नवलपरासी — कावासोतीको क्वारेन्टाइनबाट भागेका ३ जनालाई पक्राउ गरिएको छ । कुमारी निजी शैक्षिक गुठीको क्वारेन्टाइनबाट मंगलबार बिहान भागेका ३ जनालाई राति २ बजे कोइलापानीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई बुधबार बिहान पुनः क्वारेन्टाइनमा राखिएको छ ।
प्रहरीको निगरानीमा रहेको क्वारेनटाइनबाट भागेपछि उनीहरुको स्थानीय र प्रहरी मिलेर खोजतलास सुरु गरेको थियो । ३ जनामध्ये १ जना भारतको लुधियानाबाट गत आइतबार कावासोती नगरपालिका वडा नम्बर १ कोइलापानीमा रहेको आफ्नो घरमा आएका थिए । उनीसँगै घुलमिल गरेका अन्य २ जनासहित उनलाई घरपरिवारको सल्लाहमा क्वारेन्टाइनमा राखिएको थियो ।
कावासोती नवलपालिका वडा नम्बर ३ मा रहेको कुमारी निजी शैक्षिक गुठीको क्वारेन्टाइनबाट उनीहरु मंगलबार एकाएक फरार भएका थिए । उनीहरुलाई प्रहरीको निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
