थप तीन जनामा संक्रमण पुष्टि, राजधानीका अस्पतालमा भर्ना भएका सबै संक्रमित निको भए
काठमाडौँ — र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजिटिभ’ र पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखिए पनि पुन: परीक्षण गर्न विज्ञहरुले सुझाएका छन् ।
यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको पनि पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । यसले संक्रमणको वास्तविक स्थिति पहिचानसँगै नियन्त्रणको प्रयासमा समेत थप बल पुग्नेछ ।
‘आरडीटीमा पोजिटिभ र पीसीआरमा रिपोर्ट नेगेटिभ आए पनि ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा भन्छन्, ‘यदि उनी हाल संक्रमण निको भएको अवस्थामा छन् भने पनि विगतमा उनको सम्पर्कमा आएकाहरुको खोजीसँगै पहिचान फैलावट नियन्त्रण गर्न अत्यन्त आवश्यक हुन्छ ।’
मुलुक अझै जटिल स्थितिमा नगएको औंल्याउँदै जनस्वास्थ्यविद् दुर्गा खड्का मिश्रले समेत थप सतर्कताका लागि थप परीक्षण जरुरी रहेकोमा जोड दिइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रले समेत यसमा सहमति जनाए । आरडीटीमा पोजिटिभ देखिएकाहरुको पीसीआर परीक्षणमा नेगेटिभ आएमा ‘ती व्यक्तिबाट संक्रमण नहुने’ सोच राखे पनि कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमण फैलिन सक्ने सम्भाव्यताबारे संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल केन्द्रीय कारागारका दुई जना स्वास्थ्यकर्मीको आरडीटी पोजिटिभ र पीसीआर परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । ‘ती दुवै स्वास्थ्यकर्मीमा पहिले संक्रमण भएको र हाल स्वस्थ रहेको हो भने उनीहरुमा कोबाट र उनीहरुबाट कसलाई सर्यो भन्ने जान्नु धेरै महत्त्वपूर्ण हुन्छ,’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘थप यकिन हुन हाल जेलमा भएका सबै नयाँ कैदीको पीसीआर गर्नुपर्ने भएको छ ।’
विज्ञहरुले दुवै स्वास्थ्यकर्मी र कारागारका कैदीबन्दीको समेत पीसीआर परीक्षण गर्न सुझाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे यसो गर्न सकेमा ढुक्क भइने बताउँछन् । आरडीटीको विश्वसनियता कम रहेको औंल्याउँदै इडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘आरडीटी भरपर्दो देखिएको छैन, भारतले समेत केही दिन प्रयोग रोकेको छ । यसमा फल्स पोजिटिभ र फल्स नेगेटिभ धेरै देखिएको छ ।’
हाल सरकारले आरडीटीलाई व्यापक रूपमा प्रयोग गरिरहेको छ । समुदायस्तरमा संक्रमण देखिइएकोले अब पीसीआर परीक्षणमा जोड दिनुपर्ने बताउँछन् डा. मरासिनी । आरडीटी र पीसीआर दुवै परीक्षणमा ‘नेगेटिभ’ देखिए कोभिड–१९ संक्रमण नरहेको बुझनुपर्ने औल्याउँदै डा. मिश्रले भने, ‘आरडीटीबाट पोजिटिभ र पीसीआरबाट नेगेटिभ देखिए पहिले ती व्यक्तिलाई संक्रमण भएको र हाल निको भएको बुझनुपर्छ ।’ उनका अनुसार दुवै परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिमा सक्रिय संक्रमण रहेको ठानिन्छ । यस्ता व्यक्तिमा भाइरस विस्तारै कम हुने स्थितिमा हुन सक्छ तर ती व्यक्तिले संक्रमणको विस्तार गर्नमा मुख्य भूमिका खेल्ने गरेका छन् । यति मात्र नभई पीसीआरमा पोजिटिभ र आरडीटीमा बारम्बार नेगेटिभ देखिने व्यक्तिमा भाइरसविरुद्घ एन्टिबडी (रोग प्रतिरोधक क्षमता) बन्न नसकेको बुझ्नुपर्छ ।
राजधानीका अस्पतालका सबै संक्रमित निको
राजधानीका अस्पतालमा हाल कोभिड–१९ का बिरामी भर्ना छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले करिब एक महिनापछि राजधानीका अस्पतालमा प्रयोगशालामा प्रमाणित कोभिड–१९ का बिरामी भर्ना नरहेको बताए ।
पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाकी ८१ वर्षीया महिला र ६८ वर्षीय पुरुष बिहीबार डिस्चार्ज भएपछि राजधानीका अस्पताल एक महिनापछि कोभिड–१९ बिरामीविहीन भएका हुन् । यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुुई जना संक्रमित डिस्चार्ज भएका थिए ।
टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले हाल अस्पतालमा संक्रमित बिरामी नरहेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रणतिर लागेको बताए । टेकु अस्पतालमा हालसम्म ३ र पाटनमा २ गरी राजधानीमा ५ जना कोभिड–१९ संक्रमितले उपचार पाएका छन् ।
तीन संक्रमित थपिए
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसँगै हाल मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ४८ पुगेको छ । यसमध्ये १० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बिहीबार पाटन अस्पतालबाट पेप्सीकोलाका संक्रमित आमाछोरा तथा सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला स्वस्थ भएर घर फर्केका छन् । उपचाररत अन्य संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरबाट संकलित स्वाबको नमुना परीक्षणमा एक जना ५५ वर्षीय पुरुष र जनकपुरबाट संकलन गरिएको नमुना परीक्षणमा एक जना १४ वर्षीय किशोरमा कोभिड–१९ को संक्रमण पाइएको हो । बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भोजपुरका एक २६ वर्षीय पुरुषको समेत पीसीआर परीक्षण रिपोर्ट ‘पोजिटिभ’ आएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
बिहीबार १ सय ८८ नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म मुलुकभर ९ हजार १ सय ९९ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३ आरडीटी परीक्षण गरिएको छ । हालसम्म देशभर ३४ हजार ५ सय २३ आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार मुलुकभर १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा ४ र उपत्यकाबाहिर ८२ गरी जम्मा ८६ जना आइसोलेसनमा छन् ।
यूएनएफपीएले बिहीबार १२ सय सेट पीपीई, ३ सय जोडी गमबुट र ३६ सय बोतल सेनिटाइजर सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
