बीसीजी खोपले काम गरेको हो त ?
काठमाडौँ — शक्तिशाली र विकसित भनिएका देशसमेत यति बेला कोरोना भाइरस राेग (कोभिड–१९) ले आक्रान्त छन् । अमेरिकामा ज्यान गुमाउनेहरूको तथ्यांकले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । चीनको वुहान सहरबाट फैलिएकाे संक्रमणले सबै महादेशलाई धक्का दिएको छ ।
नेपालजस्तो अल्पविकसित देशमा भने तुलनात्मक रूपमा संक्रमण कम देखिएकाे छ । अहिलेसम्म ९ जना मात्र संक्रमित भेटिएका छन् । पहिलाे संक्रमित त निकाे भएर सामान्य दैनिकीमा फर्किसके ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनामा कोभिड परीक्षण गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ३ सय ८२ र उपत्यकाबाहिर ५ सय १३ नमुना परीक्षण गरिएको हाे । १ सय ९३ जनाको परीक्षण जारी छ । यो तथ्यांकले नेपालमा परीक्षणको गति नै सुस्त रहेको देखाउँछ ।
देवकोटाले बिहीबार दिएको जानकारीअनुसार देशभर १ सय १७ जना आइसोलेसनमा र ७ हजार ९४० जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजारका दरले आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट) किट उपलब्ध गराइएको र प्राविधिकलाई तालिम दिइएको उनले दाबी गरे ।
पहिलोपटक विदेशबाट आएका एक संक्रमितबाट उनकै परिवारका अर्को व्यक्तिमा सरेपछि भने नेपालमा कोभिड संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भनिएको छ ।
जोखिम घटेकाे छैन
सरकारले नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिचान गर्ने प्रक्रिया पूरा भएको र उनीहरूमध्ये कसैमा संक्रमण नदेखिएको दाबी गरेको छ । तर सरकारले संक्रमितको परिवारका सदस्य र उनीहरूसँग जहाजमा यात्रा गरेकाहरूको मात्रै पहिचान गरेकाे हाे । ती व्यक्ति क्वारेन्टाइनमा नबसी सहर डुल्दा कति जनासँग सम्पर्कमा रहे र उनीहरू कहाँ छन् भन्ने यकिन हुन सकेकाे छैन ।
के सरकारले सुरुदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कार्य गरेकैले कम संक्रमण देखिएको हो त ? यसमा विविध तर्क छन् ।
दोस्रो केस देखिएसँगै सरकारले चैत ११ देखि गरेको लकडाउन दुईपटक थपिसकेको छ । यति बेला सबैजसाे ‘होम क्वारेन्टाइन’मा छन् । लकडाउन थपिएसँगै कोरोना आशंकामा पहिलेभन्दा कम मानिस अस्पताल पुगेको देखिन्छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन कोभिड आशंकामा जँचाउन आउनेहरू पहिलाभन्दा कम रहेकाले केही आशाको किरण देखिएको बताउँछन् । यद्यपि संक्रमण कम छ भन्दैमा निस्फिक्री बस्न नहुने उनको सुझाव छ ।
‘धेरैको मनमा नेपालमा कोरोना भाइरसको संक्रमण किन कम देखियो भन्ने होला,’ डा. पुनले भने ‘संक्रमित भएका भए बिरामी अस्पताल आउँथे होलान् तर अहिले त्यस्तो अवस्था देखिएको छैन ।’
बीसीजी खोपले काम गरेको हो त ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार नेपालमा कोभिड संक्रमण न्यून हुनुका पछाडि विभिन्न कारण छन् । बीसीजीको प्रभावबारे डा. मरासिनी यसो भन्छन् :
धेरैले अहिले कोरोना संक्रमण फैलनमा बीसीजी खोप लगाउने र नलगाउने देश भनी पनि छुट्याइरहेका छन् । नलगाउने देशमा संक्रमण तीव्र र जटिल देखिएको अध्ययनहरूले देखाइरहेका छन् । यो खोप बेलायत, अमेरिका, फ्रान्स, इटाली, स्पेनजस्ता देशमा अनिवार्य छैन। ती देशमा बीसीजी खोप कम लगाइएकाले बढी संक्रमित देखिएकाे वैज्ञानिकहरूको दाबी केही सत्य हुन सक्छ । तर विस्तृत अध्ययन जरुरी छ,' उनले भने ।
सार्स, मर्स, स्वाइन फ्लु, बर्डफ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी रोगकाे प्रभाव पनि नेपालमा धेरै परेन । त्यसमा पनि बीसीजी खोपकै भूमिका थियो कि भन्ने तर्क अहिले आइरहेको छ । बीसीजी खोपले श्वासप्रश्वाससम्बन्धी रोगविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, त्यो स्थापित सत्य हो । काेराेना संक्रमण पनि त्यही भ्याक्सिनका कारण निष्प्रभावी भएको भन्नेबारे भने अध्ययन नै गर्नुपर्छ ।
अफ्रिका र भारतमा पनि संक्रमणकाे अनुपातमा मृत्युदर कम देखिएको छ । त्यही कारणले हुन सक्छ । नेपालमा सन् १९६० पछि बीसीजी खोप लगाउन थालिएको हो । यसले दादुरा, क्यान्सर, मलेरिया, बच्चामा निमोनिया र श्वासप्रश्वासकाे संक्रमण कम देखिएको अध्ययनले बताउँछ । अस्ट्रेलियामा डाक्टर र नर्सलाई यो खोप दिन सुरु गरिएको छ ।
बीसीजी र कोभिडको सम्बन्ध
केही दिनअघि ६ अमेरिकी अनुसन्धाताले क्षयरोगविरुद्ध लगाइने बीसीजी खोप अनिवार्य भएका मुलुकमा कोभिडको प्रभाव कम भएको निष्कर्ष निकालेका छन् । न्युयोर्क इन्स्टिच्युटका न्युरोसाइन्टिस्ट गोन्जालो ओटाजुको नेतृत्वको टोलीले गरेको अध्ययनमा यस्ताे तथ्य भेटिएकाे हाे ।
‘को–रिलेसन बिट्विन युनिभर्सल बीसीजी भ्याक्सिनेसन पोलिसी एन्ड रिड्युस्ड मोर्बिडिटी एन्ड मोर्टालिटी फर कोभिड १९ : एन इपिडिमियोलोजिकल स्टडी’ नाम दिइएको अध्ययनमा बीसीजी खोप अनिवार्य भएका देश र भर्खरै अनिवार्य गरिएका देशमा कोभिड प्रभावको तुलना गरिएको छ । संक्रमणबाट सबैभन्दा बढी पाकाे उमेरका व्यक्ति प्रभावित छन् । बीसीजी अनिवार्य भएकाे देशका संक्रमित पाका व्यक्ति पनि निको भएको अध्ययनले बताएको छ ।
इटालीमा कोरोनाबाट हुने मृत्युदर उच्च छ । त्यहाँ अहिलेसम्म पनि बीसीजी खाेप अनिवार्य गरिएको छैन । तर जापानमा धेरै देशभन्दा पहिले संक्रमण पुष्टि भए पनि मृत्युदर न्यून छ । त्यहाँ सामाजिक दूरी तथा आइसोलेसनजस्ता पक्षमा पनि त्यति कडाइ गरिएको छैन । जापानमा सन् १९४७ मै बीसीजी खोप अनिवार्य गरिएको थियो ।
कोरोनाबाट प्रभावित इरानमा पनि सन् १९८४ मा मात्रै बीसीजी खोप लागू गरिएको थियो । अध्ययनले इरानका ३८ वर्षमाथिका व्यक्ति कोभिड–१९ को जोखिममा रहेको बताउँछ ।
चीनमा सन् १९५० को दशकमै बीसीजी कार्यक्रम लागू भए पनि सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) को बीचमा क्षयरोग रोकथाम तथा नियन्त्रणमा लागेका निकायमाथि प्रतिबन्ध लगाइएकाले कोरोनाको असर बढी देखिएको अध्ययनले निष्कर्ष निकालेको छ ।
कोरोनाविरुद्धको खाेप पत्ता नलागेसम्म क्षयरोगविरुद्धकै खोपले यसकाे नियन्त्रणमा केही सहयोग पुर्याउने जर्मन अध्ययनले पनि देखाएकाे छ ।
फ्रान्सेली वैज्ञानिकहरूले सन् १९०८ मा आविष्कार गरेकाे बीसीजी खाेप मानिसमा पहिलो पटक परीक्षण भने सन् १९२१ मा गरिएको थियो । दुई जीवाणुशास्त्री अल्बर्ट काल्मेट र जाँ मेरी केमिल गुइरिनको नामबाट याे खोपको नाम राखिएको हो ।
अन्य कारणहरु
बीसीजी खोपबाहेक अरु पनि केही कारणहरुले गर्दा नेपालमा कोभिड संक्रमितको संख्या नबढेको चिकित्सकहरुको अनुमान छ । डा. मरासिनी यसमा बीसीजी बाहेक अन्य तीन कारणलाई प्रमुख मान्छन् । उनी भन्छन् :
परीक्षणको दायरा नै साँघुरो
हाल विदेशबाट आएका मान्छेमा मात्र परीक्षण केन्द्रित गरिएको छ । समुदायमा पनि गएर धेरैभन्दा धेरै परीक्षण हुन जरुरी छ । कोही विदेशबाट आएको मान्छेले सारेको रहेछ भने दुर्गम गाउँमा फैलिराखेको हुन सक्छ ।
यस कारण परीक्षणको दायरा बढाउनुपर्छ । ज्वरो र खोकीका बिरामी सबैमा परीक्षण हुनुपर्छ । जनवरी र फेब्रुअरीमा प्रशस्त पर्यटक आए । नेपालमा कुनै परीक्षण भएन । उनीहरू ठाउँठाउँ गएर खाए, मजाले घुमेर गए । तिनले पनि संक्रमण सारेका हुन सक्छन् ।
नेपाली परम्परा
विदेशमा चम्चाले खाने बानी छ । त्यसाे हुँदा धेरैले हात धुँदैनन् । हात कम धुने, छिनछिनमा हात मिलाउने, अँगालो मार्ने गर्दा संक्रमण सर्ने सम्भावना रहन्छ ।
नेपाली महिला लुगा धुने, खाना पकाउने गर्दा पानी धेरै चलाइरहेका हुन्छन् । यसैबाट धेरै ‘ह्यान्डवास’ भइरहेको हुन्छ । नेपालमा हात मिलाउनेभन्दा पनि नमस्कार गर्ने चलन छ ।
यातायात र कनेक्टिभिटी
विदेशमा यात्राका लागि रेल चलाइन्छन् । प्रायः भूमिगत हुने मेट्रो रेलमा घामको किरण नै पर्दैन । तापक्रम पनि नियन्त्रित हुँदा भाइरसलगायत सूक्ष्म जीवाणु बचाउन उपयुक्त वातावरण बनिदिन्छ । त्यहाँ मान्छेकाे भीड हुने भएकाले जीवाणु चाँडै नै धेरैकाे सम्पर्कमा पुग्छ । व्यस्त समयमा लिफ्टमा समेत धेरै मान्छे कोचिनुपर्ने भएकाले त्यहाँबाट पनि सर्ने सम्भावना हुन्छ ।
नेपालमा पनि सार्वजनिक यातायातमा धेरै भीडभाड हुन्छ । तर तिनमा विदेशी कमै चढ्छन् । विदेशबाट आएकाहरू पनि सुरुका केही दिन ट्याक्सी नै चढ्न रुचाउँछन् । त्यसैले पनि समुदाय स्तरमा संक्रमण नदेखिएको हुन सक्छ ।
भारतमा पनि धेरै भीडभाड हुने ठाउँमा नै बढी संक्रमित देखिएका छन् । स्थानीय रेलमा अत्यधिक भीडभाड हुन्छ । छिनछिनमा रेल ओहोरदोहोर गर्ने भएकाले बारम्बार सफाइ गर्न व्यावहारिक हुँदैन । त्यसमा पनि धेरैजसाे लक्षण स्पष्ट भइनसकेका संक्रमितहरूले अन्य व्यक्तिमा सारेको देखिन्छ ।
