कांंग्रेस पदाधिकारी बैठक : सरकारले सबै दललाई विश्‍वासमा लिन नसकेको आरोप

कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले संकटका बेला सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नु पर्ने बेलामा सरकार त्यस दिशामा गम्भीर नभएको आरोप लगाएका छ । 

कांंग्रेस पदाधिकारी बैठक : सरकारले सबै दललाई विश्‍वासमा लिन नसकेको आरोप

कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले आफूले राष्ट्रिय सहमतिका लागि पहल गरे पनि प्रधानमन्त्री केपी ओलीले सहमतिका साथ अघि बढ्ने तत्परता नदेखाएको बताएका थिए ।


संसद् अधिवेशनसमेत प्रमुख प्रतिपक्ष दलको परामर्श समेत नलिई सरकारले एकलौटी रुपमा अन्त्य गरिएको प्रति कांग्रेसले असन्तुष्टि प्रकट गरेको थियो ।


‘कोभिड—१९’ संक्रमणबाट मुलुक र जनतालाई बचाउन सरकार आफैले सबै राजनीतिक दल र सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्नुपर्दथ्यो, म आफैले पूर्व प्रधानमन्त्रीहरुसग छलफल गरेर प्रयास गरेँ, तर सरकारका तर्फबाट सहमतिको प्रयास अघि बढेको देखिएन’ देउवाको भनाइ उद्धृत गर्दै महतले भने,‘सबैको सहयोग लिन सरकारले सकेन भने अहिलेको चुनौती सामाना गर्न सकिन्न ।’

बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई अहिलेसम्म पनि उपलव्ध भइनसक्नु लज्जाको विषय रहेको कांग्रेसले जनाएको छ । स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था सरकारले उपलव्ध गराउन नसक्दा अन्य बिरामीले समेत अस्प्तालमा उपचार पाउन छाडेको भन्दै यस्तो स्थितिको चाँडो अन्त्य गर्न कांग्रेसले माग गरेको छ ।


सरकारले लकडाउन गरेपछि कांग्रेसले पहिलोपटक पदाधिकारी बैठक राखेको हो । सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित थिए ।


बैठकले स्वास्थ्य समाग्रीको आपूर्ति र असंगठित मजदुरहरुको राहत प्याकेज तत्काल बाँड्न सरकारसँग माग गरेको छ । स्वास्थ्य सामग्रीको आपूर्ति गर्दा पारदर्शी रुपमा गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिइएको विषयमा समेत बैठकमा छलफल भएको थियो । सेनालाई आपूर्तिको जिम्मा दिँदा नागरिक प्रशासन असक्षम रहेको सन्देश दिएको धेरै नेताहरुको तर्क थियो । ‘यसले सरकारप्रतिको विश्वसनीयता घटाएको छ । किन सेनालाई दिन पऱ्यो भन्ने विषयमा बैठकमा छलफल भयो,’ महतले थपे, ‘कांग्रेसले यसलाई गलत नजिरको रुपमा लिएको छ ।’


कांग्रेसले आपूर्ति व्यवस्थ सहज रुपमा हुन नसक्दा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । भारतका विभिन्न ठाउँमा घर फर्केका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग काग्रेसले माग गरेको छ । सरकारको बेवास्ताका कारण सीमा क्षेत्रमा सयौं नेपालीको विचल्लीमा परेको भन्दै उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा नेपाल आउन ल्याउने व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिड—१९ बाट बच्नका लागि लकडाउन बाहेक अर्को विकल्प नभएको भन्दै घरमै बस्नका लागि कांग्रेसले आम जनतासँग अपिलसमेत गरेको छ । पार्टीका कार्यकर्ताहरुलाई आ–आफ्नो ठाउँबाट जनताको सेवा र सुविधाका लागि सुरक्षित रुपमा जुट्न समेत कांग्रेसले आह्वान गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?