सनसिटीमा बस्‍ने २ जना पनि घर फर्किएसँगै काठमाडौंमा उपचाररत सबैजना डिस्चार्ज

वैशाख ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरुलाई वैशाख दुई गते कोरोना पुष्टि भएको थियो । यससँगै पछिल्लो समय काठमाडौं उपत्यकामा उपचाररत चारैजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित निको हुनेको संख्या ९ जना पुगेको जानकारी दिएको छ । बिहीबार नियमित पत्रकारसम्मेलनमा कुल संक्रमितको संख्या ४७ पुग्दा दुईजना निको भएर घर फर्किएका हुन् । निको भएर घर फर्किने ९ जनामध्ये ५ जना काठमाडौँमा उपचाररत थिए । नेपालका पहिलो संक्रमित पनि काठमाडौंमा उपचार गरेर निको भएर फर्किएका हुन् ।

त्यसैगरी वैशाख ६ गते नेपालको दोस्रो कोरोना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएकी थिइन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी ती १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् । उनी चैत ४ गते  कतारको दोहा हुँदै नेपाल आएकी थिइन् ।

तेस्रो संक्रमित पनि बुधबार निको भएर फर्किएका छन् । धादिङका ३२ वर्षीय युवामा  १२ चैतमा कोरोना पुष्टि भएको थियो । उनले पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचाररत थिए । माघ १० गते कोरोना पुष्टि भएका नेपालको पहिलो संक्रमित ३२ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।

उदयपुरमा संक्रमण देखिएका २८ जनाको काेशी अस्पतालमा, कैलालीकाे सेती अस्पतालमा २, पर्सामा नारायणी अस्पतालमा ४, बागलुङकाे बागलुंग अस्पतालमा १, भरतपुरको भरतपुर अस्पतालमा २ तथा धनुषामा एकजना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully