काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का नेकपाका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रदेश अनुसार फरक-फरक समयमा सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेको एक सांसदले जानकारी दिए ।
बुधबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीले सांसदहरूसँग छलफल थालेका हुन् । छलफलमा प्रधानमन्त्रीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् । भर्खरै जारी अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोनाविरुद्ध अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल हुने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
अहिले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । दिउँसो १ बजेका लागि राष्ट्रिय सभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाइएको छ भने ४ बजे प्रदेश ५ का सांसदहरूलाई बोलाइएको सांसदहरूले जानकारी दिएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपामा विवाद ल्याएको र बजेट अधिवेशन बोलाउने बेला भएको अवस्थामा प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
