कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीमा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

दीपक परियार

(पोखरा) — स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

कास्कीमा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताए ।

‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला पठाएको बताएका थिए । ‘हाम्रोमा नयाँ मेसिन छ, जनशक्ति दक्ष भइसकेका छैनन्,’ उनले भने, ‘केही शंकास्पद स्वाब पठाइएको मात्रै हो । कोरोना पुष्टि भइसकेको होइन । पोजिटिभ देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।’

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले प्रयोगशालाले पहिलो जानकारी केन्द्रलाई गराउनुपर्ने भएपनि त्यस्तो रिपोर्ट हालसम्म नआएको पुष्टि गरे ।

प्रकाशित : चैत्र २१, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?