तीन दिनमा १ हजार ५ सय ७१ जना आए
रोल्पा — काठमाडौंलगायतका विभिन्न ठाउँका इँटा उद्योगबाट घर फर्किएका मजदुरलाई रोल्पाका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भएका छन् । घर फर्किएका सबैलाई कम्तीमा दुई सातासम्म अनिवार्य क्वारेन्टाइनमा राख्न सबै वडा भित्रका विद्यालयलाई क्वारेन्टाइन स्थलमा रुपान्तरण गरिएको छ ।
तीन दिनयता करिब दुई दर्जन गाडीबाट रोल्पामा करिब १ हजार ५ सय मजदुर फर्किएका हुन् । दक्षिण रोल्पाको होलेरीस्थित हेल्थ डेस्कमा घर पुग्न आइपुगेका सबैको अभिलेख राखिएको छ । स्वास्थ्यकर्मीले घर फर्किएकाहरुको स्वास्थ्य अवस्थाको समेत जानकारी लिएका छन् । होलेरीसम्म राजधानीबाटै पठाइएका गाडीमा आएकालाई त्यहाँबाट भिन्नै गाडीमा गन्तव्यसम्म पुर्याउन प्रहरीले समेत समन्वय गरिरहेको छ । घर फर्कन आइपुगेका मजदुरको अभिलेख राख्न होलेरीमा खटिएका प्रहरी निरीक्षक मेघनाथ चापागाईंका अनुसार राजधानीका इँटा उद्योगबाट मंगलबार मध्यान्हसम्म ८ सय ४१ मजदुर आएका हुन् । आइतबार र सोमबार रोल्पामा ७ सय ३० जना आइपुगेका थिए । घर फर्कन होलेरीमा तीन दिनमा १ हजार ५ सय ७१ जना आएका हुन् ।
होलेरी हुँदै जिल्ला आएकाहरू रोल्पाका रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिकाबासी छन् । यस्तै रोल्पाको उक्त टोलीसँगै रुकुम पूर्वको भुमे गाउँपालिकाका समेत घर फर्केका छन् । उनीहरूलाई राजधानीबाट बस र टिपरबाट इँटा उद्योगका सञ्चालकले होलेरीसम्म ल्याएका थिए । होलेरीबाट अन्य गाडीमा सबैलाई सम्बन्धित स्थानमा पुर्याइएको प्रनि चापागाईले बताए । होलेरीमा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले सबै मजदुरको स्वास्थ्य जाँच गरेको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य एकाइ प्रमुख गणेश बुढाले बताए । उनले हेल्थ डेस्क स्थापना गरेपछि करिब ७ हजारको स्वास्थ्य अवस्था जाँच गरिएको बताए ।
मजदुर पुर्याउन सदरमुकाम लिबाङमा दुई वटा गाडी आएका थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले रोल्पा नगरपालिका–१० का मजदुरलाई घर पुर्याउन ती गाडी ल्याएको बताए । नगरको धबाङ र कोटगाउँका मजदुर राजधानीका इँटा उद्योगमा काम खोज्न पुगेका थिए । होलेरी आइपुगेका सबैलाई गाडीको व्यवस्था गर्दै गन्तव्यमा पुर्याउन रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगर लगायतले विशेष समन्वय गरेका छन् । ‘अन्य गाउँपालिकाका मजदुरलाई गन्तव्यमा पुर्याउन अध्यक्ष लगायतका जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’ गाउँपालिकाका नायक सुब्बा दीपेन्द्रकुमार डाँगीले बताए ।
इँटा उद्योगमा काम खोज्न पुगेका मजदुरहरु घर फर्कन राजधानीमै अलपत्र परेपछि ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायत नेताले सबैलाई घर फर्काउन पहल गरेका थिए । घर आउन अनुमति माग्दै उनीहरु केही दिनसम्म काठमाडौंमा अलपत्र परेका थिए । रोल्पासहित पश्चिम नेपालका सयौं मजदुरलाई गाडीको व्यवस्था गरी घर पठाउन मन्त्री पुन र सांसद जयपुरी घर्तीलगायतले सरकारसँग आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मन्त्री र सांसद राजधानीको त्रिभुवन पार्कमा अलपत्र परेका मजदुरलाई घर पठाउन आइतबार र सोमबार दिनभर व्यस्त भएको खबर आएको बताए ।
घर फर्किएका सबैलाई सुरक्षासहित गन्तव्यमा पुर्याउन र सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन गरिएको प्रजिअ ढकालले बताए । ‘हाल ठूलो संख्यामा क्वारेन्टाइन नबनाइएकाले विद्यालय, सामुदायिक भवन र सामुदायिक वनका भवनलाई क्वारेन्टाइनमा बदल्न भनेका छौं’, प्रजिअ ढकालले भने, ‘घर–घरबाट कपडा ल्याउने र विद्यालयमै खान र बस्नको उचित व्यवस्था गर्न सबै तहसँग आग्रह गरिएको छ ।’
लकडाउन जारी रहेकै बेलामा काम खोज्न बाहिर पुगेका थुप्रै एकैपटक घर फर्केपछि उनीहरुलाई पुग्ने पर्याप्त क्वारेन्टाइन जिल्लामा नबनाइएको स्थानीय तहले जनाएका छन् । जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ ढकालले पर्याप्त तयारी नभएकाले विद्यालय भवनलाई क्वारेन्टाइन बनाउनु पर्ने अवस्था आएको बताए । घर फर्किएका सबैलाई क्वारेन्टाइनमा बसाल्ने तयारीमा सबै स्थानीय तह केही दिनअघि देखि नै लागेका थिए । त्रिवेणी गाउँपालिकाले घर फर्किएका दुइ दर्जनलाई बसाल्न विद्यालय भवनमा ओछ्याउने कपडा र खाने व्यवस्था मिलाएको वडा नं ५ का अध्यक्ष कृष्ण केसीले बताए । उनले मजदुरहरु फर्कने खबर पाएपछि गाउँपालिका अध्यक्ष शान्तकुमार वली लगायतका पदाधिकारीहरु दिनरात खटेर तयारीमा जुटेको बताए ।
होलेरी हुँदै घर आएका मजदुरहरुमध्ये बढी जसो रोल्पा नगरपालिकासहित रोल्पाका रुन्टीगढी, त्रिवेणी, माडी, गंगादेव, सुनछहरी, लुंग्री, परिवर्तन र रुकुम पूर्वको भुमे गाउँपालिकाका छन् । घर फर्किएकामध्ये रुन्टीगढीका मात्रै ३ सय ९७ जना रहेको र ती सबैलाई सबै वडाका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको नायब सुब्बा दीपेन्द्रले बताए । रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घर फर्केकालाई स्थानीय तहले गाडीको व्यवस्था मिलाएर बुझिलिएको बताए । यसैबीच बाग्लुङमा पूर्वाधारका योजनामा ठेकेदारमार्फत काम खोज्न पुगेका करिब ३० जना मजदुरलाई मध्यपहाडी लोकमार्ग हुँदै घर फर्काउन पहल भएको प्रजिअ ढकालले बताए ।
यसअघि रोल्पा नगरपालिकासहित सबै गाउँपालिकाले विद्यालयलगायत स्थानमा बनाएका क्वारेन्टाइनमा भारतबाट फर्केका करिब २ सय ६६ जनालाई राखेका थिए । अधिकांशलाई र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) किटबाट जाँच गरी घर पठाइएको छ । अघिल्लो पटक घर आउनेमा इँटा उद्योग र भारत तथा अन्य मुलुकबाट आएका थिए । कतिपय लक डाउनको अवधिमा हिडेरै आएका थिए ।
रोल्पा प्रशासनले यसअघि २ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको थियो । रोल्पा नगर प्रमुख पूर्ण केसीले काम खोज्न बाहिर गएका अझै केहीले घर फर्कन खोजेको भन्दै खबर गरेको बताए । ‘अझै करिब १ हजार जना आउने बुझिएको छ,’ केसीले भने, ‘यहाँ ल्याउने वा उतै बसाल्न सकिनेबारे छलफल भइरहेको छ ।’ सरकारले जिल्लामा तीन सय थान आरडीटी पठाएको जनस्वास्थ्य प्रमुख अनिल केसीले बताए । यसअघि घर फर्केर क्वारेन्टाइनमा बसेका २ सय ५९ जनाको स्वास्थ्य जाँच गरिसकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
