मुलाका चाना र अमिलो मही सम्झेर...

अहिले सम्झँदा लाग्छ- हाम्रो एउटै घर रैथाने कुराले भरिएको एउटा संग्रहालयझैं थियो। घरैमा ठेकी-मदानी थिए, टोलुङ थियो, ससाना हर्पे थिए। ढिकी-जाँतो त हुने भइहाल्यो।

चैत्र २८, २०७६

देवेन्द्र भट्टराई

सुरुमै इलामेली समाजशास्त्री द्वारिका थेवेलाई धन्यवाद भनिहालौं। उनले ‘बजारले बिगारेको खाद्य सञ्चिति’ शीर्षकमा लकडाउनको आजको स्थितिमा बेहोर्नुपरेको खानेकुराको खडेरीमाझ खानपिनकै रैथाने इतिहासलाई सम्झेकी छिन्।

द्वारिकासँगै पोषणविद् डा. अरुणा उप्रेतीलाई पनि खानपिनका पितापुर्खा सम्झेझैं सभक्ति धन्यवाद भन्न चाहन्छु, जसले मेरो चेतनाले थाहा पाएदेखि ढिँडो, खोले, लट्टे, फापर, सिस्नो, बेथु, कोदो, जौ, आलु, मकै, भटमास, बेसार, मेथी आदिजस्ता खानपिनबारे लेखिरहनुभयो, बोलिरहनुभयो। कतिले सुने अथवा पढे, हौवाका भरमा यसै भन्न सकिन्न।


कोरोना भाइरसले देश-विदेश, गाउँ-सहर थर्कमान बनाएर घरैभित्र ‘सेल्फ-क्वारेन्टाइन’मा बसिरहेका बेला मेरो भाङबारी गाउँबाट माइली भाउजूले एउटा तस्बिर पठाउनुभो, भाइबरमा। तस्बिरमा नाङ्लामा मम:का डल्लाझैं देखिन्थे, छेवैमा तेलको सानो बोतल थियो, पिठोजस्तो सर्दाम अलिकति। तस्बिरको पिँधमा लेखिएको थियो- कालो दाल र वनतरुल : मिक्स मस्यौरा! 


सम्झनाको तरेलीमा जोडिन र द्वारिका थेवेले झैं पुराना दिनमा गाँसिन यो तस्बिर काफी थियो। धेरै पुरानो कुरो पनि होइन, आजभन्दा २० वर्षअघि मात्रै मेरो गाउँमा बाआमाले खाद्यान्नको जोहो गर्न र फारु गरेर खान-ख्वाउन सिकेको-सिकाएका घडीहरु म ललितपुर कुनोमा बसेर आज सम्झिरहेको छु। साँच्चै भन्ने हो भने यो सहरमा खानेकुराको काक्ताली पर्दै गएका बेला म मेरा बितेर गएका बाआमालाई खुबै सम्झिरहेको छु। 


धन्य, भाङबारीमा पुर्ख्यौली सम्पत्तिको नाममा मेरो त्यही एक कठ्ठा घडेरी छ, जहाँ मैले वनतरुल, मुरली बाँस, सिमल तरुल, स्कुस, बिँही, लालचन, जिरे खोर्सानी रोपेर सहरतिर आएको छु। त्यहाँ उब्जेको तरुलका भरमा भाउजूले मस्यौरा बनाउनुभएको रहेछ, खुसी लाग्यो। त्यही बाँसबाट उम्रेको टुसाका भरमा दुई बयम तामा राख्नुभएको छ रे।


मेरो बुबा बित्नुभएको २० वर्ष हुनै लाग्यो, आमा बितेर गएको दुई वर्ष भइसक्यो। बाआमा छँदै भने हरेकपटक गाउँबाट काठमाडौं फर्कंदा मसँग अनेक पोकापोकी हुन्थे। अलिकति मस्यौरा, थोरै गुन्द्रुक, आलो सिन्की (सिजनल), मुलाका चाना, जिरे खोर्सानी। माथि हाङ्देवा वा च्याङ्थापु पहाडबाट आफन्तले मधेस पठाइदिएको जिम्बू, टिम्मुर आदि। रवि, थामथुममा मास्टरी काममा रमाइरहेकी माइली दिदीले पठाइदिएको अलिकति भकिमिलो, थोरै सतिबयर वा मेलका चाना। घरमै बुबाले बनाएको अलिकति सातु, दारिमको अमिलो चुक। कहिलेकाहीँ कनिका वा मकैको चामल। लप्सीको सुकेको माडा, तित्रीको अचार वा यदाकदा करेलाका सुक्खा चाना। 


भित्री घरधन्दा होस् वा बाहिरी राखनधरन, सबै काममा बुबा जाँगरिलो हुनुहुन्थ्यो। त्यसमाथि भान्सामा बुबाले बनाउने रैथाने आइटमहरु म सम्झन्छु- अमारोको कलिलो मुन्टाको अचार, टाँकीको फूलको अचार, केरा (अँठिया) को बुंगोको तरकारी/अचार, केरा गानोको अचार। साउन-भदौतिर कटहरको भिनाजुको तरकारी, कटहर दाना उसिनेर खाजा, घिरौंलाको खैपी। यदाकदा कुभिन्डाको मस्यौरा र खैपी। लालचनको अचार, पिँडालु-डाँक्ला (कर्कलो) को अचार। काभ्रो र टोटलाको फूल उसिनेर अचार। फर्सी, इस्कुस, लौकाका मुन्टा। बाँसको टुसा तरकारी वा मेसु, सिमल तरुलको तरकारी। निगुरो, बेथु, डौंठे। बारीको लट्टे र बेथु। पैनीछेउ पाइने सिमेसाग। पहाडतिरबाट आउने गँदेको अचार। जलपाइ र अमारोको अचार। पहाडतिरबाट आउने जरिंगो दहीमा हालेपछि बन्ने अचार अथवा त्यसमा हालिने बयरको धुलोको छोप। काउली/बन्दाको पातकै गुन्द्रुक, टमाटरको सुकुटी आदिआदि।

OOO

गाउँबाट सहर पसेपछि थाहै नपाई धेरै कुरा शुष्क, नीरस र बेस्वादे बन्दै गए। उही सनातनी खानेकुरामा स्वाद थप्न कहिले मिट मसला हालियो, कहिले बनिबनाउ ‘गार्लिक-पाउडर’। डा. अरुणा उप्रेतीले भनेझैं मकैभटमास वा बुबाले पठाइदिएको सातु मन पर्न छाड्यो, हर्लिक्स, भिभा वा कर्न-फ्लेक्सतिर मन तानिँदै गयो। गाउँमा उसिनेको आलु, आलुकै झोल, आलुकै कवाफ खाँदै वाक्कदिक्क भएर यो सहर पसेपछि शुद्ध आलु खाइएन, बरु फ्रेन्च-फ्राइतिर मन तानियो। मकैभटमास वा उसिनेको मकैको हैरान बनाउने ‘ती दिनहरु’ भुल्नकै लागि पप-कर्न वा फ्रोजन-स्वीट-कर्नतिर मन जान थालेको थियो।  


सुठुनी, वनतरुल वा सिमले दिङदिङ लाग्ने गरी गाउँमा खाएको ‘अतीत’ भुल्नै पनि सहर पसेपछि यी चिज खाइएन, अथवा पाइएन पनि। बरु त्यही तरुल र त्यही सिमलेको पिठो बनाएर अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै बिक्रीवितरण भइरहेको सूचनाका आधारमा अफ्रिकाको नाइजेरियाबाट आफन्त हिक्मत थापाले बनिबनाउ तरुल पिठो पठाइदिनुभएको थियो, रोटी खान। हो, ‘ब्रान्डेड’ बनेपछिको उही तरुलको पिठो भने अद्भुत लाग्यो।


लट्टे, बेथु, बन्दा, फर्सी वा कुभिन्डो… सहर आएपछि लाग्थ्यो- यी नामका सागसब्जीहरु त हाम्रो गाउँमा सुब्बा काकाको सुँगुरले नि नाकनिक गरेर मात्रै खान्छन्। अथवा, पहिले जंगली अवस्थामा हुँदा भूलवश ती चिज खाइयो होला, अब सहरिया भइयो- कहाँ लट्टे खाइरहनु?


अझ गाईभैंसी लैनो भएका अधिकांश बिहानीहरुको कथा एउटै हुन्थ्यो। बिहान सधैंजसो हतार। रतुवा खोला छेउको चारमाने कुमालको अँधिया खेतीमा बिहानभर हलो जोतेर वा आली लगाएर हत्तपत्त घर आइपुग्यो। त्यसपछि नुहाइधुवाइ, खानपिन अनि स्कुल जाने हतार छँदै थियो। सफासुग्घर भएर हतारिँदै भान्सामा पस्यो, सधैंजसो उही परिकार- मकै, कनिका मिसाइएको भात, अमिलो मही र अलिकति लट्टे साग वा सिन्की अचार। अथवा, त्यही अमिलो महीको सोल्दर र फर्सीको मुन्टासँग मकैभात। रिसाउँदै, फन्किँदै त्यही खान्की खायो, स्कुल पुग्यो। दिनभर महीको अमिलो डकार आइरहन्थ्यो- दिक्कै लाग्नेगरी। यो संसारै पो अमिलो छ कि झैं लाग्थ्यो।


यदाकदा फुर्सदमा बुबाले नीतिकथा र अनेक प्रसंग सुनाउनुहुन्थ्यो। घरमा लैनो गाई-भैंसी भए पनि दूध खान हत्तपत्त नपाइने तर महीमात्रै पाइने नियम हामीकहाँ थियो। एकदिन बुबाले भन्नुभयो- ‘तक्र सक्रस्य दुर्लभम्’ अर्थात् मही भन्ने चिज इन्द्र भगवान्‌ले पनि खान पाउँदैनन्। यो यत्ति दुर्लभ छ। (किनभने भगवान्‌लाई मही चढाउनै मिल्दैनथ्यो।) यसकारण जति सक्छौ ‘तक्रम’ खानुपर्छ।' घरमा गतिलो खानपिन नभएका कारण अथवा दूध पर्गेल्ती पुर्‍याउन नसकेकै बेलामा यसो भनिएको होला भन्ने लाग्थ्यो। तर, अहिले अनेक मानसिक-शारीरिक थकानले हरहर भएको आँत भर्नकै खातिर भैंसेपाटी डेरीमा गएर ५० रुपैयाँ लिटर ‘तक्रम’ किनिरहेका बेला म मेरा बुबालाई सम्झिरहेको छु, बडो प्रेम र सम्मानपूर्वक। 


विद्यार्थी बेलामा निराशा, उदासी वा हैरानीका केही कारण थिए भने त्यही लट्टे, त्यही फर्सी मुन्टा वा उही अमिलो मही आफैंमा पर्याप्त कारण थिए। बिहान लट्टे भए बेलुका बेथु अथवा भोलिपल्ट बिहान सोल्दर भए बेलुकी निगुरोमा झोल। कवि लक्ष्मण गाम्नागेको प्रचलित कविता ‘मुला’ झैं थियो गाउँले दैनिकी- ‘प्रिये, तिमी नरिसाऊ, बरु अहिले आलु र मुला पकाऊ/भरे मुला र आलु पकाऊ...।’ 


गाउँघरमा महिनामा एकचोटि अन्तिम शनिबारको दिन पारेर माउते दाइकहाँ खसी काटिन्थ्यो। भन्नै पर्दैनथ्यो- चाडपर्वका बेला एक केजी अथवा अरुबेला आधा केजी हाम्रा लागि सिकार छुट्याइएकै हुन्थ्यो। कहिले आलुमा, कहिले टमाटर वा कहिले अरु घरेलु सागसब्जी र तरकारीमा पनि त्यो सिकार ‘बार्टर’ मूल्यमा आउँथ्यो। सिकार ल्याएको दिन दिउँसो २/३ बजेबाटै बुबा भान्सामा छिर्नुहुन्थ्यो। ओदानमा कालो किटको कराही बसालेर घन्टौं केही पाक्दै छ भने त्यो सिकार नै हुन्थ्यो। आधा केजी सिकारमा आधा केजी जति मुलाका सुकेका चाना र घरेलु अरु मरमसला हुन्थ्यो। त्यो सब्जीले कम्तीमा परिवारका ८/१० सदस्य अघाएका हुन्थे, ‘कोटा’ हिसाबमा बाँडिएको हुन्थ्यो- फेरि थप्नै नमिल्ने गरी। 


त्यही आधा केजी सिकारबाट पनि केही बोसो (चर्बी) झिकेर माथि धुवाँ लाग्ने छानाको अन्तरकुन्तरमा राखिन्थ्यो। अर्कोपटक, मुलाका चानामा उसैगरी मिसाएर खाने गतिलो सब्जी हुन्थ्यो त्यो। ‘नानी, यो माथि पहाडतिर चिराइतो चरेको खसीको चर्बी हो, निकै तागतिलो चिज हो। अलिक गोज्जे गरेर माथि सिलिङतिर राख है’ भन्नुहुन्थ्यो बुबाले। दसैंछेक काटेको खसीका टेकुवाल पछि पुस/माघमा खाइन्थ्यो, उस्तै तिर्सना मेटाउने गरी। 


बोलीचालीकै हिसाबमा पनि ब्राह्मण घरमा ‘मासु’ भन्न मिल्दैनथ्यो, सिकार भन्नुपथ्र्यो। बोसो होइन, चर्बी भनिन्थ्यो। आन्द्राभुँडी होइन, भित्र्याँस चल्थ्यो। चोक्टा कसैले भन्यो भने त्यसको उठीबास लाग्थ्यो, ‘सिकारका चाना’ भनिन्थ्यो। झुक्किएर कसैले ‘झोल मलाई’ भन्यो भने त्यसले हुर्मत खेप्नुपर्थ्यो। ‘रस भन्ने गर् मूर्ख’ भनेर सिकाइन्थ्यो। हो, भान्सामा सिकारको बास्नामात्रै हरर आउँथ्यो, तर चानाका नाममा मुखमा ठोक्किन आइरहने मुलाका सुकुटी बढी हुन्थे। तर, स्वाद भने अलग हुन्थ्यो, जाइदानो ‘फ्लेबर’ले भरिएको मुला-सुकुटी र चर्बी। कवि गाम्नागेले भनेजस्तो मिट मसला हालेर पकाएको आलु-मुलाजस्तो, जिब्रो झुक्याइरहने !

OOO

कुभिन्डो वा चिचिन्डोको भित्री गुदी निकालेर त्यसलाई सुरक्षित डब्बाझैं बनाइन्थ्यो। त्यसमध्ये कुनैमा फूल उठ्ने मकै राखिन्थ्यो, कतै भटमास र बिउबिजन। कुनैमा चिनी-मिश्री लुकाइएको हुन्थ्यो, कतै सातु। छोराछोरीले भोक लाग्यो भनेमा बाबुआमाले पालो गरेर ती खानेकुरा दिन्थे। आजभन्दा २० वर्षअघिसम्म यति बिघ्न चाउचाउ र कुरमुरे, बिस्कुट र थुक्पा गाउँघरमा आइसकेका थिएनन् कि? अथवा भए पनि त्यसबेलासम्म चाउचाउहरु ‘वर्गीय खान्की’मै सीमित थिए होलान्। 


यो आफ्नो गाउँमा बुबाआमा छउन्जेलको कुरा हो। अहिले सम्झँदा लाग्छ- हाम्रो एउटै घर रैथाने कुराले भरिएको एउटा संग्रहालयझैं थियो। घरैमा ठेकी-मदानी थिए, टोलुङ थियो, फामहरु (दही जमाउने भाँडा) थिए, ससाना हर्पे थिए। दाप-दापमा साइज-साइजका खुकुरी-कर्द थिए। गाउँभरका छरछिमेकीहरु चिउरा कुट्न, दाल फल्न वा न्वागी चामल निफन्न हाम्रो ढिकी-जाँतोछेउ आइपुग्थे। दसैं-तिहार, चैते दसैं, असार १५ का बेला त बिहान ३ बजेदेखि ढिकी कुट्ने ‘क्यू’ लाग्थ्यो। त्यसबेला यो जीवनजत्तिको उत्सवले भरिएको चिज केही होला भन्ने थिएन। 


आज बाआमा बितेर गएपछि ढिकीजाँतो ‘सोकेश’ झैं पर ग्वालीको भित्तोमा कतै थन्किएका छन्। ठेकी, टोलुङ, हर्पे त अवलोकन गर्नैका लागि पनि खोज्नुपर्ने स्थिति छ- जीर्णकाय घरको सिलिङतिर। घरखेतीमा बेथु, लट्टे भेट्न मुस्किल छ। तोरी र रायो साग पनि बजारबाटै किनेर ल्याइने रै'छ। जिरे खोर्सानी, तित्री, लहरे आँपका बाटो त सिंगो गाउँमै छैन रे। सरकारी र निजी विद्यालयका शिक्षक-शिक्षिका मेरो दाजु-भाउजूहरुका घर-घरमा २/४ वटै फ्रिजहरु ठडिएका छन्। त्यहाँभित्र कोक-फ्यान्टा, एप्पल जुस, ट्याङका बट्टा सजिएका छन्। बजारबाट किनेर ल्याएको बेमौसमी करेला, भिन्डी, चम्सुर-पालुङ र चिकेन ससेज, ड्रमस्टिकका प्याकेटहरु राखिएका छन्। तर, कहीँकतै छैन त्यो लट्टे र अमिलो मही। अनि, छैनन् मेरा बाबुआमा पनि; जो जानीनजानी पहाडदेखि मधेससम्म रैथाने बनेरै बाँचे। र, रैथाने बनेरै बिते पनि। 


म अहिले लोकगायक कमलीकान्त भेटवाललाई सुनिरहेको छु-

‘हे... आमाले दिएको दहीदूध खाइनँ

आज र मैले अमिलो मही पाइनँ...’

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully