आरडीटीमा नेगेटिभ, पीसीआरमा पोजिटिभ

‘आरडीटीभन्दा पीसीआरमा भर पर्न सुझाव’पीसीआरको परीक्षण संख्या बढाउन ‘पुल’, नमुना परीक्षण आवश्यक

वैशाख १०, २०७७

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को संक्रमण भई उपचाररत २१ जनामध्ये २० जनाको प्रारम्भिक आरडीटी जाँचको नतिजा नेगेटिभ देखिएपछि विशेषज्ञहरूले किटको विश्वसनीयता र गुणस्तरमा चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार दिउँसो ४ बजेसम्म सरकारद्वारा घोषित कुल ४१ संक्रमितमध्ये १० को प्रारम्भिक परीक्षण आरडीटी नगरी पीसीआरबाट गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मुलुकमा ८ हजार ७ सय ६३ नमुनाको पीसीआर र २७ हजार ९ सय ५६ नमुनाको आरडीटीबाट परीक्षण गरिएको छ ।

कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले त्यहाँ रहेका १३ जना संक्रमितको आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएकामा पछि पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको बताइन । ती १३ जनाको आरडीटी नेगेटिभ देखिए पनि द्रुत परीक्षण गरिएकामध्ये १० प्रतिशतको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको उनले बताइन् ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार हाल त्यहाँ रहेका चार जना संक्रमितको आरडीटी परीक्षणमा सबैको नतिजा पोजिटिभ देखिएको थियो । ‘आरडीटी नतिजा अत्यन्त शंकास्पद छ,’ डा.उपाध्याय भन्छन्, ‘हामीले चारै जनाको आरडीटी गर्दा नेगेटिभ आयो । घाँटीको र्‍यालको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।’ मुलुकमा कोभिड–१९ को पोजिटिभ केस देखिएको ठाउँमा संक्रमणको वास्तविक स्थिति जान्न व्यापक अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता उनी औंल्याउँछन । तर यस्तो वास्तविक स्थिति जान्न गरिने अध्ययन, अनुसन्धान पीसीआर परीक्षणको दायरा बढाएर हुनुपर्ने पनि उनको भनाइ छ । आरडीटीभन्दा पनि पीसीआरमै भर पर्नुपर्ने उनको सुझाव छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार त्यहाँ रहेका बेलायतबाट आएका दुई जना संक्रमितलाई पहिले आरडीटीबाट जाँच गर्दा महिलालाई मात्र पोजिटिभ र अर्का व्यक्तिमा नेगेटिभ देखिएको थियो । पछि दुवै जनाको पीसीआर परीक्षण गर्दा रिपोर्टमा संक्रमण पोजिटिभ देखियो ।

पाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विष्णप्रसाद शर्माका अनुसार त्यहाँ भर्ना रहेका ८१ वर्षीया आमा र उनका छोरालाई पहिले आरडीटीबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । पछि पीसीआरबाट जाँच गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो ।

सेती अञ्चल अस्पतालमा भएका पाँच जना संक्रमितको एकैपटक पीसीआर परीक्षण गरिँदा पोजिटिभ देखिएको डा.शेरबहादुर कमर बताउँछन् । त्यहाँ पहिले आरडीटी परीक्षण गरिएको थिएन ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म आएका तीन जना संक्रमितको पहिचान पीसीआर विधिबाट गरिएको औंल्याउँदै निर्देशक डा.सागरकुमार राजभण्डारीले भने, ‘रोग पहिचानका लागि आरडीटीभन्दा पीसीआर नै ठीक छ, यसैमा भर पर्नु आवश्यक हुन्छ ।’ आरडीटीले पोजिटिभ वा नेगेटिभ जे देखाए पनि अन्तिम निक्र्यौलका लागि पीसीआर नै गर्नुपर्ने उनले बताए ।

‘हामीले सकेसम्म सबैजसो शंकास्पद केसको परीक्षण पीसीआरबाटै गर्नुपर्छ,’ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागका प्रमुख डा.नारायणराज भट्टराई भन्छन्, ‘अझ पीसीआरमा पुल टेस्टिङ विधि अपनाउँदा १० वटा नमुना परीक्षण गर्न लाग्ने खर्चमा ५० वटा नमुना परीक्षण गर्न सकिन्छ ।’

जनस्वास्थ्यविद्समेत रहेकी डा.मिश्र कम खर्चमै पीसीआरको परीक्षणको संख्या बढाउन ‘पुल’ र नमुना परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँछिन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एन्टिजेन वा एन्टिबडीमा आधारित कुनै पनि द्रुत परीक्षण किटलाई बिरामीमा कोभिड–१९ रोग पहिचान र उपचार गर्न मान्यता नदिएको औंल्याउँदै बीपी प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्राडा.सञ्जीवकुमार शर्मा पीसीआरमै बढी भर पर्नुपर्ने बताउँछन् ।

वीरगन्ज र उदयपुरमा ३ सय २१ जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन

स्वास्थ्य मन्त्रालयले गत साता पत्ता लागेका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा वीरगन्जमा २ सय २१ जनाको पीसीआर परीक्षणका लागि घाँटीको र्‍यालको नमुना संकलन गरेको छ । यस्तै उदयपुरमा समेत थप एक सय जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा मंगलबार तीन सय तेत्तीस जनाको र हालसम्म मुलुकमा ८ हजार ७ सय ६३ नमुनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाइग्नोस्टिक टेस्टअन्तर्गत २४ घण्टामा २ हजार ८ सय ८ परीक्षण गरिएको छ भने हालसम्म आरडीटीबाट २७ हजार ९ सय ५६ परीक्षण भइसकेको छ ।

आरडीटीबाट प्रदेश १ मा २ हजार ६ सय २०, प्रदेश २ मा ३ हजार ५ सय ९८, वाग्मती प्रदेशमा ५ हजार १ सय ५७ र गण्डकी प्रदेशमा ४ हजार १ सय ८३ परीक्षण गरिएको छ । यस्तै प्रदेश ५ मा २ हजार ४ सय ८३, कर्णालीमा ३ हजार ७ सय ३८ र सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार १ सय ७७ वटा नमुनाको आरडीटी परीक्षण गरिएको छ ।

हाल मुलुकमा ७ हजार ६७ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ जना गरी जम्मा १ सय ७ जना आइसोलेसनमा छन् ।

हाल स्वास्थ्य मन्त्रालयले उदयपुर र वीरगन्जमा केही संख्यामा संक्रमित भेटिएपछि ट्रयाकिङ, टेस्टिङ गर्न टोलीसमेत परिचालन गरेको छ ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully