लन्डन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको टेन डाउनिङ स्ट्रीटले जनाएको छ ।
प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि बिहीबार आईसीयुबाट सामान्य वार्डमा सािरएको छ । प्रधानमन्त्री जोनसनलाई आइतबार लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
‘प्रधानमन्त्री जोनसनलाई आज साँझ आईसीयूबाट वार्डमा सारिएको छ । जहाँ उहाँलाई चिकित्सकीय निगरानीमा राखिएको छ,’ बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको । कोरोना भाइरस संक्रमण पुष्टि भएको १० दिनपछि एक्कासि स्वास्थ्य अवस्था खस्किएपछि जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
सोमबार भने उनलाई आईसीयूमा सारिएको थियो । उनलाई आईसीयू अक्सिजनको सहयोगमा उपचार गरिए भने भेन्टिलेटरमा भने नराखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूबाट सामान्य वार्डमा सारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘राम्रो खबर । प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूबाट सारिएको छ । शिघ्र स्वास्थ्यलाभको कामना बोरिस ।’
त्यस्तै बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र निको हुने क्रममा रहेको जानकारी दिएका छन् ।
