१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दिल्लीको निजामुद्दिन धार्मिक भेलामा सहभागी नेपालीको खोजी सुरु

३३ जना दिल्लीमै होम क्‍‍वारेन्टाइनमा
मातृका दाहाल

काठमाडौँ — भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा हालै सम्पन्न धार्मिक भेलामा सहभागी नेपालीहरुका बारेमा नेपाल प्रहरीले खोजी सुरु गरेको छ । 

दिल्लीको निजामुद्दिन धार्मिक भेलामा सहभागी नेपालीको खोजी सुरु

भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ ।

भेलामा सहभागी विभिन्न देशका २४ भन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसले भारतमा मात्रै होइन, नेपालसहित विभिन्न देशमा पनि त्रास सिर्जना गरेको छ ।

धार्मिक भेलामा गएका ३३ जना नेपाली यतिबेला अलिपुर नरेला ट्रस्टले सञ्चालन गरेको अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका छन् ।

धार्मिक भेलामा अरु नेपाली पनि गएको हुनसक्ने आशंका गर्दै खोजबिन जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही विद्यार्थी पहिलेदेखि नै त्यहाँको मदरसामा रहेको र अरु नेपालबाट भेलामा सहभागी हुन गएको बताइएको छ । धार्मिक भेलामा सहभागी केही नेपाल फर्किएको नफर्किएकोबारे सुरक्षा निकायहरुबीच समन्वय गरी छानबिन गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । परराष्ट्रको आग्रहअनुसार नै सुरक्षा निकायले खोजबिन सुरु गरेको छ । ‘उनीहरु भारतमै भएको वा नभएको पत्ता लगाउनका लागि जुन संस्थामार्फत उनीहरु दिल्ली गएका हुन्, ती संस्थासँग विवरण लिन भनिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘पत्ता लगाउन खासै गाह्रो छैन ।’


‘धार्मिक भेलामा सहभागी कम्तीमा २४ जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ नेपाल गएका मानिसको खोजीकार्य अघि बढाएका थियौं,’ प्रहरीका एक अधिकारीले भने, ‘त्यही क्रममा बारा, पर्सा, रौतहट, सप्तरीलगायत जिल्लाबाट १३, अन्य जिल्लाबाट ८ जना र मस्जिदमै अध्ययनरत १२ विद्यार्थी गरी ३३ जना सो धार्मिक भेलामा सहभागी भएको पाइयो ।’ ती प्रहरी उच्च अधिकारीका अनुसार अरु पनि गएका हुनसक्ने भएकाले उनीहरु कहाँ छन् भन्नेबारे अनुसन्धान र खोजीकार्य भइरहेको छ । गएको मार्च ५ देखि १३ सम्म इस्लाम धर्मावलम्बीमध्येकै सुन्नी सम्प्रदायको सामाजिक संगठन तकलिबी जमातले आयोजना गरेको भेलामा विश्वभरका करिब २ हजारभन्दा बढी सहभागी थिए ।

भारत सरकारले पनि भेलामा सहभागी सबैको स्वास्थ्य जाँच गरिरहेको छ । मंगलबार बेलुकासम्म निजामुद्दिन करिब एक हजार ५ सय जनालाई उद्धार गरिएको छ । उनीहरुमध्ये केहीलाई होम क्वारेन्टाइनमा राखिएको छ भने धेरैलाई जवाहरलाल नेहरु रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

कतिपय सम्पर्कबाहिर भएका कारण सुरक्षाकर्मीलाई उनीहरुको खोजीमा परिचालन गरेको छ । २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले मुस्लिम सम्मेलनमा सहभागी वा अन्य कसैलाई पनि सरकारको अर्को आदेश नदिएसम्म प्रवेश निषेध गरिएको बताए । ‘दुवै देशका सुरक्षा र स्थानीय प्रशासनका अधिकारीबीच समन्वय गरेर दुवै देशका नागरिकलाई सीमा हुँदै आवतजावत गर्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने ।

सम्बन्धित समाचार

निजामुद्दिन भेलाका सहभागीमा कोरोना संक्रमण : २० भन्दा बढी नेपालीको रिपोर्ट आउन बाँकी

प्रकाशित : चैत्र १९, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?