सिआन र तिब्बतद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चैत्र २९, २०७६

कान्तिपुर संवाददाता

बेइजिङ — नेपालको काठमाडौं र बुटवलसँग भगिनी सम्बन्ध रहेको चीनको सिआन सहरले शनिबार कोभिड-१९ को प्रतिकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सहयोग पाउनेमा दुई भगिनी सहरबाहेक काभ्रेको धुलिखेल पनि छ। सिआन विश्व सहरी भूमि संगठनको उपाध्यक्ष हो भने धुलिखेल यसको स्थायी सदस्य हो।

सहयोग सामग्रीमा काठमाडौं र धुलिखेलका लागि १०/१० हजार थान सर्जिकल मास्क रहेका छन् भने बुटवलका लागि १० हजार सर्जिकल मास्कका अलावा १ हजार एन-९५ मास्क, ५ सय सर्जिकल सुट, १ सय सर्जिकल ग्लास र ३० थान तापक्रम नाप्ने टेम्प्रेचर गन रहेका छन्। सिआनले गरेको सहयोगमा एउटा आईसियु लाइफ सपोर्ट रेस्पिरेटर पनि छ।

नेपाल सिआनका लागि नागरिक दूत रहेका डा.राजीव झाको पहलमा पल्लो शान्सी प्रान्तको सिआन सहरले यो सामग्री सहयोग गर्न लागेको हो। ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालका अध्यक्ष समेत रहेका डा. झाले भने, ‘सिआनले नेपालको कोरोना प्रतिरोधमा सघाउन गरिएको अनुरोध बमोजिम यो स्वास्थ्य सामग्री सहयोग  गर्न लागेको हो।’

चीनको व्यापारिक सहर क्वाङ्चौ पुर्‍याएर ती सामग्री यथाशक्य छिटो नेपाल पुर्याइने चिनियाँ अधिकारीहरूले बताएका छन्।

यसैगरी चीनको तिब्बत सरकारले पनि ल्हासामा नेपालका लागि ६ प्रकारका मेडिकल सामग्री सहयोगस्वरूप उपलब्ध गराएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ती सामग्री शुक्रबारै हस्तान्तरण गरिए पनि केही दिनमा मात्रै नेपाल पुग्ने अपेक्षा गरिएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले तिब्बतले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री ग्रहण गरे। चीनले भन्सार सुरक्षामा निकै होसियारी अपनाइरहेका बेला यी सामग्री केही दिनमा नेपाल पुग्नसक्ने अपेक्षा गरिएको छ। ‘सकेसम्म छिटो नेपालसम्म पुर्‍याउन प्रयास गर्छौ,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै महावाणिज्यदूत कार्कीले कान्तिपुरसँग भने। 

स्वास्थ्य सामग्री खरिद प्रकरणलकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully