बागलुङमा छैन द्रुत परीक्षण किट

प्रकाश बराल

बागलुङ — सरकारले र्‍यापिड टेस्ट (द्रुत परीक्षण) गर्ने भने पनि किट्सलगायतका उपकरण जिल्लामा छैन । संघीय सरकारले सोमबारसम्म किट उपलब्ध गराउने भनेका आधारमा यहाँ संकलित तथ्यांक, जनशक्ति र अस्पतालको क्षमताबारे छलफल सुरु भएको छ ।

बागलुङमा छैन द्रुत परीक्षण किट

धौलागिरी अञ्चल अस्पतालमा प्रारम्भिक तयारीस्वरूप सबै जनरल वार्डलाई सकेसम्म आइसोलेसन बनाउने, औषधि व्यवस्था गर्ने तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा परिचालित गर्ने काम थालिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।


मन्त्रिपरिषदले शनिबार कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । स्वास्थ्य सामग्री नभएकाले हाल यहाँको अस्पतालमा सामान्य सेवा र स्वाब संकलनपछि पठाउने काम मात्र भइरहेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार जिल्लामा करिब ९ सय विदेशबाट आएको तथ्यांक छ । तिनैमध्ये दुई जनामा कोभिड–१९ को संक्रमण भेटिएपछि जिल्लामा त्रास फैलिएको छ । विदेशबाट आएका अधिकतरको परीक्षण गर्न बाँकी छ । उनीहरू गाउँपालिका र नगरपालिकामा बनेका क्वारेन्टाइनमा नभई घरमै बसेका छन् । ‘शंकास्पदलाई क्वारेन्टाइनमै राख्‍नुपर्नेछ,’ गुरौले भने, ‘पालिकाहरूमा क्वारेन्टाइन बने पनि कोही बसेका छैनन् ।’


प्रमख जिल्ला अधिकारी गौलोचन सैंजूले पहिलो चरणमा विदेशबाट आएका, उनीहरूका परिवार र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने तयारी रहेको बताए ।


संक्रमित भेटिए अस्पतालका सबै वार्डलाई आइसोलेसन बनाएर राख्ने तयारी छ । सरकारले धौलागिरी अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने भनेको छ । अहिले अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।


डा. झलक गौतमले सोमबारसम्ममा परीक्षणको कार्यविधिसमेत बनाइने बताए । ‘कसरी, कति जनासम्मको परीक्षण गर्ने, त्यसको व्यवस्थापन कसरी गर्ने कार्यविधि बन्छ,’ उनले भने, ‘त्यसपछि परीक्षण र उपचार हुन्छ ।’

मेडिकल सुपरिन्टेन्डेन्ट डा. पोखरेलले स्वास्थ्यकर्मीलाई परीक्षणबारे तालिम आवश्यक भएको बताए । ‘सामान्य किटमा परीक्षण गरेजस्तो होइन, जतिबेला पनि स्वास्थ्यकर्मीलाई सर्न सक्ने भएकाले तालिम र सुरक्षित सामग्री चाहिन्छ,’ उनले भने ।


कोभिड–१९ बाट संक्रमति युवासँगै कञ्चनपुरबाट आएको पत्ता लागेपछि एक जनालाई बागलुङको बरेङ गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।


लकडाउन पूर्ण कार्यान्वयन नभएको भन्दै प्रशासनले आइतबारदेखि कडाइ गरेको छ । आइतबार बिहान मात्रै प्रहरीले घर बाहिर बिनाकाम डुलेका ४० जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : चैत्र २४, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?