नयाँदिल्ली — भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् ।
जसमध्ये २३९ को मृत्यु भएको छ भने ६४२ जना उपचारपछि निको भइसकेको छन् । पछिल्लो चौबीस घन्टामा मात्रै एक हजार जना संंक्रमण पाइएको छ भने चालीसको मृत्यु भएको छ ।
सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा १६६६ जनामा संक्रमण पुष्टि भएको छ भने ११० जनाले ज्यान गुमाइसकेका छन् । पछिल्ले चौबीस घन्टामा मात्रै महाराष्ट्रमा कोरोना संक्रमणका ९२ वटा नयाँ केस देखिएको छ । महाराष्ट्र छि बढी संक्रमित हुनेमा पर्छ राजधानी दिल्ली । दिल्लीमा शनिबार अपरान्हसम्ममा ९ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा शुक्रबार मात्रै १८३ वटा नयाँ केस पहिचान भएको थियो । अहिलेसम्म एक दिनमै संक्रमित संख्यामा भएको यो सबैभन्दा उच्च वृद्धि हो । तेस्रो उच्च संक्रमण भएको राज्य हो तमिलनाडु । तमिलनाडुमा हालसम्म ९११ जनामा संक्रमण देखिएको छ भने नौ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोनाको पहिलो केस २ माघमा पहिचान भएको थियो । र, तीन महिनाको अवधिमा भाइरसको संक्रमण पुरै भारतभरि नै फैलिसकेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था र नियन्त्रण तथा रोकथामका सम्बन्धमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । भिडियो कन्फरेन्समार्फत् भएको उक्त छलफलमा मुख्यमन्त्रीहरुले कोरोना महामारीको पछिल्लो अवस्था र यसको नियन्त्रणका लागि चाल्नु पर्ने उपायहरुका बारेमा पनि सझुाव दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुबाट लकडाउनको प्रभावकारिता र यसलाई निरन्तरता दिने नदिने सम्बन्धमा पनि सुझाव मागेका थिए । मुख्यमन्त्रीहरुसँगको शनिबारको छलफलपछि प्रधानमन्त्री मोदीले लकडाउनलाई लम्बाउने वा नलम्बाउने विषयमा निर्णय लिने बताइएको छ ।
शनिबारको भिडियो संवादमा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनलाई कम्तीमा पनि दुई साता लम्बाउनुपर्ने धारणा राखेका छन् । गत २४ मार्चदेखि लागू तीन साता लामो लकडाउन आगामी १४ अप्रिलमा पूरा हुन्छ । विगत केही दिनयता भारतमा कोरोनाको भाइरसको संक्रमणमा भइरहेको तीव्र वृद्धिका कारण लकडाउन थप लम्बिने सम्भावना प्रबल बन्दै गएको छ ।
कतिपय राज्य सरकारहरुले त लकडाउन लम्बाउने निर्णयसमेत गरिसकेका छन् । तेलगंना र उडिसा सरकारले लकडाउन थप दुई साता गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यसैगरी महाराष्ट्र, मध्यप्रदेश, उत्तरप्रदेश, गुजरात, पञ्जाबलगायतका राज्यले पनि लकडाउनलाई लम्बाउने मनस्थितिमा पुगेको बताइन्छ ।
