काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकम दाहालले चीनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने बताएका छन् । यसअघि चिनियाँ राष्ट्रपतिलाई पत्र लेखी सहयोगका लागि आग्रह गरिसकेका दाहालले आवश्यकता अनुसार चीनले सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
‘चीनले सहयोग गर्ने भनेको छ र गर्छ पनि । हामीले सही विधि र प्रक्रियाबाट अनुरोध गर्दा चीन सरकारले सहयोग नगर्ने कुरा छैन,’ उनले शुक्रबार कान्तिप्रुसँग भने, ‘हामीले कसरी लिने प्रक्रिया अपनायौं भन्ने पनि छ । दोस्रो विचारणीय कुरा के छ भने, चीनले जहाँ जहाँ कोरोना संक्रमण भएको छ ती देशलाई आफ्नो सहयोग दिने प्राथमिकतामा राखेको छ ।’
उनले चीनको प्राथमिकता युरोप र अमेरिकलाई नै बढी सहयोग गरेको उल्लेख गर्दै नेपालमा अहिले नै संक्रमण व्यापक नफैलिएकाले सहयोग गर्न ढिलाइ भएको बताए । ‘हाम्रो सरकारले मागेअनुसारको सहयोग गर्छ,’ उनले भारतमा संक्रमण बढेकाले तत्काल सहयोगको अपेक्षा गर्नु उपयुक्त नहुने बताए । ‘भारतसँगको हाम्रो कुराकानी पनि महत्वपूर्ण छ । किनकी दक्षिण एसियामा यो रोग कति फैलिन्छ भन्नेकुराले दक्षिण एसियाका मुलुकहरुको आपसी सहकार्य, सम्बन्ध सहयोग कति हुन्छ भन्नेमा पनि भर पर्छ,’ उनले भने ।
चीनले वुहानमा देखिएको कोभिड–१९ प्रकोप नियन्त्रण गरेकोमा चिनियाँ कम्युनिस्ट पार्टी, राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतालाई बधाई उनले दिए । ‘चीनको विश्वव्यापीरुपमा स्वास्थ्य सामाग्रीलगायत मेडिकल सहयोग प्रशंसनीय छ,’ उनले भने ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कमार्फत्् कोभिड–१९ नियन्त्रणका लागि गरेको पहल प्रशंसनीय भएको बताए । ‘सार्कमा रहेका देशको आपसी सहयोग र एकताले यो नियन्त्रण हुने विश्वास छ । नेपाल र भारत मिलेर यो प्रकोप नियन्त्रण गर्न सफल हुने विश्वास छ,’ उनको भनाइ छ ।
उनले मानव जातिको विकासको प्रक्रियामा बेला बेलामा विभिन्न प्रकोप, महामारी, रोगव्याधीहरु देखा परे पनि मानिसको जित हुने बताउँदै सबैले आत्मबल बलियो बनाउन आग्रह गरे । ‘अन्ततः मानिसहरुले नै विजय हासिल गरेका छन् र अगाडी बढेका छन् । त्यसैले यो पनि त्यस्तै एउटा ‘फेनोमेना’ हो । यसमाथि पनि मानिसको नियन्त्रण हुन्छ, विजय हुन्छ’ उनले भने ।
