शंकास्पद बिरामी मात्र होइन, उनीहरुको स्वास्थ्य परीक्षण र सुरक्षामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीसमेतलाई मास्क मात्रै उपलब्ध छ । हात धुन साबुन र पानीसमेत पर्याप्त छैन ।
जनकपुर — मिथिला आयुर्वेद कलेजको पर्खालले घेरिएको तीनतले भवनको दोस्रो तल्लामा १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यहाँबाट सिक्सलेन हुँदै ६ किलोमिटर दक्षिणमा जटही नाका पुगिन्छ । १० किलोमिटर उत्तर सिक्सलेन छिचोल्दा नै जनकपुर पुगिन्छ । धनुषाको गंगुलीस्थित उक्त क्षेत्रीय क्वारेन्टाइन दूरीको हिसाबले घना बस्तीभन्दा पर छ ।
प्रदेश २ सरकारले नेपाली सेनाको सहयोगमा तयार पारेको २ सय ५० बेडको उक्त क्वारेन्टाइनमा राखिएका व्यक्ति भारत र कतारबाट फर्किएका हुन् । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित र सम्भावित लक्षण देखिएका बिरामीलाई राखिने यस क्वारेन्टाइनमा सुरक्षा र स्वास्थ्यकर्मी भने मास्ककै भरमा खटिएका छन् । कतिसम्म भने, क्वारेन्टाइनमा राखिएकाहरुले पनि मास्क मात्र लगाएका छन् । यहाँ अन्य कुनै स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराइएको छैन । हात धुने साबुन र पानीको पनि पर्याप्त व्यवस्था छैन । स्वास्थ्यकर्मीलाई टेन्टमा राखिएको छ ।
‘स्वास्थ्य सुरक्षाको कुनै बन्दोबस्त नै छ । आफू बाँचे न अरूलाई बचाउने हो,’ क्वारेन्टाइनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘हाम्रो पोसाक हेरेर कोरोना भाग्ने होइन होला । जोखिम क्षेत्रमा खटाउँदा त आवश्यक समाग्री पनि दिनुपर्छ नि ।’ क्षेत्रीय क्वारेन्टाइनमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित ११ जना स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीले भने २/२ जना मिलेर पालो गरेर सेवा दिइरहेका छन् । क्वारेन्टाइनमा बिरामीको उपचार तथा सुरक्षार्थ खटिएका यी सबैसँग मास्कबाहेक अरू स्वास्थ्यका साधन छैनन् ।
क्वारेन्टाइनको व्यवस्थापन हेर्न शुक्रबार बिहान पुगेका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गोपाल रेग्मीले पानी, साबुन र स्यानिटाइजरको बन्दोबस्त मिलाइदिने आश्वासन दिएका छन् । कार्यकारी अधिकृत रेग्मीसित त्यहाँ खटिएका सुरक्षा अधिकारीहरुले क्वारेन्टाइन स्थललाई स्यानिटाइज्ड गरिदिन आग्रह गरेका थिए । ‘टुटी भएको बाल्टिन, साबुन र स्यानिटाइजरको क्वारेन्टाइन स्थलमा अभाव देखियो,’ रेग्मीले कान्तिपुरसँग भने, ‘मास्क पनि पर्याप्त थिएन । यी सबै समानको व्यवस्थापनका लागि उपमहानगरले पहल गरिरहेको छ । चाँडै उपलब्ध गराउँछौं ।’
कोरोना भाइरस संक्रमणको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि एकै परिवारका नौ जना बिहीबार घर फर्किए । तर, उनीहरुको घर फिर्ती सहज बनेन । गंगुलीस्थित क्वारेन्टाइनसम्म एम्बुलेन्स ल्याइएका महोत्तरीको औरही नगरपालिकाका त्यो परिवारलाई घर पुर्याइदिन कुनै सवारी साधन तयार भएनन् ।
कतारबाट फर्किएका उक्त घरका एक सदस्यमा उच्च ज्वरो देखिएपछि पाँच दिनअघि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो । उच्च ज्वरो आएकाको जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहे पनि अन्य नौ जनाको रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्न भनेर फर्काइएको थियो । तर, घरसम्म पुर्याउन एम्बुलेन्स र अन्य गाडीले नमानेपछि उनीहरु पैदलै जानुपरेको हो ।
क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार एम्बुलेन्सलाई खबर गर्दा पनि चालकले आउन मानेनन् । ‘क्वारेन्टाइनबाट डिस्चार्ज हुनेलाई घर पुर्याउन गाडीले मान्दैन,’ ती अधिकारीले भने, ‘क्वारेन्टाइनमै गाडीको व्यवस्था भए सजिलो हुन्थ्यो । तरकारीलगायत अन्य समान खरिद गर्नुपर्दा पनि पैदलै जानुपर्ने बाध्यता छ ।’ धनुषाको गंगुलीमा रहेको क्षेत्रीय क्वारेन्टाइनको व्यवस्थापन सेनाले हेरिरहेको छ । सेनाले पनि गाडी नहुँदा तरकारीलगायतका आवश्यक किनमेल पैदलै हिँडेर गर्नुपरेको जनाएको छ ।
क्वारेन्टाइनमा बसेकालाई बिहान–बेलुका खाना, बिहान–दिउँसो खाजा र दिनमा तीन पटक पिउने पानी तताएर दिइने गरिएको नेपाली सेनाका क्याप्टेन सुविद बस्नेतले जानकारी दिए । उनका अनुसार बिहानको खाजामा चना र चिया तथा दिउँसोको खाजामा चाउचाउ, बिस्कुट र चिया खुवाइन्छ । खानामा दाल, भात र तरकारी दिने गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पस्किने तरिका पनि गज्जबको छ । मास्क लगाएका नेपाली सेनाका चार जनाले बाल्टिनमा दाल र तरकारी तथा टप (नाद) मा भात बोकेर दोस्रो तल्ला उक्लिन्छन् । जहाँ करिब एक मिटरको दूरीमा थाल (प्लेट) बोकेर क्वारेन्टाइनमा बसेकाहरु उभिएका हुन्छन् । टेबुलमा परैबाट थाल राखेपछि पालैपालो सेनाका जवानले खानाको परिकार त्यसमा राखिदिन्छन् । खाना पस्किएको थाल बोकेर उनीहरु आफ्नै कोठामा गएर खान्छन् । मास्कबाहेक स्वास्थ्य सुरक्षा सामग्री नहुँदा नेपाली सेनाले जोखिम मोलेर उनीहरुको हेरचाह गरिरहेको जनाएको छ ।
