कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद विकास कोषको रकम कोरोनाविरुद्ध लगाउन कांग्रेस युवा नेताहरुको सुझाव

सुरक्षाकर्मीको तलब कटाउने निर्णयको विरोध

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेताहरुले कोरोना महामारीले ल्याएको संकटको समयमा खर्च कटौती गर्न सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्ने बताएका छन् ।

सांसद विकास कोषको रकम कोरोनाविरुद्ध लगाउन कांग्रेस युवा नेताहरुको सुझाव

उनीहरुले पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गरी जनताको हितमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।


चन्द्र भण्डारी, धनराज गुरुङ, रत्ना शेरचन, गुरु घिमिरे, कमला पन्त, गगन थापा, बद्री पाण्डे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले जारी गरेको अपिलमा सुरक्षाकर्मीको तलब काट्ने कुराको विरोध गरिएको छ ।


उनीहरुले राष्ट्र संकटबाट गुज्रिरहेको बेला भ्रष्टाचारमा संलग्न भएका पात्रले अहिले कुनै कारणबाटठ्ठ उन्मुक्ति पाए पनि उचित समयमा उनीहरु दण्डित हुने बताएका छन् । उनीहरुले भनेका छन्- 'यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटीको अपराध हो।यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न सक्तैन। अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्ति ले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने छन्।'


उनीहरुले लकडाउनमात्र समस्या समाधानको सम्पूर्ण विकल्प नभएको भन्दै सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले कोभिड १९ को संक्रमण समुदायलमा फैलन नदिन परीक्षणको दायरा र गति दुवै बढाउन सरकारलाई सुझाव दिएका छन् । अहिलेसम्म भएको परीक्षणको गति सुस्त भएको भन्दै उनीहरुले परीक्षण केन्द्रहरु पनि अविलम्ब थप्न सरकारलाई सुझाव दिएका छन् ।


उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारलाई आग्रह गरेका छन् । १० बुँदे अपिलमा विदेशबाट आउन खोज्ने नेपालीलाई आउन दिइ क्वारेन्टाइनमा राख्नुपर्ने तथा सबै स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा गरेर घर जान दिने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।


दैनिक ज्याला मजदुरी गर्नेहरुको तथा गरीब नेपाली र वृद्ध वृद्धालाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् । उनीहरुले यस्तो संकटको घडीमा सबै नेपाली एकजुट हुनुपर्ने तथा सरकार चलाउने मुख्य व्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने पनि बताएका छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?