोहमद इल्सादले बताए । हाल उनीहरुको कोभिड १९ अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ । मकरजको मस्जिदमा जुमा नमाज र दैनिक ५ पटक नमाज पढ्ने ९६ जना थिए । इल्सादले भने उनीहरु सबैको र्‍यापिट टेस्टमा नेगेटिभ देखा परेको हो । उनका अनुसार त्यसमध्ये २० जनाको स्वाब पनि परीक्षण गरिएको छ ।

विराटनगर महानगरपालिकाले मस्जिदमै स्वास्थ्यकर्मी लगेर उनीहरुको स्वाब र र्‍यापिट परीक्षण गराएको हो । महानगर प्रमुख भीम पराजुलीका अनुसार मस्जिदका मकरज समितिसँग समूहमा नमाज नपढ्न र घरमै नमाज पढ्ने सहमति भएको छ । मोरङमा ८९ वटा मस्जिद छन् । त्यसमध्ये विराटनगरमा २५ मस्जिद र १७ वटा मदरसा छन् ।

कोरोना संक्रमित १२ जना विराटनगर प्रवेश गरेलगत्तै विराटनगर १५ रानी मकरजको मदरसामा डिसेम्बर ११ देखि जनवरी १५ सम्म बसेका थिए । मकरज सचिव इस्लाहले भने १२० दिने नेपाल भ्रमणमा आएका उनीहरु विराटनगरबाट सुनसरी, सप्तरी, सिरहा हुँदै उदयपुर पुगेका थिए । उनका अनुसार उनीहरु अप्रिल १४ मा दिल्ली फर्कने तयारी थियो ।

प्रकाशित : वैशाख ११, २०७७ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×