बलजफत गरेर प्रवेश गर्न खोजेसँगै एसएसबीद्वारा हवाइ फायर
(वीरगन्ज) — भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि करिब ३ सय भारतीय नागरिक वीरगन्ज–रक्सौल नाकाकामा अलपत्र परेका छन् । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि काठमाडौं, नारायणघाट, पोखरा, गोर्खा, भक्तपुर लगायत विभिन्न शहरमा कामकाज र व्यापार गर्दै आएका उनीहरु वीरगन्जको रक्सौल नाका हुँदै आफ्नो देश प्रवेश गर्न चाहेका थिए ।
रक्सौल प्रेवश गर्न खोज्दा रक्सौल कस्टममा ढाँट लगाएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निषेध गरेको हो ।
आइतबार राति नै उनीहरु नाकामा रहेको मितेरी पुल पुगेका थिए । भारतीय नागरिक भएको पहिचान पत्र देखाउँदा एसएसबीका जवानले रातिदेखि नै नाकामै राकेको उनीहरुले गुनासो गरेका छन् ।
सोमबार अपरान्हसम्म प्रवेश नपाएपछि उनीहरुले नाराबाजी गर्दै मुख्य नाकाको पूर्वपट्टि हुँदै जबरजस्ती भारत प्रवेश गर्न खोज्दा एसएसबीका जवानले दुई राउण्ड हवाई फायर गरेका थिए । पोखरामा काम गर्दै आएका भारत मोतीहारीका शिवनाथ राउतले रातिदेखि नै भोकै बसेको गुनासो गरे ।
भारतीय सुरक्षाकर्मीले माथिबाट आदेश नआएकाले प्रवेश गर्न नदिइएको जनाएका छन् । ‘गए राति १० बजेदेखिनै हामी यहाँ आएका छौँ,’ भारत बेतियाका राजेश कुमारले भने, ‘आफ्नै देश पनि प्रवेश गर्न पाएका छैनौँ ।’ नेपालको प्रशासनले १८ गतेसम्मका लाग पास उपलब्ध गराएको उनले खुलाए । उनका अनुसार त्यही पास लिएर भारतीयहरु वीरगन्जसम्म आएका हुन् ।
भारतीय अधिकारीले भारततर्फ पनि लकडाउन जारी रहेकै बेला नेपालमा रहेका भारतीयलाई भारत पठाउनु नेपाली प्रशासनको गल्ती रहेको आरोप लगाएका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले नेपालमा बस्दै आएका भारतीय नागरिक तत्काल भारत प्रवेश गर्न नमिल्ने जानकारी आएको बताए ।
‘उनीहरुको समस्या बुझ्न हामी नाकामा गएका थियौँ,’ कान्तिपुरसँग वाणिज्यदुतले भने, ‘तत्काल भारत प्रवेश गर्न नमिल्ने खबर आयो ।’ उनका अनुसार करिब ३ सयको संख्यामा रहेका भारतीयलाई यहाँको नगरसभा गृहमा बस्ने र खाना व्यवस्था मिलाइएको छ । दूतावासले वीरगन्जमा खाना र बस्ने व्यवस्था मिलाएपनि भारतीय नागरिक आफ्नै देश फर्किने अडानमा बसेका छन् ।
‘उनीहरु यहाँ बस्न मानेका छैनन्,’ वाणिज्यदुत सरेश कुमारले भने, ‘हालका लागि मितेरी पुलमै उनीहरुका लागि खाना पठाउँदै छौँ ।’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेपालमा बस्दै आएका भारतीय नागरिक सम्बन्धित जिल्लाको पास लिएर वीरगन्जसम्म आएको पाइएको बताउँछन् ।
‘भारत सरकारले उनीहरुलाई प्रवेश गर्न दिएको भए खासै समस्या हुँदैन्थ्यो होला,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बन्धित निकायमा समन्वय हुँदै छ ।’
