‘सेप्सिस’का कारण ज्वरो आएका बिरामीको पनि वीरगन्जको नेशनलले उपचार गर्न मानेन

काठमाडौं ल्याउँदा बाटैमा मृत्यु
भूषण यादव

(वीरगन्ज) — कलैया उपमहानगरपालिका २२ निवासी २५ वर्षीय विजय कुशवाहा शुक्रवार मध्यान्ह थ्रेसरमा मसुरो दाइँ गर्ने क्रममा दुर्घटनामा परे । उनको दुबै खुट्टा र देब्रे हातमा घाउ लाग्यो । गाउँकै एक मेडिकल स्टोरमा उपचारका लागि गएका विजयको खुट्टाको घाउमा ३५ वटा काँटा लगाइयो ।

‘सेप्सिस’का कारण ज्वरो आएका बिरामीको पनि वीरगन्जको नेशनलले उपचार गर्न मानेन

राति वान्ता भएपछि परिवारजनले उनलाई वीरगन्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याए । चिकित्सकले उनको घाउको उपचार थाले । आइतबार बिहान विजयमा सुक्खा खोकी र ज्वरो देखियो । त्यसपछि चिकित्सकले कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भन्दै विजयको उपचार गर्न मानेन् । उनलाई रेफर गरे ।

काठमाडौं आउने क्रममा बाटोमै विजयको मृत्यु भइसकेको चिकित्सकले सोमबार जनाएका छन् । विजयका बुवा मनोज कुशवाहाले त्रिवि शिक्षण अस्पतालले छोराको अस्पताल नपुग्दै मृत्यु भइसकेको जनाएको बताए ।

यहाँको नेशनल मेडिकल केलेजले उपचार गर्न नमानेपछि विजयलाई उनका आफन्तले नारायणी अस्पताल पुर्‍याएका थिए । नारायणीका चिकित्सकले गाउँको मेडिकलले सावधानी नअप्नाई टाँका लगाएकाले विजयको घाउ र छातीमा संक्रमण देखिएको बताएका थिए । वीरगन्जकै अन्य निजी अस्पतालले उपचार गर्न नमानेपछि आइतबार साँझ विजयका परिवारजनले काठमाडौं लगेका थिए ।


ठूलो लगानीमा सञ्चालनमा आएका अस्पतालले संकटको बेला पनि सुरक्षा सामाग्रीको व्यवस्थापन गरेका छैनन् । नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको आइसोलेसन वार्ड समेत बनाएको छ । तर, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को अभावमा ज्वरोको बिरामीको समेत उपचार नगरी फर्काउने गरेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले डर र त्रासका कारण सामान्य ज्वरो र खोकीका बिरामी पनि निजी अस्पतालले सरकारीमा पठाउने गरेको खुलाए । ‘हरेक ज्वरो र खोकीका बिरामीमा कोरोना संक्रमणको आशंका गर्न मिल्दैन्,’ नारायणीका एक चिकित्सकले भने, ‘मेडिकल इथिक्सको समेत वेवास्ता गरी बिरामी फर्काइरहेकाछन् ।’

मृतकका बुवा महेशका अनुसार शुक्रबार दुर्घटनामा परेका विजय गत वर्षको जेठदेखि गाउँ बाहिर गएका थिएनन् ।

मेडिकल कलेजले उपचार गर्न नमानेपछि नारायणी आएका विजयको तापक्रम चेक गर्दा उनको ज्वरो एकसय भन्दा पनि कम थियो । ‘गाउँमा टाँका लगाएकोले उनमा कडा संक्रमण (सेप्सिस) देखिएको थियो,’ मेसु उपाध्यायले भने, ‘घाउ सफा नगरी टाका लगाएको हुनसक्छ । बिरामीको अवस्था बारे परिवारलाई जानकारी गराएका थियौं ।’

सुविधासम्पन्न निजी अस्पतालमै उपचार गराउने भनि उनका आफन्तले यहाँका अन्य अस्पतालमा लग्दा पनि उनीहरुले भर्ना गर्ने मानेन् । आफैं व्यवस्थापनतर्फ नलागी निजी अस्पतालले संकटको बेला पीपीईका लागि सरकारको मुख हेरेर बसेको मेसु डा. उपाध्यायले गुनासो गरे । ‘सरकारले पीपीईका लागि छुट्टै बजेट नपठाएपनि अस्पताल आफैंले पीपीई व्यवस्थापन गरेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र १७, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?