रुकुम, रोल्पा र सल्यानका ४ सयभन्दा बढी मजदुर घर पठाइए

मन्त्रीले गरे बिदाई 

वैशाख ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सयभन्दा बढी मजदुरलाई गन्तव्यमा पठाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको पहलमा स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई घर पठाइएको हो । 

काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरका इँटाभट्टामा काम गर्ने मजदुरहरू कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन गरेपछि अलपत्र परेका थिए । उनीहरूले काम गर्ने उद्योग बन्द भएका थिए । आफ्नो जिल्ला फर्किन हिँडेका उनीहरुलाई शंकरापुरमा सुरक्षाकर्मीले रोकेका थिए । 

मन्त्री पुन आफैं जगाती पुगेर ८ वटा बसमा उनीहरूलाई गन्तव्यसम्म पुग्‍न समन्वय गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले बताए । ३ सयभन्दा बढी मजदुर काभ्रे र सिन्धुपाल्चोक तथा करिब १ सय मजदुर ललितपुर र भक्तपुरका इँटाभट्टामा काम गर्थे । यसअघि कतिपय मजदुर लामो दूरी पैदल यात्रा गरेर काठमाडौं उपत्यकाबाट घर गएका थिए ।

सरकारले लकडाउनका क्रममा जो जहाँ छ त्यहाँ नै रोक्‍न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । तर, लकडाउन लम्बिएसँगै विभिन्‍न क्षेत्रमा काम गर्ने मान्छेले काठमाडौं उपत्यका छोड्‍नेक्रम नरोकिएपछि बसमा पठाउन लागिएको छ ।

कान्तिपुर

Link copied successfully