हेटौंडामा राहतको नाममा एनजीओमार्फत् नगद वितरण

वैशाख ७, २०७७

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा राहतको नाममा खाद्य सामग्रीको सट्टा नगद रकम वितरण भइरहेको छ ।

लकडाउनको समयमा सकारले दैनिक ज्यालादारी, मजदुर र खाद्य सामग्रीको अभाव भएकाहरुलाई एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न दिएको निर्देशन विपरित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमार्फत् राडो नेपालले हेटौंडाको आधा दर्जन वडामा राहतको नाममा नगद वितरणको क्रमलाई जारी राखेको छ ।

हेटौंडा–३, १२, १३, १४, १५ र १९ नम्बर वडाका तीनहजार घरधुरीलाई नगद दुईहजार सातसय ३० रुपैयाँको दरले राडो नेपालले राहत रकम वितरण गरिरहेको छ । ‘हामीले हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरेर राहत वितरण गरेका हौं,’ राडो नेपालका प्रतिनिधि कृष्ण धितालले टोल विकासको सिफारिसमा वडाले तयार पारेको नामावली अनुसार आफूहरुले नगद प्रदान गरेको दाबी गरे ।

संघीय सरकारले तयार पारेको राहतको मूल्य बराबरको नगद आफूहरुले प्रदान गरिरहेको धितालले बताए । उनका अनुसार प्लानले समाज कल्याण परिषद्ले तोके अनुसार खाद्यान्न वा नगद दुवै वितरण गर्न सक्ने जनाएअनुसार नगद प्रदान गरिएको हो ।

यता, हेटौंडा उपमहानगरपालिकाले भने आफूहरुले राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दा समेत राडो नेपालले आफूहरुको नीति नभएको बताएपछि रकम वितरण गर्न दिइएको जनाएको छ । एनजीओले हेटौंडामा राहत वितरण गर्न नपाएको खण्डमा कालिकोटमा लगेर वितरण गर्छौ भनेपछि नगदै वितरण गर्न दिइएको मेयर हरिबोल महतले बताए ।

‘पहिलो चरणमा नगद र दोस्रो चरणमा खाद्य सामग्री वितरण गर्छौ भनेका छन् । हामीले वडाअध्यक्षको रोहबरामा धेरै छलफल गर्दासमेत उनीहरुले नगद कोषमा जम्मा गर्ने आफूहरुको नीति नभएको र नगदै बाँड्ने भनेपछि हामीले रोक्न सकेनौं,’ मेयर महतले भने । उनले राडोले नगद दिएकाहरुलाई उपमहानगरले राहत उपलब्ध नगराएको बताए । 

राहतको नाममा नगद वितरण गरेकोप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ ।  नेपाल कांग्रेस मकवानपुरले जिल्ला पार्टीले पत्रकार भेटघाट गरी उक्त कार्यको विरोध गरेको हो ।

मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्लान नेपालले राडो नेपालमार्फत हेटौंडाका विभिन्न वडामा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाउँदै तत्काल एकद्वार प्रणालीमार्फत् कोषमा रकम जम्मा गर्न र खाद्य सामग्री बाँड्ने कार्यमा स्थानीय निकायसँग सहकार्य गर्न समेत आग्रह गरे । राहत वितरणमा राजनीतिक लाभको उद्देश्य राखेर काम गरेको बानियाँको आरोप छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully