कोभिड १९ : दैनिकीको अनौठो क्रमभंगता

घिमिरे युवराज

अरू बेला वास्तै नगरिएका चिजहरू वास्ता हुन थालेका छन् । बेतुकका र अर्थहीन लाग्ने कुराहरू अचानक मूल्यवान् भएका छन् । कोभिड–१९ को विश्वव्यापी संक्रमणले करोडौँ मानिसझैँ म पनि एकान्तवासमा छु । सहरभन्दा अलिक पर । जिल्ला भक्तपुर हो तर भक्तपुर सहरभन्दा निकै पर । कौशलटार स्टेसनबाट करिब ३ किलोमिटर दक्षिणमा एउटा गाउँ छ, सिरुटार । यही गाउँको एउटा एकतले घरमा ‘लडकडाउन’मा छु म ।  

मार्टिन क्रिम्पको नाटक ‘द सिटी‘ जस्तै भएको छ जीवन । नाटकको पात्र क्रिसलाई आफ्ना बच्चाहरूको कोठामा ताला छ कि छैन भन्ने पनि थाहा हुँदैन । जागिर फुस्किएपछि ऊ घरमा छ । आफ्नै घरमा पहिले कहिल्यै महसुस नगरेका धेरै कुरा अहिले महसुस गर्दै छ । सहरका उस्तै घर र उस्तै बगैँचाबीच आफ्नो घरको बगैँचा के कारणले फरक छ भन्ने पनि थाहा थिएन उसलाई । छिमेकी जेनीले भनेपछि चाल पाउँछ । आफ्नो पद र स्वतन्त्रता गुमाएपछि मान्छेले धेरै कुरा बुझ्छ तर त्यतिखेरसम्म धेरै ढिलो भइसकेको हुन्छ ।


झ्यालबाट हेर्छु, चमेली कति मजाले मौलाएको छ । मुन्तलाको पात कोमल अनि कलिलो, आँखालाई शीतल मिल्ने हरियो भएको छ । एभोकाडोमा पनि नयाँ पालुवा पलाएको छ । यसमा पहिलो पटक फूल लाग्न थालेको देखेर लुना निकै उत्साहित छ । वरिपरि चरा आउन थालेका छन् । झ्यालबाटै चिरबिरचिर सुन्छु । छतमा लुनाले पानी राखिदिएकी छ चराहरूलाई । केही काँक्रा, फर्सी र करेलाका बिरुवा यही एकान्तवासको बेला रोप्न भ्यायौँ । बढ्न थाले । यस्तो लाग्छ, हजारौं वर्षपछि पहिलो पटक यो जगत्का सारा वनस्पति खुसी छन् । चराचुरुङ्गी, कीरा–फट्याङ्ग्रा, जलचरथलचर, सारा जनावर आनन्द महसुस गरिरहेका छन्, जस्तो म महसुस गर्छु । सायद यतिखेर संकट र त्रासमा मान्छे मात्र छ । मान्छे मृत्युदेखि डराउँछ, यो कुनै नौलो कुरा भएन । तर, एउटा भाइरसले सारा बम–बारुद, युद्ध रोकिदिन्छ । संसारलाई ध्वस्त गर्ने एकसेएक हतियार भएर पनि निहत्था भएको छ मान्छे । जनावर र वनस्पतिले हाम्रो दुर्गति हेर्दै होलान् । वा यो ब्रह्माण्डका अन्य ग्रहमा पनि प्राणी छन् भने तिनले पृथ्वीवासीको यो संकट हेर्दै होलान् ? कोरियन फिल्म पोएट्रीमा कविता लेखन तालिम लिइरहेकी एक वृद्धा रूखमुनि गएर चराहरूको चिरबिर सुन्छिन् र भन्छिन्, ‘हजारौँ चराहरू गीत गाइरहेका छन् । तर के गीत गाइरहेका छन् बुझ्दिनँ ।’


बुसान– म मेरा सहकर्मी र छिमेकीहरूको चासो र चिन्ता बुझ्छु । त्यसैले म यो विश्वविद्यालय भवनको लिफ्ट प्रयोग गर्दिनँ । र, नवौँ तलामा रहेको मेरो अपार्टमेन्टमा पनि म सिँढी नै प्रयोग गर्छु ।

४७ वर्षे पार्कले विशेष कक्षमा ९ दिन बिताए । त्यसपछि १४ दिन आइसोलेसनमा बसे । तंग्रिनका लागि थप १० दिन अस्पतालमै बसे । अझै पनि वरिपरिका धेरै मानिस मलाई रोग छ भन्ने ठान्छन् । पार्क अस्पतालमा भएको बेलामा छिमेकीहरू आफ्नो घरअगाडि आएर कराएको उनकी आमाले सुनिन् । ‘यो घरको छोराको कारणले हामी पनि मर्ने भयौँ ।’

– इन्डिया टुडे, ३१ मार्च २०२०



आफ्नै अनन्य मित्रलाई अँगालो मार्न डराउँछु म । हिजो करप्प हात अँठ्याएर मित्रता जाहेर गर्ने साथी परैबाट हात हल्लाएर तर्किन्छ । आफ्नै परिवारबीच आदिम अन्धविश्वासी छुवाछुतजस्तो पुनरावृत्त भएको छ जीवन । सबै योजनाहरूको तालिका भत्किएको छ । समयले हामीलाई आफ्नो तालिकामा राख्छ कि हामी समयलाई आफ्नो तालिकाअनुसार विभाजन गर्छौँ ? आफ्ना सपना, योजना र कार्य सम्पादनलाई हामी व्यक्तिको क्षमता र कौशलसँग दाँज्छौँ । धेरै व्यस्त, काम भएको र धेरै योजना बोकेको मानिसलाई आमसमाजले चासो दिने संस्कार थियो, छ । कार्य व्यापार र योजना नभएका मानिसप्रति परिवार र समाजले सधैँ प्रश्न गर्थ्यो, गर्छ । केही समयअघि एउटा टेलिभिजन कार्यक्रममा राजनीतिक विश्लेषक आहुतिले भने, ‘संसारमा अरूको मजदुरी गर्ने प्राणी भनेको मान्छे मात्रै हो । अरू सबै प्राणी आफ्ना लागि (घर बनाउन र खान) मात्रै काम गर्छन् । यसरी मैले पहिला कहिल्यै सोचेको थिइनँ ।


तर मान्छेलाई बस्ने ठाउँ र खानाले मात्रै पुगेन । अरू जनावरभन्दा पहिले मान्छेको महत्त्वाकांक्षा सायद लुगाबाट सुरु भयो । त्यसपछि जिब्रोबाट । पकाएर खान थाले पछि मान्छेले स्वाद थाहा पायो । मान्छेको लागि छाला र जिब्रो महत्त्वपूर्ण भयो । खानाको परिकार, लुगाको किसिम, वासस्थानको किसिम यी तीन कुराले मान्छेलाई अरू प्राणीभन्दा फरक बनायो । सायद लुगाले शरीर छोप्न थालेपछि मान्छेमा यौनांगप्रति बढी उत्सुकता भयो । अलिअलि पढेका, सुनेका र बाँकी कल्पना मिसिएर मनमा अनेकौँ कुरा खेल्छन् । ट्विट गर्छु– ‘खाने कुरा उब्जाउने र रोगको उपचार गरिदिने, यी दुई नै सबैभन्दा महान् रहेछन् । अरूचाहिँ त्यसपछिका कुरा रहेछन् । अरूचाहिँ क्रमशः त्यसपछिका प्राथमिकता रहे ।’ अरूका फेसबुक, ट्विटर स्क्रोल गर्छु । कोरोना भाइरसकै कहर छ जता पनि ।


कोभिड १९ का कारणले हिजो साँझ ७ बजे मेरो बुबाको मृत्यु भयो । मेरी आमा क्वारेन्टाइनमा छिन् र उनी पनि संक्रमित छिन् । मेरो बुबाको अन्त्येष्टि समारोह गर्न दिइएन । मेरी आमालाई म ५ फिट परै बसेर झ्यालबाट चियाउन सक्छु । आमाले हामीलाई पनि भाइरस सर्ला भन्ने चिन्ताले निवेदन गर्दै झनिन्– ‘तिमीहरू यहाँबाट जाओ ।’

– सोनाम, ट्विटर (@sonamhasleft)


बेडरुम, लिभिङ रुम, पुस्तकालय, किचन, ट्वाइलेट र घरको छत सिंगै ब्रह्माण्डजस्तो छ आजकल । हामी यस घरमा बस्न थालेको ८ वर्ष पुग्यो । यसरी घरमा बसेको पहिलो पटक हो । चैत ११ भन्दा अघि सम्भवतः कुनै दिन थिएन, म पूरै २४ घण्टा बाहिर ननिस्की घरमै बसेको । हरेक दिन बिहानदेखि बेलुकासम्म थिएटरमै हुन्थेँ । बिहान ७ बजे थिएटर क्लासका लागि पुगिसक्नुपर्थ्यो । दिनभरि रिहर्सल वा अन्य काम । साँझ नाटक । यही दैनिकी चलिरहेको थियो, ८ वर्षदेखि । मंगलबार बिदाको दिन पनि म पूरै घर बसेको कुनै रेकर्ड थिएन । तर, यसपटक घरमै देखेर छिमेकीहरू मुस्कुराउँछन् । भन्छन्, ‘लकडाउनले कमसेकम छिमेकीको अनुहार देख्न पाइयो ।’


आइसल्यान्ड– प्रसिद्ध रियालिटी सो स्टार ओलिभिडा बकल्यान्डले एकलवासका लागि ठूलो घरको पुनर्निर्माण गरिन् र लोग्नेलाई सँगै राखिन् । तर कोरोना भाइरसको लकडाउनको समय बिताउन उनले अर्को उत्तम उपाय गरिन् । इन्स्ट्राग्रामका २.३ मिलियन फलोअरहरूलाई उनले आफ्ना भित्री वस्त्र मात्रै लगाएको तस्बिर र भिडियो राखेर चकित पारिन् ।

– डेलीमेल, ३१ मार्च २०२०


घरप्रति मलाई कहिल्यै मोह भएन । काठमाडौंमा आफ्नै घर होला भन्ने पनि थिएन । अहिले पनि लाग्छ, मजस्तो कमजोर आर्थिक स्थिति भएकाहरूले घरका लागि समय र सम्पत्ति खर्चनु भनेको आफ्नो इच्छा र आनन्दको तिलाञ्जली दिनु हो । घर बनाउन लाग्ने सम्पत्ति र शक्तिलाई आफ्नो काममा दिन सके जीवन धेरै सहज हुने रहेछ । त्यसको विकल्प यस देशका सहरहरूमा कोठाभाडा ‘रिजनेबल’ र व्यवस्थित हुन जरुरी छ । तर नगरपालिकालाई यसको कुनै चासो छैन । कुन घरमा कति मानिस बस्छन् भन्ने डाटा पनि स्थानीय सरकारलाई सायदै पत्तो होला । यस्तो अवस्थामा घर किन्ने दुस्साहस गर्ने मजस्तो बबुरोले बैंकको लोन तिर्दातिर्दा जिन्दगी नै एक किस्ताजस्तो हुने रहेछ । तराईतिर गाईभैँसी धेरै दौडन्छन् भनेर घाँटीमा लामो बाँस वा काठको टुक्रा झुन्ड्याउने चलन छ । बैँकको किस्ता हाम्रो जीवनमा त्यस्तै भएर झुन्डिएको छ । र, यही घरभित्र हामी लकडाउन छौँ ।


उतिखेर हाम्रो घर खेतको बीचमा थियो । अहिले घरैघरको बीचमा छ । पहिलो पटक घर हेर्न आउँदा कौशलटारबाट भित्र लागेपछि कुनै अनकन्टार ठाउँ आएजस्तो लागेको थियो । उतिखेर यहाँका पुराना घरहरूमा पर्खाल थिएन । चोरी वा अपराधको कुनै डर थिएन । नयाँ बस्तीसँगै डर पनि आयो । र, अचेल बन्ने सबैघरमा ठूलाठूला पर्खाल छन् । अगस्ट विल्सनको नाटक ‘फेन्स’मा एउटा संवाद छ– ‘एकखाले मान्छे बाहिरका मान्छे भित्र नआऊन् भनेर पर्खाल बनाउँछन् । अर्काखाले मान्छे मान्छेहरूलाई भित्रै थुन्नका लागि पर्खाल बनाउँछन् ।’ तर अहिले हाम्रा लागि पर्खाल दुवै प्रयोजनले उपयोग भइरहेको छ । जाति, लिंग, धर्म, रूपरंग, वर्ग, वर्ण–बनोटका अनेकौँ कृतिम पर्खाल बनाएर हामीले मानव जातिलाई अन्धविश्वासको क्वारेन्टाइनमा राखेको वर्षौं भयो ।


दाङ– कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ । घोराहीस्थित बुद्ध इन्टरनेसनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका छन् ।

– देवेन्द्र बस्नेत, नागरिक दैनिक, २०७६ चैत १८, मंगलबार


हाम्रा छिमेकीहरूलाई सहर गइरहन पर्ने थिएन । घरवरिपरि तरकारी खेती र धान खेती हुन्थ्यो । यो उर्वर भूमिमा बिरुवाभन्दा घर उम्रिए धेरै । केही वर्षअघि वरिपरि बनिँदै गरेका घर र जग्गाको प्लटिङको फोटोसहित ‘धान खेतमा घर उम्रियो’ लेखेर ट्विट गरेको थिएँ । एक लेखकले बतासे हाने– ‘आफूचाहिँ त्यही खेतको बीचमा घर किनेर बस्ने । अरूले घर बनाएको चाहिँ देखिनसहने । अरूलाई चाहिँ घर चाहिँदैन ?’ त्यसपछि यस्ता तस्बिर ‘सोसल मिडिया’मा पोस्ट गर्न छोडिदिएँ । मलाई थाहा छैन, खेतीयोग्य जमिन प्लटिङ गर्ने अभियानमा व्यक्तिको सोचले कति नियन्त्रण गर्न सक्छ ? राज्यसँग कुनै नीति हुनुपर्छ कि पर्दैन– बसोबास, कृषि, उद्योग र व्यापारको क्षेत्र निर्धारण गर्ने ?


धेरै पहिलेदेखि यस भेगका धेरै गाउँमा पैदल चहारेको छु । घरबाट बिरुवाको बिन्दवासिनी मन्दिरसम्म ४ किलोमिटर छ । बिरुवा हुँदै डाँडाको कातैकात घ्याम्पेडाँडा पुगिन्छ । अचेल ‘पाइलट बाबा आश्रम’ले परिचित छ यो डाँडा । देशका समाजवादीदेखि साम्यवादीसम्म, लेफ्टिस्टदेखि राइटिस्टसम्म एकसेएक नेताहरू यिनै बाबाको शरणमा पुग्छन्, आशीर्वाद लिन । अझ यो सेल्फ क्वारेन्टाइनको समयमा हाम्रा मार्क्सवादी नेताहरू सायद सद्गुरु, रामदेव वा रविशंकरको प्रवचन सुन्दै छन् । र, कोरोना भाइरसको आध्यात्मिक उपचार खोज्दै होलान् । अनि कहाँबाट होस् स्वास्थ्यसेवा चुस्त । खैर, सल्लैसल्लाको जंगलबीचबाट घ्याम्पे डाँडा चढ्न निकै रमाइलो हुन्छ । बाटोमा गुन्डु गाउँ छ । यहाँ कथाकार चंकी उर्फ अभय श्रेष्ठको घर छ । कहिलेकाहीँ खेत खनिरहेका भेटिन्छन् यिनी । साहित्य, समाज र राजनीतिका बारेमा उनकै घरमा घण्टौं गफ गरेर बसेको छु । यिनी निकै अध्ययनशील र राजनीतिक चेतना भएका लेखक हुन् ।


लकडाउनको औपचारिक घोषणाका केही दिनअघि लुना र म पैदल हिँड्यौँ । मूल बाटोभन्दा पनि भित्री गाउँ वा खेतको बाटो हिँड्दा धूलो र गाडीले दुःख दिँदैन । टीकाथली, चाँगाथली, गाम्छा, गुन्डुसम्म फरकफरक बिहान हामी हिँडिरहेका थियौँ । यस भेगमा पानीको धेरै दुःख छ । बिहान डोकोमा पानीको गाग्री बोकेर धारातिर गइरहेका वा पानी भरेर घर फर्किरहेका धेरै महिला बाटोमा भेटिन्छन् । थोरै पानी आउने तुरतुरे धारामा पानी थाप्नेहरूको ताँती हुन्छ । घरको काम सकेर अलिक अबेर महिलाहरू खेतमा काम गरिरहेका वा घाँसको भारी बोकेर आइरहेका पनि देखिन्छन् । पुरुषहरूको जमघट चियापसल, क्यारमबोर्ड, लुँडो आदिमा देखिन्छ । लकडाउनको समयमा पनि यहाँको दैनिकी उस्तै हो । बाहिर काम गर्ने पुरुषहरू झन् फुर्सदमा छन् ।


चैत २१ गते बिहान मैले अचानक लकडाउन तोडेँ । चाँगाथलीको भित्री गाउँ हुँदै बिरुवा, गुन्डु, घ्याम्पेडाँडा पुगेर घरसम्म आइपुग्दा १९ किलोमिटर हिँडेछु । गाउँमा पुरुषहरूको चहलपहल उस्तै देखेँ । उर्वर खेतहरूमा प्लटिङको काम धमाधम भइरहेको छ । कतैकतै घर निर्माणको काम पनि चलिरहेको छ । सिमेन्ट, गिट्टी र बालुवाले सबै खेतबारी छोपेको छ । कतैकतै आलु, साग, गहुँ, काउली खेती चोक्टाचोक्टा बाँकी छ । कतैकतै च्याउखेती र कुखुरापालन पनि छ । लकडाउनले गतिविधि निष्क्रिय भएको यो समयमा यिनै चोक्टे कृषि गर्नेहरूले पनि बचाउने रहेछन् । कौशलटारदेखि बिरुवासम्म ७ किलोमिटर मूल बाटो ठूला घरहरूले जोडिइसक्यो ।


चैत ११ गते बिहान हिँडेर आएपछि कथाकार अविनाश श्रेष्ठलाई फोन गरेँ । उहाँले प्रसिद्ध भारतीय नाटककार रमेश बक्षीको बेजोड नाटक ‘देवयानी का कहना है’लाई नेपालीमा अनुवाद गरिदिनुभएको छ । त्यसको फाइनल प्रुफ सँगै बसेर हेर्दै थियौँ । लकडाउन अवधिभरि नभेट्ने कुरा फोनमै भयो । मेरो विद्यार्थी अवतार पाठकसँग बसेर ‘द सिटी’को पनि नेपाली अनुवाद गरिरहेको थिएँ । शिल्पीले बालबालिकाका लागि तयार पारेको नाटक ‘गोल’को नियमति प्रदर्शन रद्द भयो । नाटकघर अनिश्चित कालका लागि बन्द भयो । केही कलाकार साथीहरू घर पुग्न भ्याए । तीन जनाचाहिँ थिएटरभित्रकै होस्टलमा लकडाउनमा परे । सहरसँगै सबै थिएटर बन्दछन् । अहिले बाँच्नु ठूलो कुरा भएको छ । बाँचेपछि हामी कसरी तंग्रिन्छौँ, कुनै अनुमान छैन ।


विदेशबाट आएका र कोरोना रोगको शंका लागेका व्यक्तिहरू अनिवार्य रूपमा कम्तीमा २ हप्ताका लागि क्वारेन्टाइनमा बसौँ । कोरोना भाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऔँ । घरमै बसौँ । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौँ । आफू पनि बचौँ, अरूलाई पनि बचाऔं ।

– नेपाल टेलिकम



फोनको रिङटोनमा, टेलिभिजन, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जालमा कोरोनाकै बारेमा सचेत गराउने सूचना छ । गाउँका चिया पसलहरूमा संसारका याद भएसम्मका देशको कोरोना विश्लेषण चलेको छ । केही छन् धर्मगुरुहरूका भक्त । सोसल मिडियाले फैलाएको अनेकौँ अन्धविश्वास यिनको सूचना र ज्ञानको सबैभन्दा विश्वासिलो स्रोत हो । त्यही भएर पनि लकडाउनको समयमा महिलाहरू झन् धेरै मारमा परेको भान हुन्छ । स्कुल जाने केटाकेटी घरमै छन् । अफिस वा काममा जानेहरू पनि घरमै छन् । सबैका लागि खानपिन व्यवस्था, सरसफाइ घरका महिलाले नै गरिदिनुपरेको छ । पुरुष ठिक्क खाने बेलामा घर पुग्छ । काममा जाँदा बिहान र बेलुका खुवाउनुपर्थ्यो, अहिले पटकपटक खुवाउनुपर्छ । कमसेकम मेरो टोलमा यस्तै स्थिति छ ।


वरिपरिका निर्माण मजदुरहरू पनि संकटमा देख्छु । इँटा चाङ लगाएर बनाएको टहरोभित्र एकै ठाउँ धेरै जना बसेका छन् । ५० रुपैयाँमा पाइने रोज नामको सस्तो रक्सी पसलमा खुब बिकेको छ । मेरो घरनजिकै यस्तै एउटा टहरो छ जहाँ मानिसहरू हाई काढ्दै दिनभरि तास खेल्छन् । रमिता हेर्नुबाहेक केही गर्ने स्थिति देख्दिनँ । हामी घरमा बन्दी भएर बसेको बेला पनि मान्छे भन्ने जात चुपचाप बसेको छैन । बन्दी भएर बस्नेहरूका पनि वर्ग छन् । जति नै सानो घेरामा पनि त्यो वर्ग प्रस्फुटित भएर आउने रहेछ । कसैका घरमा हरेक दिन पार्टीजस्तो छ । ब्रान्डेड रक्सी, मासु र अन्य परिकार सोसियल मिडियामा प्रदर्शित छन् । अर्कातिर ज्यालाको कमाइले बाँचेका मानिसहरूलाई हातमुख जोर्नै गाह्रो छ । लकडाउनमा रक्सी बहाना भएको छ । लाग्दैन, सरकारसँग रोगलाई रोकथाम गर्ने कुनै निश्चित योजना छ ।


भारतको राजधानी दिल्लीका सडकहरू पैदल यात्रीहरूको भीडले भरिएको छ । नजिकका प्रान्तका उनीहरू आफ्नो घर जान लागिरहेका हुन् । यी अधिकांश मानिस दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् । कोरोना भाइरसको महामारी फैलन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ तारिकमा देशभरि लकडाउन घोषणा गरेपछि कामविहीन भएका छन् । जागिर र पैसाको अभावका कारण उनीहरू आफ्नो गाउँ पुग्न व्याकुल छन् । केहीले सरकारी यात्रुबस भेट्टाए । नपाउनेहरू हिँडेरै जान थाले ।

–बीबीसी, विकास पाण्डे, भिडियो बल्सुल बर्मा, ३० मार्च २०२०


अचेल म्यासेज आतंकजस्तो भएको छ । काम नपाएर अनावश्यक भिडियोहरू कुनै प्रयोजनबिना नै किन पठाउँछन् मानिसहरू ? म कुरा बुझ्दिनँ । कोरोना भाइरसका बारेमा आधिकारिक स्रोतहरू छन् । सबैलाई विशेषज्ञ र ज्ञाता हुँदै ज्ञान बाँड्ने रहर किन आउँछ ? त्यो पनि बुझ्दिनँ । विश्वभरिबाट कोरोना संक्रमणका बारेमा आउने आधिकारिक समाचार पछ्याउने कोसिस गर्छु । त्यससँगै अन्य समस्या बढेको पाउँछु ।


नेदरल्यान्डको लरेन सहरको सिंगर लरेन म्युजियमबाट आज बिहान ३ बजेर १५ मिनेटमा सिसाको ढोका फोडेर प्रख्यात कलाकार भ्यानगगको निकै स्तरीय पेन्टिङ चोरी भयो । पर्सनाज गार्डेन एट नुएनन स्प्रिङ नामको उक्त चित्रको मूल्य पाँच मिलियन डलर अनुमान गरिएको छ ।

– द गार्डियन, ३१ मार्च २०२०



छिमेकी राजन–संगीता दाइभाउजूसँग कुरा हुन्छ, छत वा आँगनबाट । खासमा अचेल पाहुनाको संख्या बढेको छ । तर भर्चअल पाहुनाहरू । टेलिभिजन, रेडियो र सामाजिक सञ्जालबाट आउने पाहुनाहरू । भर्चुअल पाहुना पो जीवनको झन् गहिरो हिस्सा भएर आए । उज्यालो एफएमका समाचार वाचक बीचैमा समाचार रोकेर भन्छन्, ‘म साबुन–पानीले हात धोएर आउँछु । तपाईं पनि २० सेकेन्डसम्म साबुनपानीले हात धोएर आउनुस् ।’ कमेडी लाग्छ । थुनिएर कोठाभित्र सामाजिक सञ्जालमा भर्चुअल क्यारेक्टरसँग संवादमा छौँ, हामी । हामी पनि अरूका लागि भर्चुअल क्यारेक्टर भएका छौँ । यतिले नपुगे टीभीमा नेटफ्लिक्स छ । कम्प्युटरमा आधा लेखेर अड्किएको कथाको ‘वर्ड फाइल’ मिनिमाइज गरेको छु । एउटै ब्राउजरमा डब्लूएचओको वेबसाइट, कान्तिपुर, नेपाल, हिमाल, अन्नपूर्ण र नयाँ पत्रिकाको अनलाइन संस्करण ओपन छ । अन्तर्राष्ट्रिय समाचार साइट पनि खुलै छन् । अहो, प्रिभिलेज्ड म । तर, यो प्रिभिलेज्डको कुनै अर्थ छैन । सबैभन्दा ठूलो अर्थ घरभित्रै बस्नु र बारम्बार साबुनपानीले हात धोइरहनुमा छ ।


लुना र म हरेक बिहान छतमा गएर डेढ घण्टा व्यायाम गर्छौं । त्यसबाहेक नियमित रूपमा लेख्ने, पढ्ने र फिल्म हेर्ने गर्छौं । यसबीचमा पढेका किताबमध्ये ‘बिकमिङ–मिसेल ओबामा’ निकै राम्रो लाग्यो । मिसेलको बाल्यकालको मिहिन वर्णन, उनका पुर्खाहरूले भोगेको हिंसा र भेदभाव मर्मस्पर्शी छ । प्रथम महिला हुँदासम्मको उनको संघर्ष र अनुभूतिको रोचक कथा हो यो । तेस्रो मुलुकहरूमा यूएसएको समृद्धि अचम्मसँग ‘ग्लोरिफाई’ गरिएको छ । महिलावादी अमेरिकी लेखक रेवेका सोल्निटले लेखेको किताब ‘मेन एक्सप्लेन थिङ्स टु मी’ पढ्दा अमेरिकामा महिलामाथि हुने बलात्कार, हत्या र हिंसाको डरलाग्दो तथ्य पत्ता लाग्छ । महिलामाथि हुने अपराधको डाटा, विश्लेषण र विचारसहितको पुरुष मस्तिष्कलाई झकझक्याउने किताब हो यो । चिमामान्डा अदिचीका किताबजस्तै । अदिचीको एक दर्जन बेजोड कथाहरू संगृहीत ‘द थिङ अराउन्ड द नेक’ किताब पनि पढ्न भ्याएँ । बीपीका फिक्सन, ननफिक्सन मेरा प्रिय पुस्तक हुन् । यिनका समकालीन लेखकमध्ये यिनको भाषा बिछट्टै फरक र मिठासपूर्ण लाग्छ । सुधारिएको पनि होइन, कतैतिरको ठेट ग्रामीण पनि होइन । उनको आफ्नै पाराको, अनौपचारिक । यसपटक ‘नरेन्द्र दाइ’ पढ्दा फरक अनुभूति भयो । सिग्मन्ड फ्राएड धेरै हाबी भएजस्तो । उनका प्राय रचनामा महिला गृहिणी छन् । र, बारम्बार तिनको शरीर, बनावट र रूपको मात्रै कुरा हुन्छ । नरेन्द्र दाइमा पनि गौरी र अर्की पात्रका बारेमा यसरी नै वर्णन छ । मजा लागेन ।


‘कट्टेल सरको चोटपटक’, ‘अलिखित’ जस्ता उपन्यासका सर्जक ध्रुवचन्द्र गौतमका समग्र कथाहरूको ६५० पृष्ठको संग्रह पढ्न पाएको थिइनँ । गौतमको कथाकारिता मलाई जादुमयी लाग्यो । ढुंगा, हेम सुब्बाले पान खाए, रगताम्य, पहिलो प्रेमको सम्झनाजस्ता दर्जनौं कथा मलाई बेजोड लागे । पढिरहेको छु । अहिले हातमा भएको किताबचाहिँ दलाई लामाको ‘मेरो भूमि मेरा जनता’ हो । हिनुवा अचेवेको उपन्यास ‘एरो अफ गड’ पनि सँगसँगै पढ्दै छु ।


पुस्तकालयमा थुपारेका अधिकांश किताब पढ्न पाएको छैन । हरेक दिनजस्तो नयाँ किताब आएकै थिए । राम्रा फिल्म पनि आइरहेका छन् । अचेल संसारभरि गजबका सिरिज बनिरहेका छन् । किताब पढ्न, फिल्म हेर्न, लेख्न फुर्सद भएन भनेर गरेको गुनासाको एकमुष्ट क्षतिपूर्ति कोरोना क्वारेन्टाइनले दिएको छ । तर केही विशेष नपढी र नगरी समय फुत्तफुत्त भागिरहेको छ । मनमा डर छ– भाइरसको, रोगको, कामको, आर्थिक स्थितिको । ज्यान जोगाउनुको अर्को विकल्प केही छैन । तर आर्थिक संकट अर्को भाइरस हो । थिएटर बन्द छ । तलब आउने जागिर होइन, रंगकर्म । घरीघरी समाचार हेर्न मन लाग्छ ।


नयाँ दिल्ली– भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने डायग्नोस्टिक किट्सको निर्यातमा समेत रोक लगाएको छ । जबकि करिब दुई साताअघि नै भारत सरकारले अत्यावश्यक भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा पनि रोक लगाइसकेको छ ।

– सुरेशराज न्यौपाने, चैत २३, कान्तिपुर दैनिक


केही रोचक फिल्म हेर्न पाएँ । ‘आइरिस मेन’ अल पचिनो र रोबर्ट डी नेरो जस्ता पाका कलाकारहरूको बेजोड अभिनय भएको चलचित्र हो । हलिउडका मलाई मनपर्ने कलकारहरू मार्लोन ब्रान्डो, ज्याक निकल्सन र अल पचिनो हुन् । ब्रान्डो बितिगए । निकल्सन र अल पचिनोले यसपटक तृप्त बनाए मलाई । ‘वन्स अपन अ टाइम इन हलिउड’मा पनि अल पचिनोको अभिनय गजब छ । उनको नयाँ सिरिज ‘हन्टर’ हेर्न पाएँ । ८० वर्षको उमेरमा पनि लोभलाग्दो काम गरिरहेका छन् उनी । अमेरिकी नाजी हन्टरहरूको कथा भएको यो सिरिज गत फेब्रुअरी २१ मा अमेजनले रिलिज गरेको हो । सन् १९९८ मा बनेका अरू दुई चलचित्रले मलाई निकै आनन्द दिए । ज्याक निकल्सन र हेलेन हन्टको ‘एज गुड एज इट गेट्स’ अनि टम ह्याङ्स र मेघ रायनको ‘यु ह्याभ गट मेल’ सामान्य कथामाथिका बेजोड प्रस्तुति हुन् । यही फिल्मबाट ज्याकले तेस्रो ओस्कार अवार्ड पाएका थिए ।


रसियन पोर्नस्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् । ‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओछ्यानमा जान तयार छु’, टेलरले भनेकी छन् । उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । सबै जना चिन्तित छन् ।

–चैत २३, अन्नपूर्ण पोस्ट्


अक्षय कुमार र करिना कपुरको झुर फिल्म ‘गुड न्युज’ हेरेँ । कमेडी जान्द्राको भनिएको यो फिल्ममा हाँस्ने ठाउँ थाहा पाइनँ । मर्दानी २ मा पुलिस अफिसर सिवानी सिवाजी रोयको भूमिकामा रानी मुखर्जीको कमब्याक राम्रो लाग्यो । सन्नीको भूमिकामा २५ वर्षे विशाल जेट्वाले दर्शकको जीउमा काँडा उमार्ने खालको अभिनय गरेका छन् । अर्को निकै गजबको लाग्यो, इन्डियन फिल्म ‘सर’ । तिलोत्तमा सोम र विवेक गोम्बर अभिनीत यो फिल्म झिनो कथामा निकै खिपेर बुनिएको छ । दर्शकलाई बाँधिराख्न भयानक घटना वा ठूलो दुःख नै चाहिँदैन भनेर यो फिल्मले प्रमाणित गर्छ ।


कोरोना भाइरसबाट संक्रमित प्राय बिरामीलाई श्वासप्रश्वासमा समस्या हुन्छ । वृद्ध मानिसहरू, हृदयरोग, मधुमेह, क्यान्सरजस्ता रोगका पीडितलाई भाइरसको संक्रमण चाँडो हुन्छ । कोरोना भाइरस मुख्यतया र्‍यालबाट सर्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै भएको व्यक्तिमा सर्न सक्छ । आजसम्म यस रोगको औषधी छैन । संक्रमित व्यक्तिबाट टाढा रहनु, बारम्बार साबुनपानीले हात धुनु वा सेनिटाइजर लगाउनु नै यसबाट बच्ने उपाय हो ।

–डब्लूएचओ वेबसाइट
अँ त, लकडाउनलाई सहर्ष स्विकारेर बीआर चोपडाको महाभारतको अन्तिम भाग (९२) को अन्तिम दृश्यतिर छु । बाणमा सुतेका भीष्मपितामह बोल्दै छन्, ‘म एक पराजित योद्धा पनि हुँ र एक पराजित नागरिक पनि । एक असल नागरिक र एक असल योद्धाले के गर्नु हुँदैन भन्ने कुरा मबाट सिक पुत्र । विदुरले मलाई पटकपटक भने । पटकपटक मेरो सामुन्ने आएर गिडगिडाए– हे पिताश्री हस्तिनापुरको सिंहासनतिर नहेर्नुस्, हस्तिनापुर राज्यतिर हेर्नुहोस् । किनभने यदि हस्तिनापुर नै रहेन भने सिंहासन पनि रहँदैन । तर, आफ्नो प्रतिज्ञामा अल्झिएको म हस्तिनापुरको सिंहासनमा विराजमान राजा धृतराष्ट्रमा आफ्नै पिताजीको प्रतिविम्ब देखिरहेँ । देशभन्दा ठूलो केही हुँदैन पुत्र । न पिता न पुत्र, न कुनै प्रतिज्ञा । मेरो प्रतिज्ञाले मलाई मेरो देशको हितभन्दा धेरै पर लग्यो । देशद्रोहको मार्गतिर लग्यो । बाणको ओछ्यानमा सुतिरहेको म एक देशद्रोही हुँ । हस्तिनापुरको विभाजनको कारण म हुँ । लाक्षागृहको उत्तरदायी म हुँ । द्रौपदीको वस्त्र हरण गर्ने हातहरू मेरै हुन् । मेरो शरीरमा लागेको हरेक घाउले मलाई भनिरहेको छ, यस देशलाई चिन । हे गंगापुत्र देवव्रत, आफ्नो यस माटोलाई चिन । आफ्नो पिताको छविका लागि तिमीले यस देशलाई छल गर्‍यौ । हे पुत्र, मेरो यो सेतो वस्त्रमा कहीँ न कहीँ मेरो अहम्को छाप लागेको छ । जसले पश्चात्तापको कुनै आँसु पुछ्न सक्दिनँ ।’


भीष्म भनिरहेकै छन्, ‘जबजब कोही देवव्रत देशको हित मार्ग रोक्न उभिन्छ, कोही न कोही अर्जुन बाणको ओछ्यानमा सुताउन आइपुग्छ । यही नै राजनीतिको मूल तत्त्व हो । देश राजाका लागि होइन, राजा देशका लागि हुनुपर्छ । र, त्यो नेता देशका लागि कहिल्यै शुभ हुँदैन जसले सामाजिक र आर्थिक उन्नतिको दोष अतीतलाई दिन्छ । अतीतले तिमीलाई निर्बल आर्थिक र सामाजिक ढाँचा दिएको छ भने त्यसलाई सुधार गर तर दोष नदेऊ । त्यसलाई बदल पुत्र । किनभने अतीत त त्यसै पनि वर्तमानको अगाडि उभिन सक्दैन । अतीत स्वस्थ हुन्थ्यो भने र उसमा देशलाई प्रगतिको मार्गतिर लाने शक्ति हुन्थ्यो भने परिवर्तन नै किन चाहिन्थ्यो ?’ प्रकाशित : चैत्र २४, २०७६ १२:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कथा ९९ को

ठीक ४८ वर्षअगाडिको त्यो साता (मार्च २४ देखि २९) सम्म कराँचीले आतिथ्यता गरेका टेस्ट अन्यभन्दा अनौठो प्रसंगका लागि याद गरिन्छ । त्यो टेस्टमा तीन ब्याट्सम्यान ९९ रनमा आउट भएका थिए । यसअघि टेस्ट क्रिकेटमा यस्तो कहिल्यै भएको थिएन ।
एजेन्सी

लन्डन — क्रिकेट ब्याट्सम्यानको खेल हो । ब्याट्सम्यानले शतक बनाए जस्तो महत्व बलरले ५ विकेट लिँदा कमै पाउँछन् । जब कुनै ब्याट्सम्यान शतक बताउन एक रनले चुक्छ, त्यतिखेर भने बलरलाई विशेष सम्झिने गरिन्छ । ९९ रनमा आउट भएका ब्याट्सम्यानलाई भने पछुताउनुको विकल्प छैन । नपछुताएर पनि के गर्ने, आखिर क्रिकेटमा व्यक्तिगत प्रदर्शनको पनि बेग्लै महत्त्व छ । टिमको सफलता आफ्नै स्थानमा छ । खेलाडीलाई सम्झिन यही व्यक्तिगत प्रदर्शनले नै हो । व्यक्तिगत कोसेढुंगामा नपुगे पनि कहिलेकाहीँ ब्याट्सम्यानलाई विशेष याद गरिन्छ, जतिखेर ती ब्याट्सम्यान ९९ रनमा आउट भएका हुन्छन् ।


सन् १९०२
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा कोही खेलाडी ९९ मा आउट भएको वर्ष हो यो । अस्ट्रेलियाका क्लेम हिल ९९ रनमा आउट हुने पहिलो ब्याट्सम्यान हुन् । इंग्ल्यान्डसँग मेलबर्न क्रिकेट मैदानमा उनी शतक बनाउन भन्दा एक रन अगाडि नै आउट भए । अझ अनौठो के छ भने त्यसपछिका दुई टेस्ट इनिङ्समा हिलले क्रमश: ९८ र ९७ रन बनाएका थिए ।

१५१
यति संख्यामा अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीहरू ९९ रनमा गएर अड्किएका छन् । त्यसमा पुरुषतर्फ १ सय ४२ र महिलातर्फ ९ पटक शतक बनाउन एक रनले चुकेको घटना छ । यो संख्यामा २३ पटक ब्याटर ९९ रनमा अविजित हुन पुगेका छन् ।

एकै ब्याट्सम्यान तीन पटकसम्म ९९ रनमा आउट भएका छन् । यो सूचीमा चार ब्याट्सम्यान छन् । भारतीय स्टार सचिन तेन्दुलकर २४ वर्षको आफ्नो सानदार खेलाडी जीवनमा तीन अवसरमा ९९ रनमा आउट भए । सबै एकदिवसीय अन्तर्राष्ट्रियमा थियो । ती सबै एकै वर्ष सन् २००७ मा हो । यो सबै पाँच महिनाको अन्तरमा भएको थियो । जेफ्री बोयकट टेस्ट र एकदिवसीय दुवैमा ९९ रनमा आउट हुने पहिलो खेलाडी हुन् । पाकिस्तानका मिसवाह उल–हक तीन पटक ९९ रन बनाउने एक्लो कप्तान हुन् । वेस्ट इन्डिजका रिची रिचर्डसन पनि तीन पटक ९९ रनमा रोकिएका छन्, त्यसमा एकपल्ट अविजित थिए ।

तीन खेलाडी पाकिस्तान—इंग्ल्यान्डबीच १९७३ को कराँची टेस्टमा ९९ रनमा आउट भएका थिए । पाकिस्तानका मजिद खान र मुस्ताक मोहम्मद तथा इंग्ल्यान्डका डेनिस एमिस शतक बनाउन एक रनले चुकेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा तीन खेलाडी ९९ रनमा आउट भएको यो नै एकमात्र अवसर हो । त्यसबाहेक दुई टेस्टमा एकै खेलका दौरान दुई ब्याट्सम्यान ९९ रनमा आउट भएका छन् । न्युजिल्यान्डले १९९२ मा क्राइसचर्चमा इंग्ल्यान्डविरुद्ध खेल्दा घरेलु टोलीका दीपक पटेल र जोन राइट तथा १९९३ मा लर्ड्स टेस्टमा अस्ट्रेलियाका मार्क वा र इंग्ल्यान्डका माइकल आर्थटन समान ९९ रनमा आउट भएका थिए ।

पाँच खेलाडी आफ्नो पहिलो खेल खेल्ने क्रममा ९९ रनमा आउट भएका छन् । आफ्नो ‘डेब्यु’ मै शतक बनाउन एक रनले चुक्ने पहिलो खेलाडी अस्ट्रेलियाका आर्थुर चिपरफिल्ड हुन् । उनले १९३४ मा यो अनौठो कीर्तिमान बनाएका थिए । यो सूचीमा पछिल्लो नाम लेखाउने अस्ट्रेलियाकी महिला खेलाडी जेस जोनासेन हुन् । उनी २०१५ मा इंग्ल्यान्डसँगको टेस्टमा ९९ रनमा आउट भएकी थिइन् । यस सूचीमा इंग्ल्यान्डका वर्तमान एकदिवसीय कप्तान इयान मोर्गन पनि छन् । तर उनले यो कीर्तिमान आयरल्यान्डबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै बनाएका थिए । पाँच जनाको यो सूचीमा रहेका अर्का खेलाडी हुन् यूएईका स्वप्निल पाटिल । उनले २०१४ मा स्कटल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै अविजित ९९ रन बनाएका थिए ।

१७
सबै अन्तर्राष्ट्रिय क्रिकेटमा गरी १७ यस्ता खेलाडी छन्, जसको उच्च स्कोर ९९ रन छ । यी खेलाडीहरू कि त आउट भएका छन् कि अविजित नै । त्यसमा पुरुष १४ र महिला ३ छन् । त्यसमा अस्ट्रेलियाका महान स्पिनर शेन वार्न पनि छन् । उनले टेस्ट क्रिकेटमा कुल ३ हजार १ सय ५४ रन बनाए । शतक नबनाई सबैभन्दा बढी टेस्ट रन बनाउने कीर्तिमान उनकै नाममा छ । इंग्ल्यान्डका एलेक्स टुडोर, जुक राइट, मार्टिन मोसोन, पाकिस्तानका असिम कमाल र मक्सुद अहमद, भारतकी रुसी श्रुति, अस्ट्रेलियाका मिचल स्टार्क शतक बनाउन नसक्ने खेलाडी हुन्, जो ९९ रनमा आउट भएका छन् । यो सूचीमा रहेका तीन महिला खेलाडीमा जोनासेन, वेस्ट इन्डिजकी क्यारोल एन जेम्स र पाकिस्तानकी विस्माह मारुफ छन् ।

एक यस्ता खेलाडी पनि छन्, जसको खेलजीवन ९९ टेस्टमा आएर टुंगियो । भारतका पूर्वकप्तान मोहम्मद अजहरूद्दिनले खेलमिलेमतोको आरोप लागेपछि एक सय टेस्ट खेल्न पाएनन् । टेस्टमा उनको उच्च स्कोर पनि १ सय ९९ रन छ । दोहोरो शतकको ठीकअघि उनी रनआउट हुन पुगेका थिए । पाकिस्तानका शहिद अफ्रिदीले पनि ठ्याक्कै ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेले । उनले २०१८ को मे ३१ मा अन्तिमपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । नेपालका सन्दीप लामिछानेले विश्व–११ बाट खेल्दै त्यही खेलमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यु’ गरेका थिए । हाल खेलिरहेका खेलाडीमा न्युजिल्यान्डका टम लाथम र भारतकी कप्तान हरमनप्रित सिंहले ९९ एकदिवसीय अन्तर्राष्ट्रिय तथा न्युजिल्यान्डकी एमी स्याटर्थवेटले ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

चार यस्ता बलर छन्, जसको खेलजीवन ९९ विकेटमा टुंगिएको छ । त्यसमा आर्थुर मेली, अब्दुर रहमान र बेन हिफेनहाउज टेस्टमा तथा स्कट स्टाइरिसको एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा ९९ विकेटमा टुंगिएको छ । हाल खेलिरहेका खेलाडीमा दक्षिण अफ्रिकाका महिला खेलाडी साब्निम इस्माइलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९९ विकेट लिइसकेकी छन् ।
-क्रिकइन्फो

पारसको त्यो नर्भस ९९


प्रकाशित : चैत्र २४, २०७६ १२:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×