एपीएफ अस्पतालमा अब कोरोना संक्रमितको मात्रै उपचार हुने, आइसोलेसनमा ७ जना भर्ना

चैत्र २७, २०७६

मातृका दाहाल

काठमाडौँ — सरकारले सशस्त्र प्रहरी बल (एपीएफ)को बलम्बुस्थित अस्पताललाई 'कोरोना डेडिकेटेड' अस्पतालका रुपमा तयार गरेको छ ।

राजधानीमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएको कोरोना रोगको परीक्षण तथा उपचार अब एपीएफ अस्पतालबाट पनि थालिएको हो ।

एपीएफ अस्पतालमा पहिलो पटक ७ जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार थालिएको छ । उपचारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी चिकित्सकहरुको संयुक्त टोली खटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एपीएफ अस्पतालमा ७ जनालाई आइसोलेसन वार्डमा राखिएको जनाएको छ ।

चैत ८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिले एपीएफ अस्पताललाई कारोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल बनाउने निर्णय गरेको थियो । सोही निर्णयपछि सशस्त्रले अस्पताल परिसरमा रहेका अन्य कार्यालय अन्यत्र सारेको थियो ।

१ सय १० शय्याको अस्पतालमा १० वटा आईसीयू कक्ष निर्माण गरिएको छ । त्यहाँ बेड भर्ना भएर बसेका २८ जना बिरामीलाई छाउनीस्थित सैनिक अस्पतालमा स्थानान्तरण गरिसकिएको छ

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully