ओम्‍नीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता स्वास्थ्य सेवा विभागद्वारा रद्द

चैत्र १९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्‍नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ ।

बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको बताए ।

'हामीले प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेका थियौं । तर १० प्रतिशत मात्रै सामान आयो । बाँकी सामान आउने कुनै छाँटकाँट छैन,' उनले भने, 'त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं । उसले राखेको ५ करोडको धरौटी जफत गर्ने र कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएका छौं ।'

उनले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुन: प्रक्रिया अगाडि बढाइने बताए ।

सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको थियो । सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याएको थियो ।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको थिए ।

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख थियो।

कान्तिपुर

Link copied successfully