कोरोना उपचार कोषमा सांसद र कर्मचारीको तर्फबाट १ करोड १ लाख रुपैयाँ जम्मा

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्नका लागि सरकारले स्थापना गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष'मा संघीय संसद्का सांसद र कर्मचारीहरुका तर्फबाट १ करोड १ लाख ३२ हजार ८ सय रकम जम्मा गरिएको छ ।

उक्त कोषमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक-एक महिनाको पारिश्रमिक बराबरको ६७ हजार ३२० रुपैयाँका दरले जम्मा गरेका छन् । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दहालले भने उक्त कोषमा ७० हजार ७३० रुपैयाँ जम्मा गराएकी छिन् ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार उक्त कोषमा नेकपाका १९५ सांसदले रकम जम्मा गराएका छन् । नेकपाका सांसदहरूको तर्फबाट ६३ लाख २ हजार ५९० रुपैयाँ जम्मा गरिएको छ । नेकपाले सबै सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम जम्मा गराउने निर्णय गराएको थियो ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना कोषमा ६४ हजार ७० रुपैयाँ र जनमोर्चाकी सांसद दुर्गा पौडेलले ३२ हजार ३५ रुपैयाँ जम्मा गराएकी छन् ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा सांसदका निजी सचिवालयका तर्फबाट २१ लाख ४६ हजार ८५६ रुपैयाँ जम्मा गरिएको छ भने संसद् सचिवालयका स्थायी कर्मचारीहरूले ११ लाख १७ हजार ९७९ रुपैयाँ जम्मा गराएका छन् ।
संसद् सचिवालयमा करारमा कार्यरत कर्मचारीहरूले २ लाख ६३ हजार ९ सय रुपैयाँ जम्मा गराएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी लगायतका दलहरूले उक्त कोषमा रकम जम्मा गर्ने घोषणा गरेका थिए । यी दलहरूले सबै सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका थिए । त्यस्तै, केही सांसदहरूले एक महिना भन्दा बढीको पारिश्रमिक कोषमा राख्ने घोषणा गरेका थिए । तर, सार्वजनिक रूपमा भएको घोषणाले औपचारिकता पाएको छैन ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पहिलो चरणमा उक्त रकम जम्मा गरिएको र बाँकीको अर्को चरणमा गरिने जानकारी दिए । 'यो पहिलो चरणको रकम हो । केही घोषणा गरेका छन् तर लिखित रूपमा आइसकेको छैन,' पाण्डेले भने, 'अरु दलहरू र माननीयहरूले मिडियामा घोषणा गर्नुभएको छ । लिखित पत्र आएपछि प्रक्रिया अगाडि बढ्छ र दोस्रो चरणमा जम्मा गर्छौं ।'
चैत ९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि उक्त कोष स्थापना गरेको थियो । उक्त कोषमा संघीय सरकारका मन्त्रीहरूको एक-एक महिनाको पारिश्रमिक राख्ने निर्णय भएको थियो । उक्क कोषमा सरकारले सुरुमा ५० करोड राखेको थियो । सरकारले स्थापना गरेको कोषमा विभिन्न निकाय र व्यक्तिले रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।
प्रकाशित : चैत्र २५, २०७६ १४:०२