अस्पतालबाट डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले दिए गार्ड अफ अनर
लन्डन — दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालका डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए । उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल अस्पतालमा उपचाररत अल्बर्ट शुक्रबार डिस्चार्ज भएका हुन् । लडेर पाखुरामा चोट लागेपछि उनी तीन हप्ताअघि अस्पताल भर्ना भएका थिए । तर स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
अल्बर्टका ४९ वर्षीय नाति स्टिफन गेटरका अनुसार दोस्रो विश्वयुद्धका बेला उननी उत्तरी अफ्रिकामा बम विस्फोटमा घाइते भएका थिए । बम विस्फोटमा घाइते भएका उनलाई दुस्मनले बन्धक बनाएर राखेका थिए । त्यहाँबाट उनलाई नाजीहरुद्वारा नियन्त्रित जर्मनीको स्टालाग एक्स आई बी क्याम्पमा बन्दीका रुपमा ३ वर्ष राखिएको थियो ।
बेलायती सेनामा रहँदाको युवा अवस्थाका अल्बर्टको तस्बिर
विश्वयुद्धपछि उनी लन्डनको राजदरबारको सुरक्षामा खटिएका थिए । ‘सबैले कठिन परिस्थितिको सामना गरिरहेका बेला यो एउटा सकारात्मक समाचार आएको छ,’ अल्बर्टका नाति गेटरेले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।
शनिबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ८ हजार ९ सय ७४ को मृत्यु भएको छ । त्यस्तै ७४ हजार ६ सय ५ जना संक्रमित हुँदा ५ सय ८८ जना मात्रै निको भएका छन् ।
